जनस्वास्थ्य सरोकार, तुलसीपुर । दाङका २९ स्वास्थ्य संस्था भाडाको भवनबाट सेवा प्रवाह गर्न बाध्य छन् । तुलसीपुर उपमहानगरपालिकाका सात, शान्तिनगर गाउँपालिकाका तीन, राजपुर गाउँपालिकाका पाँच, दङ्गीशरण गाउँपालिकाका चार, बगलाचुली गाउँपालिकाका दुई, घोराही उपहानगरपालिकाका दुई, लमही नगरपालिकाका दुई स्वास्थ्य संस्था भाडाको भवनमा सञ्चालित छन् ।
त्यस्तै राप्ती गाउँपालिकाका तीन र बबई गाउँपालिकाको एक स्वास्थ्य संस्था पनि भाडाको भवनमा सञ्चालनमा आएका छन् । दाङको गढवा गाउँपालिकामा भने सबै स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो । भाडामा रहेका स्वास्थ्य संस्थाका लागि भवन निर्माणको प्रक्रिया अघि बढिरहेको सम्बन्धित पालिकाका प्रमुख तथा प्रतिनिधिले जानकारी दिएका छन् । कुनै स्वास्थ्य संस्थाको भवन निर्माणको काम शुरु भएको छ भने केहीको अन्तिम चरणमा पुगेको छ ।
तुलसीपुर उपमहानगरपालिकामा भाडामा रहेका स्वास्थ्य संस्थामध्ये वडा नं २ र ६ मा रहेका स्वास्थ्य संस्थाको भवन निर्माण अन्तिम चरण रहेको र यही आर्थिक वर्षमा सम्पन्न हुने स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिनुभयो । अरु वडाको काम यो वर्षमा ४० प्रतिशत हुने र अर्को आर्थिक वर्षमा बजेट छुट्याएर काम पूरा गर्ने उहाँले बताउनुभयो ।
त्यसैगरी घोराही उपमहानगरपालिका–१ का लागि बजेट छुट्याइसकेको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभयो । वडा नं १५ मा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि जग्गा नपाएका कारण भवन बन्न केही समय लाग्ने उहाँले बताउनुभयो । त्यस्तै लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण आर्चायले स्वास्थ्य संस्था नभएको वडामा स्वास्थ्य संस्था स्थापना गर्नका लागि प्रक्रिया शुरु भएको जानकारी दिनुभयो ।
त्यस्तै शान्तिनगर गाउँपालिकामा आफ्नै भवनमा स्वास्थ्य संस्था नभएका वडामा भवन बन्ने प्रक्रियामा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले बताउनुभयो । राजपुर गाउँपालिकामा भाडामा रहेका स्वास्थ्य संस्थाको भवन बनाउनका लागि बोलपत्र प्रक्रिया भई भवनको काम भइरहेको र अबको दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको कमल रोकायाले जानकारी दिनुभयो ।
त्यस्तै दङ्गीशरण गाउँपालिकामा गएको वर्षमा गाउँपालिकाबाट केही बजेट छुट्याएर भवन निर्माणको काम भइरहेको स्वास्थ्य शाखा संयोजक दशरथ गिरीले जानकारी दिनुभयो । बबई गाउँपालिकामा तीन स्वास्थ्य संस्थाका लागि भवन निर्माण भइरहेको र यही आर्थिक वर्षसम्म भवन निर्माण हुने हरि खड्काले जानकारी दिनुभयो । बगलाचुली गाउँपालिकामा स्वास्थ्य संस्थाको भवन निर्माणको काम भइरहेको र अबको दुई महिनामा भवन निर्माण सम्पन्न हुने स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले जानकारी दिनुभयो ।
राप्ती गाउँपालिकामा भाडाको वडा नं ४, ६ मा यो आर्थिक वर्षमा भवन निर्माण हुने र वडा नं ९ मा रहेको स्वास्थ्य संस्थाका लागि सरकारबाट बजेट नपरेकाले केही समय लाग्ने स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभयो । आफ्नै भवन नभएको हुँदा सेवाग्राहीलाई सोचेअनुसार सेवा प्रदान गर्न नसकिएको बगलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भक्तबहादुर जिसीले जानकारी दिनुभयो । भाडामा स्वास्थ्य संस्था सञ्चालन गर्दा सरसफाइलगायत आफ्नो आवश्यकताअनुसारको कोठालाई प्रयोग गर्न नसकिने भएकाले सेवाग्राहीको आवश्यकताअनुसार सेवा दिन नसकिएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताउनुभयो । स्वास्थ्य संस्थाका लागि चाहिने सामान राख्नका लागि समेत समस्या हुने गरेको उहाँको भनाइ छ । दाङका १० स्थानीय तहका १०० वडामध्ये सात वडामा स्वास्थ्य संस्था पुगेका छैनन् । (रासस)
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
