नेभिगेशन

प्रधानमन्त्री ओली र अङ्गदाताबीच अन्तिम क्रसम्याच परीक्षण सुरु, शल्यक्रिया बुधबार बिहान ९ बजेबाट

जनस्वास्थ्य सरोकार, काठमाडौँ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली र अङ्गदाताबीच मङ्गलवार अन्तिम क्रसम्याच परीक्षण गर्न लागिएको छ ।  यसअघि गरिएका सबै परीक्षणको परिणाम सकारात्मक भए पनि अन्तिम समयमा उक्त प्रक्रिया पुनः गरिनुपर्ने प्रा.डा.प्रेमराज ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो –‘कुनै किसिमको समस्या देखिए शल्यक्रिया स्थगित गरिनेछ।’ उहाँको भनाई अनुसार पटकपटक क्रसम्याच भइसकेको अवस्थामा सामान्यतया समस्या उत्पन्न हुने सम्भावना निकै न्यून हुन्छ । अठसट्ठी वर्षीय प्रधानमन्त्री ओलीको २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहाँ सोमवार साँझ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना हुनुभएको छ । कस्तो छ ओलीको अवस्था प्रधानमन्त्री ओली अस्पताल भर्ना भएसँगै चिकित्सकहरूले शल्यक्रियाका लागि आवश्यक तयारी सुरु गरेका छन्। मुटु, श्वासप्रश्वास, दाँत अनि रक्तचाप लगायतका परीक्षण भइरहेको र शरीरका सबै महत्वपूर्ण अङ्ग तथा आवश्यक परीक्षण बुधवार बिहानसम्म गरिने डा. ज्ञवालीले जानकारी दिनुभयो । त्यसबाहेक प्रधानमन्त्री ओलीको मङ्गलवार डायालिसिस पनि गरिँदैछ ।‘ योजनामा कुनै परिवर्तन नआए प्रधानमन्त्री ओलीको शल्यक्रिया बुधबार बिहान ९ बजे सुरु हुनेछ । ‘हामीले सामान्यतया यही समयमा शल्यक्रिया गर्ने गरेका छौँ। भोलि पनि त्यसै गर्ने तयारी छ ।’ प्रा.डा. ज्ञवालीले भन्नुभयो । उहाँका अनुसार सामान्य अवस्थामा पाँच घण्टाजतिमा शल्यक्रिया सकिन्छ ।

टोलीमा को-को छन्?

प्रधानमन्त्री ओलीको उपचारका लागि झन्डै २० जनाको टोली बनाइएको डा. ज्ञवालीले बताउनुभयो । त्यसमा युरोलजी विभागका छ चिकित्सकको भूमिका विशेष रहने बताइएको छ। उपचारका क्रममा कुनै पनि किसिमका व्यवधान नआओस् वा कुनै किसिमको जटिलता उत्पन्न भइहालेको अवस्थाका लागि भनेर दुई भारतीय चिकित्सक नेपाल आउने बताइएको छ। ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी डा. अनन्त कुमार पनि आउन लागेका छन्। त्यसबाहेक अर्का मिर्गौलारोग विशेषज्ञ पनि नेपाल आउने बताइएको छ। बीबीसीबाट साभार
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट