नेभिगेशन

क्यान्सरका बिरामीलाई राज्यले दिएको उपचार सहुलियत अब ओम अस्पतालमै लिन सकिने

जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँको चाबहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरले क्यान्सरका बिरामीलाई उपचारमा सहुलियत दिने भएको छ । अस्पतालले क्यान्सर दिवसको अवसरमा पारेर नेपाल सरकारको विपन्न नागरिक उपचार कोष स्थापना गरेका थियो । सोही दिन देखि सेवा दिन सुरु गरेको अस्पतालले जनाएको छ । नेपाल सरकारको विपन्न नागरिक उपचार कोष अन्तर्गत सेवा आरम्भ गर्ने पहिलो निजी अस्पताल बनेको छ । अस्पतालका पूर्व अध्यक्ष डा. धुर्व शर्मा मुडभरी, प्राध्यापक डा. कमल कोइराला र डा. प्रकाश तिवारीले संयुक्त रुपमा सेवा आरम्भको घोषणा गर्नुभएको थियो । अस्पतालका प्राध्यापक डा. कमल कोइरालाले क्यान्सर लाग्न नदिन जनचेतना फैलाउनुपर्नेमा विशेष जोड दिनुभयो । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क हेर्दा विश्वभर फोक्सोको क्यान्सर पहिलो नम्बरमा आउछ । स्तन क्यान्सर दोस्रो र ठूलो आन्द्राको क्यान्सर तेस्रो नम्बरमा पर्दछन । मृत्युको आँकडा हेर्दा फोक्सोको क्यान्सर पहिलो र ठूलो आन्द्राको क्यान्सर दोस्रो नम्बरमा आउछ । सरकारले क्यान्सर सहित आठ प्रकारका कडा खालका रोग लागेका नागरिकलाई उपचारमा सहुलियत प्रदान गर्दै आएको छ । यस्तो सेवा तोकिएको अस्पतालहरूमा मात्र लिन सकिन्छ । विपन्न नागरिकलाई उपचारमा एक लाखसम्मको सहुलियत दिने व्यवस्था छ । अस्पतालले यस्तो सेवा दिए बापत बिरामीको संख्याका आधारमा स्वास्थ्य मन्त्रालयबाट शोधभर्ना लिने गर्दछ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा वर्षेनी ४० हजार क्यान्सरका नयाँ रोगी थपिन्छन् । सरकारले जटिल प्रकृतिका रोग लागेका विपन्न वर्गको उपचारका लागि वार्षिक १ अर्ब रुपैँयाभन्दा बढी खर्च गर्दै आइरहेको छ । त्यसको ठूलो हिस्सा क्यान्सर रोगीको उपचारमा खर्च भइरहेको छ । सरकारले यस आर्थिक वर्षको बजेटमा विपन्न नागरिकलाई आठ प्रकारका जटिल रोगको निःशुल्क उपचारका लागि २ अर्ब २० करोड बजेट छुट्याएको छ । क्यान्सर, उच्च रक्तचाप र मधुमेह जस्ता बढ्दो प्रवृत्तिका रोग प्रतिरोध तथा निदान कार्यक्रम सञ्चालन गर्न पनि बजेट विनियोजन गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट