कोरोनाभाइरसबाट सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या बढेपछि इटली र दक्षिण कोरियाका अधिकारीहरूले उक्त प्रकोपलाई नियन्त्रण गर्ने उद्देश्यले विभिन्न उपायहरू अवलम्बन गरेका छन्। दक्षिण कोरियामा अहिलेसम्म ७६३ जनामा सङ्क्रमण भएको र तीमध्ये सात जनाको मृत्यु भएको पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको सङ्ख्या फेरि ह्वात्तै बढेको अधिकारीहरूले बताएका छन्। यो वृद्धिसँगै दक्षिण कोरियामा सङ्क्रमित व्यक्तिको सङ्ख्या चीनबाहिर सर्वाधिक भएको छ। सङ्क्रमण बढेकोबढ्यै गर्न थालेपछि त्यहाँ "उच्चतम तह" को सतर्कता घोषणा गरेर सरकारी अधिकारीहरू कोरोनाभाइरस प्रकोप नियन्त्रण गर्न लागिपरेका छन्।

उत्तर कोरियामा के हुँदैछ?
छिमेकी उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियामा ३८० जना विदेशीलाई क्वारन्टीनमा राखिएको छ। तर त्यहाँ अहिलेसम्म कसैलाई सङ्क्रमण भएको पुष्टि भएको छैन। कोरियन सेन्ट्रल ब्रोड्कास्टिङ स्टेशनलाई उद्धृत गर्दै योन्हाप समाचारसंस्थाले क्वारन्टीनमा राखिएका अधिकांश प्योङ्याङमा कार्यरत विदेशी कूटनीतिक नियोगमा कार्यरत व्यक्ति हुन्। झन्डै २०० विदेशी नागरिकहरू विगत ३० दिनदेखि आफ्नो निवासस्थानमा सीमित थिए। त्यो अवधि सकिएपछि क्वारन्टीन सुरु गरिएको छ। नयाँ क्वारन्टीनको अवधि भने स्पष्ट छैन। कोरियन सेन्ट्रल ब्रोड्कास्टिङ स्टेशनका अनुसार विदेशबाट फर्किएका मानिस र असामान्य लक्षण देखिएका मानिसलाई अलग्ग राख्न थालिएको छ। दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले देश अहिले "गम्भीर मोड" मा भएको बताउँदै प्रकोप नियन्त्रणको लडाइँका लागि अबका केही दिन निकै महत्त्वपूर्ण हुने बताएका छन्। उनले सोमवार सरुवा रोगविज्ञहरूसँग भेटेर रोग फैलिन नदिने उपायबारे छलफल गर्न लागेको बताइएको छ।इटलीमा के गरिँदैछ?
इटलीका अधिकारीहरूले भेनिसमा भइरहेको एउटा मेलालाई छोट्याइदिएका छन्।भेनिस कार्निभल अब निर्धारित मितिभन्दा दुई दिनअघि नै सकिने अधिकारीहरूले बताए। युरोपमा सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भएका मानिस इटलीमा फेला परेका छन्। अहिलेसम्म त्यहाँ १५२ जनामा कोरोनाभाइरस भएको पुष्टि भएको छ। उक्त प्रकोपका कारण त्यहाँ तीन जनाले ज्यान गुमाएका छन्। मिलान र भेनिसमा कडा क्वारन्टीनको व्यवस्था गरिएको छ। झन्डै ५०,००० सर्वसाधारण रहेको उत्तरी क्षेत्रका लोम्बर्डी र भेनटोजस्ता सहरबाट विशेष अनुमतिबिना बाहिर जान वा त्यहाँ पस्न नपाउने व्यवस्था गरिएको बताइएको छ। ती क्षेत्रभन्दा बाहिर पनि व्यापार र विद्यालयहरू बन्द गरिएका छन् भने अन्य गतिविधिमा पनि रोक लगाइएको छ। प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ। इटलीका अधिकारीहरूले यस्ता उपायबिना कोरोनाभाइरस नियन्त्रण गर्न नसकिने बताएका छन्। "यो भाइरस सर्ने सम्भावना निकै धेरै छ," लोम्बर्डीका स्वास्थ्यप्रमुखले बताए। यसैबीच इटलीबाट हिँडेको रेलमा सवार दुई यात्रुमा कोरोनाभाइरस सङ्क्रमणको प्रारम्भिक सङ्केत देखिएपछि त्यो रेललाई अस्ट्रियाको सीमामा रोकिएको छ। चीन र अन्यत्रको स्थिति के छ? चीनको हुबे प्रान्तमा गत वर्ष सुरु भएको कोरोनाभाइरस २९ देशमा फैलिसकेको छ र चीनबाहिर १,४०० भन्दा बढी सङ्क्रमित भएका र १२ जनाको मृत्यु भएको बताइएको छ। अहिले दक्षिण कोरिया, इटली र इरानमा उक्त भाइरसको प्रकोप फैलिरहेको छ। इटलीमा १५२ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। इरानमा ४३ जना सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भएको छ। यदि ती देशमा रोग नियन्त्रण गर्न सकिएन भने कोभिड-१९ अर्थात् कोरोनाभाइरस सङक्रमण "विश्वव्यापी महामारी" घोषणा हुन सक्नेछ। विश्व स्वास्थ्य सङ्गठनले यदि एउटाभन्दा बढी क्षेत्रमा रोग फैलिए त्यसलाई विश्वव्यापी महामारी घोषणा गर्न सक्छ। चीनका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिवार यसको नयाँ सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या घटेको छ। त्यहाँ अहिलेसम्म ७७,००० भन्दा बढी मानिसमा सङ्क्रमण र २,५०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। यसअघि चीनसँग स्पष्ट सम्बन्ध नभएका कोरोनाभाइरस सङ्क्रमणका घटनाको सङ्ख्या बढ्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ । कोभिड-१९ का कारण इरानमा थप मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे प्रतिक्रिया दिएका थिए। इरानी अधिकारीहरूका अनुसार इरानका सबै सहरमा उक्त भाइरस फैलिसकेको हुन सक्छ। बीबीसी
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
