जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको वायुको गुणस्तरमा पोहोरका तुलनामा यो वर्ष सुधार आएको छ । अघिल्लो वर्ष आँखाले देख्न नसकिने धूलोको कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा सरदर ५४.४ माइक्रोग्राम रहेकामा अहिले ४४.५ माइक्रोग्राममा झरेको छ । यो सरकारले तोकेको मापदण्डभन्दा ४.५ माइक्रोग्रामले बढी हो । सरकारले प्रतिघनमिटर हावामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम तोकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने २५ माइक्रोग्राम (प्रति २४ घण्टा) तोकेको छ । उसले विश्वभर त्यस्तो धूलोका कण १० माइक्रोग्राममा झार्नेर् लक्ष्य राखेको छ । डब्लूएचओका अनुसार कुनै स्थानमा पीएम २.५ को मात्रा ४४.४६ माइक्रोग्राम छ भने त्यो संवेदनशील किसिमका व्यक्ति र समूहका लागि अस्वस्थ मानिन्छ । वातावरण विभागले सन् २०१७ मा गरेको अध्ययनले जाडो महिनामा काठमाडौंमा पीएम २.५ को मात्रा १८० माइक्रोग्रामसम्म पुगेको देखाएको थियो । घरभित्र र बाहिरको वायु प्रदूषणका कारण बर्सेनि विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ । वायु प्रदूषणका कारण स्ट्रोक, मुटुसम्बन्धी रोग, फोक्सोको क्यान्सरजस्ता रोगको सम्भावना हुन्छ । विश्वको जनसंख्याको ९२.५ प्रतिशतभन्दा बढी मानिस हावामा डब्लूएचओले तोकेको मापदण्डभन्दा बढी पीएम २.५ रहेको स्थानमा बस्छन् । आईक्यू एअरको शनिबार प्रकाशित ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन’ मा काठमाडौं उपत्यका १३७ औं स्थानमा छ । स्विट्जरल्यान्डमा मुख्यालय भएको ‘आईक्यू एअर’ सन् १९६३ मा स्थापना भएको अमेरिकी कम्पनी हो । यसले हरेक वर्ष विश्वका प्रदूषित सहरका बारेमा प्रतिवेदन सार्वजनिक गर्छ । यसले सन् २००० देखि वायुको गुणस्तरसम्बन्धी अध्ययन अनुसन्धान गर्न थालेको हो । सन् २०१७ देखि यसले विश्वका सहरको प्रदूषण मनिटरिङ विश्लेषण गर्दै आएको छ । आईक्यू एअरको गत वर्षको प्रतिवेदनअनुसार काठमाडौं प्रदूषित सहरको सूचीको १०० औं नम्बरमा थियो । यो वर्ष ९८ देश र त्यसभित्रका सहरको तथा गत वर्ष ७३ देश र सहरी क्षेत्रको वायुको गुणस्तर विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरिएको थियो । क्षेत्रीय (वर्ल्ड रिजनल सिटिज) राजधानीको वरीयता मानकका हिसाबले पनि काठमाडौंको वायुको गुणस्तर एक स्थान माथि उक्लिएको छ । सन् २०१८ मा सातौं स्थानमा रहेको काठमाडौं सन् २०१९ मा छैटौं स्थानमा उक्लिएको हो ।वातावरणविद् भूषण तुलाधरले सन् २०१९ मा वायु प्रदूषणको मात्रा दुई वर्षअघिजस्तो उकालो नलागेको बताए । ‘प्रदूषणको मात्रा रोकिएको देखिन्छ,’ उनले कान्तिपुरसँग भने, ‘तर यसलाई भयंकर उपलब्धि भन्नचाहिँ मिल्दैन ।’ वायु प्रदूषण मापन केन्द्रले दिने परिणामलाई विश्लेषण गरेर विश्वभरको वायुको गुणस्तर विश्लेषण गर्ने गरिएको छ । संरचनाको काममा नियन्त्रण, पक्की सडक विस्तार, जथाभावी सडक खन्न रोक, औद्योगिक प्रदूषणमा नियमनलगायत कारणले प्रदूषण घटेको वातावरण विभागको दाबी छ । सरकारले प्रदूषण नियन्त्रणका लागि हालै ‘काठमाडौं उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६’ स्वीकृत गरेको छ । कार्ययोजनामा प्रदूषण रोक्न विद्युतीय सवारीसाधनको आयातमा पूर्ण भन्सार छुटका साथै थुप्रै कार्यक्रम प्रस्ताव गरिएको छ । वातावरण विभागका सूचना अधिकारी शंकर पौडेलका अनुसार नेपालमा वायुको गुणस्तर मापन गर्न २१ वटा स्टेसन छन् । काठमाडौंमा ७, पोखरामा ३, लुम्बिनी, सौराहा, दाङ, नेपालगन्ज, सिमरा, सुनसरीको झुम्का, धनकुटा र दमकमा एक–एकवटा स्टेसन छन् । अमेरिकी दूतावासले कान्तिपथ र दूतावास क्षेत्रमा स्टेसन खडा गरी पीएम २.५ को मात्रा मापन गर्दै आएको छ । सन् २०१९ मा विश्वका ३ हजार २ सय ४९ वटा सहरको वायुको गुणस्तर विश्लेषण गरी प्रदूषित सहरहरूको नाम सूचीकृत गरिएको छ । यो सूचीमा भारत, पाकिस्तान र चीनका धेरै सहरको वायुको गुणस्तर खराब देखिन्छन् । यो विश्लेषणअनुसार अमेरिकाको ऐलेन पार्कको वायुको गुणस्तर सबैभन्दा राम्रो पाइएको छ । ९८ वटा प्रदूषित देशको सूचीमध्ये नेपाल आठौं स्थानमा छ । भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, मंगोलिया, इन्डोनेसिया र बहराइनको वायुको गुणस्तर नेपालको भन्दा खराब पाइएको छ । मुख्य सहरहरूको वायुको गुणस्तर वार्षिक तुलना गर्दा पनि काठमाडौं अघिल्ला वर्षभन्दा माथि उक्लिएको छ । सबै महादेशका ९५ वटा सहरको वायुको गुणस्तर तुलना गर्दा काठमाडौं २२ औं स्थानमा छ । अमेरिकाको सेटलको वायुको गुणस्तर स्वच्छ अर्थात् पीएम २.५ को मात्रा १ माइक्रोग्राम देखिएको छ । डब्लूएचओले ०–१२ माइक्रोग्रामसम्मलाई राम्रो मान्ने गरेको छ । पाकिस्तानको कराँची, भारतको मुम्बई, मंगोलियाको उलानबाटर, थाइल्यान्डको छियाङ माई, चीनको बेइजिङ, बंगलादेशको ढाका, म्यानमारको याङ्गुन, भारतको दिल्ली, किर्गिस्तानको बिस्केक र इरानको तेहरान वायु प्रदूषणका हिसाबले टप टेनभित्र परेका छन्
।कान्तिपुरदैनिकबाट
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
