लन्डन — बेलायतकी सहायक स्वास्थ्यमन्त्री नदिन डोरिसले आफूलाई कोरोना भाइरस(कोभिड–१९) को संक्रमण भएको बताएकी छिन् । कोभिड–१९ को संक्रमण पुष्टि भएपछि आफू चिकित्सकको सल्लाहमा घरमै ‘सेल्फ आइसोलेसन’ मा बसेको उनले बताएकी छिन् ।
बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले ट्वीट गर्दै सहायक स्वास्थ्यमन्त्री नदिनमा भाइरसको संक्रमण देखिएकोमा दुःख व्यक्त गरेका छन्। उनले ट्वीटमा लेखेका छन्, ‘नदिनमा कोरोना भाइरसको संक्रमण देखिएकोमा अत्यन्तै दुखी छु। उनले घरमै सेल्फ आइसोलेसनमा बसेर अत्यन्तै उपयुक्त कदम चालेकी छिन्। स्वास्थ्यकर्मीहरुले अत्यन्तै राम्रो काम गरिरहेका छन्। हामी सबै उनको स्वास्थ्यलाभको कामना गर्छौं।’
सहायक स्वास्थ्यमन्त्री नदिनले पनि ट्वीट गर्दै स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएकी छिन्। आफूलाई ठीक हुँदै गए पनि आफूसँगै रहेकी आमाको भने चिन्ता लागेको उनले बताएकी छिन्। ‘मलाई मसँगै रहनुभएकी ८४ वर्षीया आमाको निकै चिन्ता लागिरहेको छ। उहाँले आजबाट खोक्न थाल्नु भएको छ। भोलि उहाँको स्वास्थ्य परीक्षण हुनेछ। सुरक्षित रहनुहोस्, र सबैले हात धुनुहोस्।’ कुनै बेला नर्ससमेत रहेकी ६२ वर्षीया नदिन गत बिहीबारदेखि अस्वस्थ महसुस गरेकी थिइन्।
मन्त्रिपरिषद्कै सदस्यलाई कोभिड–१९ को संक्रमण देखिएपछि प्रधानमन्त्री बोरिस जोनसनले परीक्षण गराउने/नगराउने केही जानकारी दिइएको छैन। तर स्वास्थ्यमन्त्री म्याट ह्यानककलगायतले भने कोभिड–१९ को संक्रमण भए नभएको परीक्षण गराउने भएका छन्।
बेलायतमा अहिलेसम्म कोभिड–१९ का कारण ६ जनाको मृत्यु भएको छ भने ३८३ मा संक्रमण देखिएको छ।
युरोपेली संसद् प्रमुख आइसोलेसनमा
युरोपेली संसद्का प्रमुख डेभिड सास्सोलीले मंगलबार आफू आइसोलेसनमा बसेको बताएका छन् । केही दिनअघि कोभिड–१९ बाट प्रभावित इटाली भ्रमण गरेकाले सुरक्षात्मक उपायका लागि ब्रसेल्सस्थित घरमै स्वयं क्वारेन्टाइनमा बसेको विज्ञप्तिमार्फत उनले जानकारी दिएका छन् । ‘संसद् जारी रहनेछ । लोकतन्त्रलाई भाइरसले रोक्न सक्दैन,’ इटालियन नागरिक सास्सोलीले बताए । यसअघि सोमबारै युरोपेली संसद्ले सयौं सांसद एकै ठाउँमा बस्दा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै विस्तारित भेलालाई तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको थियो ।
विश्व स्वास्थ्य संगठनले मंगलबारसम्म विश्वका १ सय १९ राष्ट्रमा कोभिड–१९ संक्रमण पुष्टि भएको जनाएको छ । उसका अनुसार १ लाख १९ हजार १ सय ७६ जना संक्रमित पाइएका छन् र तीमध्ये ४ हजार १२ जनाको मृत्यु भएको छ । कोभिड–१९ संक्रमणले चीनपछि सबैभन्दा धेरै प्रभावित इटालीमा दश हजार १ सय ४९ संक्रमित छन् भने हालसम्म ६ सय ३१ जनाको मृत्यु भइसकेको छ । इटालीमा मंगलबार मात्रै १६८ जनाको मृत्यु भएको छ।उत्तर इटालीका सबै जनतालाई आइसोलेसनमा राखिएको छ ।
दक्षिण कोरियामा ७ हजार ७ सय ५५ संक्रमित पुष्टि भएका छन् भने ६० जनाको मृत्यु भएको छ । इरानमा हालसम्म ८ हजार ४२ संक्रमित पुष्टि भएका छन् र मृतकको संख्या २ सय ९१ पुगेको छ । चीनमा ८० हजार ७ सय ७८ संक्रमित रहेका छन् भने ३ हजार एक सय ५८ जनाको मृत्यु भएको छ।
फ्रान्सका संस्कृतिमन्त्री संक्रमित
फ्रान्सका संस्कृतिमन्त्री फ्यांक रियस्टर कोभिड–१९ संक्रमित हुने पछिल्लो राजनीतिज्ञ भएका छन् । स्वास्थ्यमन्त्री ओलिभियर भेरानले यसबारे पुष्टि गर्दै मन्त्री फ्यांकसहित ५ जना सांसदमा पनि संक्रमण पुष्टि भएको सोमबार बताए । मन्त्री रियस्टरको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र घरमै आराम गरिरहेको बीएफएम टेलिभिजनसँगको कुराकानीमा उनले जानकारी गराए ।मंगलबार बिहानसम्म फ्रान्समा ३३ जनाको मृत्यु भएको छ भने एक हजार ७ सयभन्दा बढीमा संक्रमण देखिएको छ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ

