नेभिगेशन

वुहानबाट उद्धार गरिएका नेपालीलाई उच्च निगरानीका साथ राखिदै, खरीपाटीमा छायो सन्नटा, चिकित्सक भन्छन् –‘स्थानियले डराउनुपर्ने अवस्था छैन्’

जनस्वास्थ्य सरोकार, काठमाडौँ । यतिबेला चीनको वुहान सहरबाट उद्धार गरिएका १ सय ७५ जना नेपालीलाई भक्तपुरको खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइनमा उच्च निगरानीका साथ राखिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा १४ देखि १६ दिनसम्म राखिने भएको छ । आइतबार बिहान नेपाल ल्याइएका उनीहरुलाई खाजा खुवाइसकेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले खकार र रगतको नमुना संकलन गरेको थियो । सो परिक्षणको नतिजा आगामी बुधबारसम्म आउने जनाइएको छ । दुई साता पछि दोहोर्याएर खकार र रगत परिक्षण गरिसकेपछिमात्र उनीहरुमा कोरोनाभाइरस नभएको पुष्टि गरिने स्वास्थ्य मन्त्रालयका प्रबक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । क्वारेन्टाइनमा स्वास्थ्य मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका स्वास्थ्यकर्मीको छुट्टाछुट्टै टिम खटाइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठ भन्छन्–‘क्वारेन्टाइनमा चौबीसै घण्टा एक चिकित्सक, दुई पारामेडिक्स र एक नर्सको टोली रहन्छ । उनीहरुको हरेक दिन शरीरको तापक्रम परीक्षण गरिन्छ ।’ क्वारेन्टाइनमा रहँदा कुनै संक्रमण देखिएमा तुरुन्त आइसोलेसन वार्डमा राखेर उपचार गर्नका लागि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी बलको अस्पतालमा बेडहरु तयारी अवस्थामा राखिएको प्रवक्त श्रेष्ठको भनाई छ । यस्तो छ खरीपाटी क्वारेन्टाइनमा व्यवस्थापन स्रातका अनुसार, एउटा कोठामा तीनजनासम्म राख्ने व्यवस्था गरिएको भएपनि खाटहरू बीचको दुरी कम्तीमा एक मिटरको राखिएको छ । त्यस्तै १८ वटा सीसीटिभी क्यामेरा, आठवटा टेलिभिजन, सबै ब्लकमा स्पीकर र तीनवटा वासिङ मेशिनको व्यवस्था गरिएको छ । सबै बेडमा दैनिक अत्यावश्यक कपडा र अन्य सरसफाइका सामग्रीहरू राखिएको छ । मनोरञ्जनका लागि ब्याडमिन्टन कोर्टदेखि क्यारेमबोर्डसम्मको व्यवस्था गरिएको छ । हिँडडुल गर्न प्रोत्साहन गरिएको भए पनि त्यसको समेत निश्चित क्षेत्र र मापदण्ड बनाइएको छ । परिवारसहित बाहिरका मानिसहरूसँग भेट्न दिइएको छैन । क्वारेन्टाइन क्षेत्रमा इन्टरनेटको व्यवस्था गरिएको छ । मोबाइल फोन निषेध गरिएको छैन तर भित्रका गतिविधिहरूको तस्बिर र भिडिओ बाहिर प्रसारण नगर्न भनिएको छ । स्थानियले छाडे घर, चिकित्सक भन्छन् –‘स्थानियले डराउनुपर्ने अवस्था छैन्’ भक्तपुरको खरीपाटीस्थित बाँसघारी टोल भने यतिबेला सुनसान छ । उक्त टोलका अधिकांश घरमा ताल्चा लगाइएका छन् । केहिदिन अघिसम्म प्राधिकरण अगाडीको चिया पसलमा मानिसको बाक्ला भिड हुने गर्दथ्यो । तर अहिले टोलमा सन्नटा छाएको छ । चीनबाट ल्याउने नेपालीलाई खरीपाटी क्वारेन्टाइनमा राखिने भएपछि संक्रमण फैलने डरले टोलबासीले बिरोध र प्रदर्शन गरे । अन्तत क्वारेन्टाइन तयार भयो । अहिले उनीहरु बिकल्प खोज्दै घरमा ताला लगाएर अयन्त्र बसाई सरेका छन् । यसैक्रममा बाटोमा माक्स लगाएर हिडिरहेको एक जना महिला भेटियो । ‘छिमेकीहरु सबै हिजो राती नै हिडेँ । मलाई पनि असाध्यै डर लागिरहेको छ ।’ उनले भनिन् –‘सबैजना आफन्तकहाँ गए । आफ्नो त जाने ठाउँ पनि कतै छैन । के गर्नु ! टोल खाली भएको देख्दा बिरक्त लागिसक्यो ।’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाका अनुसार एउटै कोठाभित्र एकभन्दा बढीलाई राखिए पनि उनीहरुको दुरी, माक्सको प्रयोग एवं सँगै हिंडडुल नगर्ने केही नियम बनाइएका छन् । सुक्ष्म निगरानीबीच उच्च मापदण्ड र्पुयाएरै राखिएको हुँदा हावाको वेगसँगै रोग फैलनेजस्ता डर स्थानीयबासीले लिनु नपर्ने डा. बास्तोला बताउँछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट