जनस्वास्थ्य सरोकार, झापा । पूर्वोत्तर झापाको १५ श्ययाको आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । जापान सरकारले रु ९८ लाख र मेचीनगर नगरपालिकाले रु ५० लाख अनुदान दिएपछि स्थानीय वीरेन्द्र खनाल, नरेन्द्र खनाल र पदमा खनालले प्रदान गर्नुभएको जग्गामा सो अस्पताल निर्माण भएको थियो । आम्दा नेपाल, मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय सम्झौताअनुसार विसं २०६५ मङ्सिर २० गते सञ्चालनमा आएको थियो । सम्झौतामा तीनवटै निकायकोे सहमतिमा अस्पताल सञ्चालन गर्ने भनिएको थियो । तर केही वर्ष नबित्दै समुदाय र सम्झौताका पक्षहरुको बेवास्ताले अस्पताल आफैँ बिरामीजस्तो भएको छ । स्थापनाकालमा मेचीनगर नगरपालिकाको काँकडभिट्टा, धुलावारी, ज्यामिरगढी, दुहागढी, बाहुनडाँगी र धाइजन, बुद्धशान्ति गाउँपालिकाको बुधबारे र शान्तिनगर तथा इलामको रोङ गाउँपालिकाका दुई लाख जनसङ्ख्यालाई भरपर्दो स्वाथ्योपचार सेवा पु¥याउने यो अस्पतालको लक्ष्य थियो ।
साझेदारमध्येको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले स्थानीय सरकारको उपेक्षाले अस्पताल रुग्ण अवस्थामा पुगेको बताउनुहुन्छ । “सहयोगहरु कटौती हुँदै गयो, त्यसैकारण अस्पतालले जनशक्ति व्यवस्थापन र आधुनिक उपकरणसहितको सेवा पु¥याउन नसकेको हो”, उहाँ भन्नुहुन्छ, “भवन, जग्गालगायतको पर्याप्त भौतिक संरचना भएको हुँदा यसलाई फेरि व्यवस्थित गर्ने योजना अघि बढिरहेको छ ।”
स्थानीय सरकारको भूमिकामा रहेको मेचीनगर नगरपालिकाले अस्पताललाई वार्षिक अनुदान दिन कञ्जुस्याइँ गरेको उहाँको आरोप छ । मठमन्दिर, सभाहलका नाममा करोडौँ बजेट दिने नगरपालिकाले नगरको गौरवको रुपमा रहेको यो अस्पताल सञ्चालनका लागि वर्षेनी करोडभन्दा बढी अनुदान दिनुपर्ने अध्यक्ष तिम्सिना बताउनुहुन्छ ।
अस्पतालका प्रशासन सहायक प्रमुख उज्ज्वलतारा थापाले स्वास्थ्य जाँचका आधुनिक उपकरण र प्रयोगशालाका सामग्री नभएका कारण विरामी आउन छाडेको जानकारी निुभयो । केही समयदेखि एक मेडिकल अफिसरसहित तीन स्वास्थ्यकर्मीले अस्पताल धानिरहेको र विगतमा आफैँले सञ्चालन गर्दै आएको फार्मेसी हाल निजी क्षेत्रलाई दिइएको उहाँले जानकारी दिनुभयो । दाताबाट प्राप्त अस्पतालको एम्बुलेन्स पाँच वर्षदेखि बिग्रिएर थन्किएको छ । मर्मत गरेर पनि नचल्ने स्थिति भएको हुँदा कवाडीको मूल्यमा बेच्नुपर्ने अवस्था आएको प्रशासन सहायक प्रमुख थापा बताउनुहुन्छ ।
अस्पतालले आव २०७२÷७३ मा एक हजार १७०, २०७३÷७४ मा एक हजार ८६३, २०७४÷७५ मा ७१८, २०७५÷७६ मा एक हजार ८६५ र चालू आव २०७६÷७७ को माघ मसान्तसम्ममा दुई हजारभन्दा बढीलाई सेवा प्रदान गरेको छ । अस्पतालका सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य आम्दा नेपाल पक्षले स्वामित्व हस्तान्तरण गरेमा नगरपालिका सम्पूर्ण व्ययभार बहन गरेर अस्पताल चलाउन तयार रहेको बताउनुहुन्छ ।
उहाँले रुग्ण अवस्थाको मेची आम्दालाई चलायमान बनाउन स्वास्थ्य बीमा कार्यक्रम लागू गरेर अघि बढ्न सकिने विकल्प रहेको जनाउँदै नगरपालिकाको नाममा स्वामित्व हस्तान्तरण भएमा प्रदेश र सङ्घीय सरकारसँग अनुदान मागेर अस्पताल सञ्चालन गर्ने आफ्नो सोच रहेको जानकारी दिनुभयो । मेचीनगर–१० धुलाबारीमा फराकिलो परिसरमा रहेको सो अस्पतालमा दुईतलाको भव्य भवन रहेको छ । इमर्जेन्सी, ओपिडी, गाइनो, सर्जरीलगायतका विभिन्न छुट्टै वार्डहरु भएका कारण अस्पताललाई पुनःसञ्चालन गराउन भौतिक पूर्वाधार पर्याप्त हुन्छ । हाल पहिलो तलामा सबै वार्डहरु रहेको र माथ्लो तला पूरै खाली रहेको पाइएको छ ।
स्थानीय सरकार र सरोकारवाला पक्षहरुले चरम बेवास्ता गरेर अस्पताल बन्द हुने अवस्थामा पु¥याएको भन्दै दाता परिवारले चिन्ता प्रकट गरेका छन् । दाता परिवारका सदस्य लीला खनालले राम्रो अस्पताल बन्ने र लाखौँ झापावासीले स्तरीय उपचार पाउने विश्वासका साथ दाताले करोडौँ मूल्य पर्ने जग्गा दानमा दिएको स्मरण गराउँदै अहिले बेवारिसे अवस्थामा पु¥याएको देख्दा दुःख लागेको बताउनुभयो । उहाँ प्रदेश र सङ्घीय सरकारको समेत यसमा ध्यान जानुपर्ने बताउनुहुन्छ । (रासस)
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
