रोम — विश्वव्यापी रूपमा फैलिइरहेको नोबल कोरोना (कोभिड–१९) संक्रमितको संख्या युरोप र अमेरिकामा ह्वात्तै बढेको छ । युरोपेली देशहरू इटाली, जर्मनी, बेलायत र फ्रान्स सबैभन्दा बढी प्रभावित भएका छन् । कोभिड–१९ का कारण इटालीमा हालसम्म ८ सय २७ जनाको ज्यान गइसकेको छ भने १२ हजार ४ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । इटालीमा बुधबार मात्रै थप १९६ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय १३ जनामा संक्रमण देखिएको छ । संक्रमण अनियन्त्रित भएसँगै तीन दिनयता इटालीले सबै सीमा बन्द गरिसकेको छ । चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले ५ करोड ८० लाख मानिस कोभिड–१९ को संक्रमणको जोखिममा रहेको बताएकी छन् । उक्त संख्या देशको जनसंख्याको करिब ७० प्रतिशत हो । स्पेनमा हालसम्म २ हजार २ सय ७७ र फ्रान्समा २ हजार २ सय ८१ जना संक्रमित भइसकेका छन् । बिहीबार बिहानसम्म स्पेनमा ५५ र फ्रान्समा ४८ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या १ हजार ३ सय १२ पुगेको छ भने ३८ जनाले ज्यान गुमाएका छन् । अधिकारीका अनुसार वासिङ्टन, न्युयोर्क, क्यालिफोर्नियालगायत सहरमा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।न्युयोर्कका गभर्नर एन्ड्रियु कोउमोले निकै प्रभावित भएकाले सहरको उत्तरी क्षेत्रमा सार्वजनिक कार्यक्रममाथि प्रतिबन्ध लगाइएको जनाएका छन् । उनले न्यु रोसल क्षेत्रमा सम्भवतः अमेरिकाकै धेरै संक्रमित रहेका जनाउँदै नेसनल गार्डलाई परिचानल गरिएको जनाए । उनीहरूले विद्यालय, अस्पताल, सपिङ मललगायत सार्वाजनिक स्थलहरूको सफाइ गर्ने छन् । अस्ट्रेलियामा हालसम्म संक्रमितको संख्या १ सय २७ पुगेको छ । स्वास्थ्य विभागका अनुसार ३ जनाको मृत्यु भइसकेको छ । प्रधानमन्त्री स्कट मरिसनले कोभिड–१९ को नियन्त्रण र उपचारका लागि १.५५ अर्ब अमेरिकी डलर रकम छुट्याइएको घोषणा गरेका छन् । दक्षिण कोरियामा संक्रमितको संख्या ७ हजार ८ सय ६९ पुगेको छ । हालसम्म ६६ जनाको ज्यान गइसकेको छ । स्वास्थ्य अधिकारीका अनुसार उपचारपछि निको भएका ४१ जना घर फर्किसकेका छन् । त्यसैगरी, जापानमा पनि कोभिड–१९ का कारण मृत्यु हुने र संक्रमितको संख्या बढेको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ हजार ३ सय ४८ जनाको संक्रमण पुष्टि भएको छ भने २२ जनाले ज्यान गुमाएका छन् । कोभिड–१९ को संक्रमण सुरु भएको भनिएको चीनमा भने नयाँ बिरामी घटेका छन् । अधिकारीका अनुसार बुधबार २४ जना मात्र नयाँ बिरामी थपिए भने थप २२ जनाको मृत्यु भयो । चीनमा हालसम्म ८० हजार ९ सय ६७ जनामा संक्रमण देखिएको छ भने ३ हजार १ सय ३६ जनाले ज्यान गुमाइसकेका छन् । कोभिड–१९ का कारण कम्तीमा ३ सय ५४ इरानीले ज्यान गुमाइसकेका छन् भने ९ हजारमा संक्रमित भएका छन् । त्यस्तै बेलायतमा ८, इराकमा ७, नेदरल्यान्ड्समा ५, स्विजरल्यान्डमा ४, जर्मनी, बेल्जियम, अस्ट्रेलिया र हङकङमा ३/३ जना, सान मारिनो, लेबनान र फिलिपिन्समा २/२ जना तथा स्विडेन, क्यानडा, इजिप्ट, थाइल्यान्ड, ताइवान, इन्डोनेसिया, अर्जेन्टिना, अल्बानिया, पानामा, बुल्गेरिया र मोरक्कोमा १/१ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ

