जनस्वास्थ्य सरोकार, चितवन । चितवनमा दादुरा–रुबेला रोग देखा पर्न थालेको छ । दुई वर्षअघि दादुराका बिरामी शून्य रहेको जिल्लामा पछिला वर्षमा २३ जनामा दादुराका बिरामी फेला परेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सन् २०१९ मा १९ र २०२० मा चार जनामा दादुरा देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख तथा वरिष्ठ स्वास्थ्य अधिकृत दीपकप्रसाद तिवारीका अनुसार सन् २०१७ र २०१८ मा दादुरा–रुबेलाका बिरामी शून्य थिए । २०१९ मा ५२ जनामा परीक्षण गरेकामा १९ र २० मा आठजनामा परीक्षण गरेकामा चारवटा केसमा पोजेटिभ आएको उहाँले बताउनुभयो । तराईका विभिन्न जिल्लाबाट आएर काठ, तरकारी र इँटाभट्टामा काम गर्र्दै आएका अभिभावकका बालबालिकालाई दादुरा देखिएको उहाँले जानकारी दिनुभयो । दादुरा–रुबेला खोप लगाउन ढिला भएका कारण पनि पछिल्लो समयमा यसका बिरामी देखा पर्न लागेको तिवारीको भनाइ छ ।
अन्तिम पटक चितवनमा आर्थिक वर्ष २०७१/७२ सालमा खोप अभियान सञ्चालन गरिएको थियो । भूकम्प र कर्मचारी समायोजनका कारण नेपाल सरकारले खोप अभियान सञ्चालन गर्न ढिला भएको उहाँले बताउनुभयो । प्रत्येक चार वर्षमा दादुरा रोगको खोप लगाउनुपर्ने हुन्छ । यो रोग पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई लाग्ने गर्दछ ।
यसैबीच चितवनमा दादुरा–रुबेला विरुद्धको खोप अभियान दुई चरणमा हुने भएको छ । स्वास्थ्य कार्यालय चितवनले चैत २ गतेदेखि जिल्लाका पाँच स्थानीय तह र १० देखि दुई स्थानीय तहमा खोप अभियान शुरु गर्न लागेको हो । चार वर्षपछि शुरु गर्न लागिएको खोप अभियान जिल्लामा दुई चरणमा सञ्चालन गरिने छ ।
पहिलो चरणअन्तर्गत चैत २ देखि ७ गतेसम्म भरतपुर महानगरपालिका, रत्ननगर, माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका खोप अधिकृत अमृत महर्जनले जानकारी दिनुभयो ।
त्यस्तै दोस्रो चरणमा चैत १० देखि १८ गतेसम्म राप्ती र खैरहनी नगरपालिकामा खोप सञ्चालन गरिनेछ । यस अभियानमा नौ महिनादेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्धको खोप लगाइने भएकाले आफ्ना बालबालिकालाई नजीकको खोप केन्द्रमा लगेर खोप लागाउन अभिभावकलाई स्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ ।
यसपटक चितवनका ५८ हजार ९८३ जना बालबालिकालाई खोप लगाउने कार्यालयको लक्ष्य छ । खोप अभियान सम्पन्न गर्न ५६८ केन्द्रमा एक हजार १३६ स्वयम्सेवक र १३२ खोप कार्यकर्ता खटिनेछन् । खोप अभियानमा खोप तथा कोल्डचेन, शैक्षिक सामग्री आपूर्ति तथा वितरण गरिनेछ । चितवनका सात स्थानीय तहमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकामा खोपकर्ता र स्वयम्सेवक खटिनेछन् । भरतपुर महानगरपालिकाका २५९ खोप केन्द्रमा ४० खोपकर्ता र ५१८ स्वयम्सेवक खटाइने कार्यालयले जनाएको छ ।
रत्ननगर नगरपालिकाका ६३ खोप केन्द्रमा १६ खोपकर्ता र १२६ स्वयम्सेवक, कालिका नगरपालिकाका ४२ केन्द्रमा आठ खोपकर्ता र ८४ स्वयम्सेवक, खैरहनीका ५२ केन्द्रमा १३ खोपकर्ता र १०४ स्वयम्सेवक, राप्तीका ६७ केन्द्रमा १५ खोपकर्ता र १३४ स्वयम्सेवक, माडीका ४४ केन्द्रमा २८ खोपकर्ता र ८८ स्वयम्सेवक तथा इच्छाकामना गाउँपालिकामा ४१ केन्द्रमा १२ खोपकर्ता ८२ स्वयम्सेवक खटिनेछन् । दाजुराको खोप ७५ प्रतिशतसम्म प्रभावकारी भएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो ।
नेपाल सरकारले नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क खोप दिने गर्दछ । खोप लगाएमा ७५ प्रतिशतसम्म प्रभावकारी हुने बताइएको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा रुबेला निवारण गर्ने लक्ष्य राखेको छ ।
हाल विश्वमा दादुराबाट हुने मृत्युदर भने ६६ प्रतिशतले घटेको भरतपुर अस्पतालका बाल रोग विशेषज्ञ चिकित्सक युवानिधि बसौलाले जानकारी दिनुभयो । नेपालमा सन् २००३ देखि दादुरा–रुबेलाको देशव्यापी सर्भिलेन्स शुरु भएको हो । नेपालमा खोप अभियान भएको दुईदेखि पाँच वर्षपछि दादुरा रोगीहरु बढ्ने गरेको उहाँले बताउनुभयो । नेपालमा सन् २०१९ मा ३६६ जनामा दादुरा रोग देखापरेको उहाँको भनाइ थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
