चीनका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष सार्वजनिक गरेका छन् जसमा ७०,००० भन्दा बढी कोभिड-१९ सङ्क्रमणका विवरणहरू समेटिएका छन्। चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी सङ्क्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको हो। उक्त अनुसन्धानले स्वास्थ्यकर्मीहरू पनि उच्च जोखिममा रहेको सङ्केत गर्छ। मङ्गलवार वुहानमा उपचारका क्रममा एकजना अस्पताल निर्देशकको मृत्यु भएको थियो। एक्काउन्न वर्षीय लियो झामिङ उक्त सङ्क्रमणको केन्द्रमा रहेको एउटा प्रमुख अस्पतालका निर्देशक थिए। कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउने उनी हालसम्मका सबैभन्दा वरिष्ठ स्वास्थ्य अधिकारी हुन्।

कोरोनाभाइरसको सङ्क्रमणमा मृत्युदर
| उमेर | मृत्युदर |
|---|---|
| ०-९ वर्ष | ०% |
| १०-३९ वर्ष | ०.२०% |
| ४०-४९ वर्ष | ०.४०% |
| ५०-५९ वर्ष | १.३०% |
| ६०-६९ वर्ष | ३.६०% |
| ७० वर्षमाथि | ८% |
स्रोत: सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन
अध्ययनले के भन्छ?
सोमवार प्रकाशित तथ्याङ्क चीनको इपिडिमियोलोजीसम्बन्धी जर्नलमा प्रकाशित भएको हो। त्यसमा चीनभर फेब्रुअरी ११ सम्म पुष्टि भएका, शङ्का गरिएका र कुनै संङ्केत नदेखिएका तर कोभिड-१९ पहिचान गरिएका सबै ७२,३१४ घटनाको विवरण उल्लेख गरिएको छ। उक्त अध्ययनले भाइरस र सङ्क्रमणको फैलावटबारे विगतकै व्याख्यालाई पुष्टि गरेको छ। अध्ययनमा ४४,६७२ वटा सङ्क्रमणका घटनाको विस्तृत विवरण समावेश छ। उक्त अध्ययनका केही निष्कर्ष निम्न बमोजिम छन्:- झन्डै ८०.९ प्रतिशत सङ्क्रमणलाई मध्यम भनेर वर्गीकरण गरिएको छ, १३.८ प्रतिशतलाई कडा र ४.७ प्रतिशतलाई संवेदनशील भनिएको छ।
- ८० वर्ष र त्यसभन्दा बढी उमेर भएका मानिसमा १४.८ प्रतिशतको उच्च मृत्युदर देखिएको छ।
- ९ वर्षसम्मका बालबालिकाहरूको मृत्यु भएको छैन र ३९ वर्षको उमेरसम्ममा मृत्युदर ०.२ प्रतिशत रहेको छ।
- त्यसमाथिका उमेर समूहमा भने मृत्युदर क्रमश: बढ्दै गएको देखिएको छ। ४० देखि ४९ वर्षसम्मका मानिसमा मृत्युदर शून्य ०.४ प्रतिशत, ५० देखि ५९ सम्मका मानिसमा १.३ प्रतिशत, ६० देखि ६९ सम्मका व्यक्तिमा ३.६ प्रतिशत र ७० भन्दा माथिको उमेरमा आठ प्रतिशत जोखिम रहेको पाइएको छ।
- लैङ्गिक अनुपातमा पुरुष (२.८ प्रतिशत) भन्दा महिला (१.७ प्रतिशत) कम जोखिम रहेको पाइएको छ।
- बिरामीमा भइरहेका स्वास्थ्य प्रतिकूलताका सम्बन्धमा उक्त अध्ययनले मुटुसम्बन्धी बिरामी बढी जोखिममा रहेको देखाएको छ। त्यसपछि मधुमेह, श्वासप्रश्वासको दीर्घरोग भएका र उच्च रक्तचापका बिरामी बढी जोखिममा रहेको पाइएको छ।

यसले भविष्यका बारेमा के भन्छ?
उक्त अध्ययनले कोभिड-१९ को प्रकोप २३ देखि २६ जनवरीसम्म बढेको र त्यसपछि ११ फेब्रुअरीसम्म घटेको उल्लेख गरेको छ। उक्त अध्ययनले प्रकोप घट्नुका पछाडि कैयौँ सहरहरूलाई एकअर्कासँग सम्पर्कविच्छेद गरिनु, हात धुने, मास्क लगाउने र उपचार खोज्ने विषयमा एकभन्दा बढी माध्यमहरूबाट सूचना सम्प्रेषण गरिनु र कैयौँ निकाय सम्मिलिन द्रुत प्रतिकार्य टोलीलाई महामारी नियन्त्रणका लागि परिचालन गरिनुलाई उल्लेख गरेको छ। तर अध्ययनकर्ताहरूले लामो बिदापछि मानिसहरू घर फर्किन थालेपछि चीनले थप तयारी गर्नुपर्ने बताएका छन्। चीनले उक्त सङ्क्रमणलाई नियन्त्रणमा लिन हुबेलाई अन्य ठाउँबाट सम्पर्कविच्छेद गराइएको र देशभर आवतजावतमा कडा प्रतिबन्धहरू लागु गरेको थियो।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
