जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले एक जना बिरामीको अनुहारमा रहेको पाँच किलो २ सय ग्रामको ट्युमर निकालेको छ । धनुषाका ४२ वर्षिय अलिम कवाडीको १० घण्टाको शल्यक्रियापछि अनुहारमा रहेको ट्युमर निकालिएको अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. प्रभात चन्द्र ठाकुरले जानकारी दिए । मुखबाट ट्युमर निकाल्दा धेरै रगत बगेको भएपनि अहिले बिरामीको अवस्था समान्य रहेको र प्रत्यारोपण गरिएको मासु पनि सामान्य रहेको डा. ठाकुरले बताएका छन् ।
अलिमको अनुहारमा वि. सं. २०७१ सालमै ट्युमर देखिएको थियो । त्यतिवेला उनले वीरअस्पतालमा शल्यक्रिया गराएका थिए । शल्यक्रिया सफल भएको थियो । उनको आर्थिक अवस्था कमजोर भएका कारण नियमित फलोअपका लागि उनी काठमाडौँ आइरहन सकेनन् । जसले गर्दा शल्यक्रिया भएको तिन वर्ष पछि पुनः ट्युमर पलाउन सुरु भयो । ट्युमर दिनानुदिन बढ्न थाल्यो । उनलाई खानेकुरा खान र श्वास फेर्न समेत गाह्रो हुन थाल्यो । ट्युमरले आँखाको भागलाई थिच्यो जसले गर्दा उनको दायाँ आँखाको ज्योती गुम्न पुग्यो ।
ट्युमरले जटिल रुप लिइसकेको थियो । उनका दाजुभाउजुले केही चन्दा संकलन गरेर उपचारका लागि काठमाडौँ ल्याए । उनलाई वीर अस्पतालमा भर्ना गरियो । अस्पतालले अलिमलाई निःशुल्क शैय्या र औषधिको व्यवस्था गरिदियो । तर पैसाको अभावले उनका दाजुभाउजु भने पेटीमै सुत्नुपर्यो । समस्या जटिल भएकाले प्राविधिक समस्याका कारण वीर अस्पतालमा अलिमको शल्यक्रिया सम्भव नहुने भयो । उपचारमा संलग्न चिकित्सक डा. प्रविण जयसवालले नेपाल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. ठाकुरलाई अलिमको केसबारे जानकारी गराए । डा. ठाकुरले सबै रिपोर्टहरु हेरे । सिटी स्क्यानको रिपोर्ट हेर्दा ट्युमर धेरै नै फैलिसकेको अवस्था थियो । ट्युमरले पिनास, तालु, दायाँ आँखा र नाकको हड्डीलाई थिचिसकेको थियो । रगतको नशाहरु धेरै फैलिसकेका थिए । जसले शल्यक्रिया गर्दा धेरै रक्तश्राव हुन सक्ने जोखिम रहन्थ्यो ।
सबै स्वास्थ्य परिक्षण गरियो । वीर अस्पतालको रिर्पोटमा लो ग्रेट अस्टियोसार्कोमा भनिएको थियो । तर एकिन भने थिएन । यो हड्डीबाट पलाउने एक किसिमको ट्युमर हो ।
फाल्गुन २१ बुधबार डा. ठाकुर र डा. जयसवाल, डा. सुरेन्द्र बस्नेत र डा. कृष्ण नगरकोटी लगायतको चिकित्सकीय टीमले अलिमको शल्यक्रिया गरेका थिए । शल्यक्रिया गर्न करिब १० घण्टा समय लाग्यो । ‘पिनास, तालु, आँखा र नाकको हड्डीको आधा भाग काटेर निकाल्नुपर्यो । सबैभन्दा जटिल पक्ष भनेकै घाउ पुर्नु थियो ।’ डा. ठाकुर भन्छन् –‘खाल्टा भर्नका लागि खुट्टाको मासु र छाला प्रत्यारोपण गरियो ।’ शल्यक्रिया गरेको आज ६ दिन बितिसकेको छ । उनी अहिले विस्तारै बोल्न सक्ने भएका छन् । बायाँ आँखाले हेर्न सक्छन् । खाना खान सक्छ । डा. ठाकुर भन्छन् –‘अलिमले पुर्नजन्म पाएका छन् । ’
बायोप्सी रिपोर्ट आइसकेपछि मात्र अस्टियोसार्कोमा भएन/भएको थाहा हुने डा. ठाकरको भनाइ छ । उनका अनुसार अस्टियोसार्कोमा भए किमोथेरापी या रेडियोथेरापी दिनुपर्दछ । रिपोर्ट आउन २ हप्ता समय लाग्छ ।
नेपाल क्यान्सर अस्पतालले अलिम शल्यक्रिया निःशुल्क गरिदिएको छ । सरकारबाट पाउने १ लाखले औषधि र सामान खरिद गरिएको अस्पतालले जनाएको छ । त्यस्तै चन्दा संकलनबाट १ लाख ७१ हजार ५ यस संकलन भएको अस्पतालका कार्यकारी निर्देशक स्वरुपा श्रेष्ठले जानकारी दिइन ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
