जनस्वास्थ्य सरोकार, रुकुम । रुकुम पूर्वका सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य सस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालू आवमा देशभरका २३६ स्वास्थ्य संस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । सिस्ने गाउँपालिका–५ को रुकुमकोट स्वास्थ्य चौकी र भूमे गाउँपालिका–९ को चुनबाङ स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्न लागिएको प्रदेश ५ का प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जानकारी दिनुभयो । पुथाउत्तरगङ्गा गाउँपालिकाको कोल प्राथमिक स्वास्थ्य केन्द्रलाई गत वर्ष नै स्तरोन्नति गर्ने निर्णय भएको थियो । नजिकै उपचार सेवा पाइने आशा पलाएको चुनबाङ गैरीगाउँकी मनकुमारी पुनले बताउनुभयो । अहिले सर्वसाधारण सामान्य उपचारका लागि रोल्पाको बागमारा पुगेर निजी क्लिनिकमा उपचार गर्न बाध्य छन् । चुनबाङ रोल्पाका धेरै गाउँको केन्द्र मानिन्छ । “यसैले चुनबाङमा अस्पताल बन्नु भनेको रुकुमपूर्व र रोल्पाका सर्वसाधारणका लागि पनि सुविधा मिल्नु हो,” गैरीगाउँका प्रेमबहादुर पुन मगरले भन्नुभयो, “अब ससाना रोगका लागि दाङ, नेपालगञ्ज झर्नुपर्ने बाध्यता हट्छ कि भन्ने आशा पलाएको छ ।” निर्णय कार्यान्वयनका लागि वडा तथा गाउँपालिकाले आवश्यक पहल गर्नुपर्ने उहाँले बताउनुभयो । स्तरोन्नति भएका स्वास्थ्य सस्थाको चालू आवमा पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिनेछ । अस्पतालमा सम्बन्धित गाउँपालिका र सङ्घीय सरकारको संयुक्त लगानी रहने जनाइएको छ । रुकुमकोट स्वास्थ्य चौकी भने अन्यत्रै सारिएको छ । यसअघि स्वास्थ्य चौकीको भवनमा जिल्ला अस्पताल उद्घाटन गरेर सञ्चालन गरिएको छ भने वडा नं. ५ को उक्त स्वास्थ्य चौकीलाई वडा नं. ६ मा लगिएको छ । सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले सङ्घीय सरकारको निर्णय प्राप्त भएपछि यस विषयमा छलफल हुने र अस्पताल निर्माणका लागि गाउँपालिकाबाट आवश्यक पहल गर्ने जानकारी दिनुभयो । “सङ्घीय सरकारले अस्पतालमा स्तरोन्नति गर्ने स्वास्थ्य चौकी सूचीकृत गरेको खबर आएको छ,” अब औपचारिक रूपमा गाउँपालिकामा जानकारी आएपछि गाउँ कार्यपालिकाका तर्फबाट पनि आवश्यक निर्णय तथा सिफारिसको काम हुने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
