जनस्वास्थ्य सरोकार, काभ्रेपलाञ्चोक । दादुरा–रुवेला खोप अभियानअन्तर्गत यहाँका नौ महिनादेखि पाँच वर्षसम्मका करिब ३२ हजार बालबालिकालाई खोप लगाइँदैछ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्र झाले आज धुलिखेल नगरपालिकास्थित २८ किलोमा आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गर्नुभयो ।
जिल्लामा पहिलो चरणमा चैत २ गतेदेखि १० गतेसम्म चार नगरपालिका र चार गाउँपालिका तथा दोस्रो चरणअन्तर्गत १४ देखि २२ गतेसम्म बाँकी स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गर्ने योजना सो कार्यालयको रहेको छ । यहाँ छ नपा र सात गाउँपालिका छन् ।
प्रचारप्रसार तथा आफ्ना छोराछोरीलाई दादुरा–रुवेलाविरुद्ध खोप लगाउन अनुरोध गर्दै अभिभावकलाई निमन्त्रणापत्र पठाइएको उहाँले बताउनुभयो । प्रमुख डा झाले भन्नुभयो, “अन्तरराष्ट्रियरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको छ, हामीले भरपुर प्रचारप्रसार र निमन्त्रणा गरिसक्यौँ ।” उहाँका अनुसार जिल्लाको ९६२ खोप केन्द्रमा एक हजार ९२४ स्वस्थ्य सेवक तथा एक हजार ८७ खोप कार्यकर्ता परिचालन गरिएको छ ।
‘नेपालबाट दादुरा–रुवेला रोग पूर्णरूपमा निवारण गरौँ’ भन्ने मूल नारासहित “नौदेखि ५९ महिनासम्मका सबै बालबालिकालाई नजिकैको खोप केन्द्रमा ल्याउनुहुन सादर अनुरोध गर्दछौँ”, व्यहोराको निम्तापत्र अभिभावकसमक्ष पठाइएको हो । सम्बन्धित स्थानीय तहका प्रमुख, स्वास्थ्य संस्था प्रमुखले सम्बोधन गरिएको निमन्त्रणापत्र स्वास्थ्य स्वयंसेविकामार्फत सबै बालबालिकाको अभिभावकलाई पठाइएको हो ।
सन् २०१६ मा सञ्चालित दादुराविरुद्धको खोप अभियानमा जिल्लाका करिब २४ प्रतिशत बालबालिका छुटेकाले यसपटकको अभियानमा कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले घरघरमा निम्तापत्र पठाइएको प्रमुख डा झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालबालिका तथा अभिभावकलाई सजिलो होस् भन्ने उद्देश्यले सबै बस्तीको पायक पर्ने स्थानमा खोप केन्द्र राखिएका छन् ।” यसजिल्लालाई दुई वर्षअघि नै ‘पूर्ण खोप जिल्ला’ घोषणा गरिसकिएको छ ।
वडा क्षेत्रका सम्पूर्ण बालबालिकाले सो खोप लगाएको प्रमाणित गर्ने जिम्मेवारी सम्बन्धित वडाध्यक्षलाई दिइएको छ । “यसपालि कुनै बालबालिका खोपबाट छुटेको भए, त्यसको सम्पूर्ण जिम्मेवारी वडाध्यक्षले लिनुपर्र्नेछ”, उहाँले भन्नुभयो । ९५ प्रतिशतभन्दा माथिको सङ्ख्यामा बालबालिकाले खोप लिएको भए त्यसलाई ‘पूर्ण खोप’ मानिने नीति छ ।
सरकारले दादुरा–रुवेला खोप अभियानअन्तर्गत पहिलो चरणमा फागुन १ गतेदेखि प्रदेश नं १, २ र ५ मा ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई खोप दिएको थियो । अभियानको दोस्रो चरणअन्तर्गत वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिइने तयारी गरिएको हो । साथै यस अभियानअन्तर्गत नै झापादेखि कञ्चनपुरसम्मका १६ जिल्लामा भने सब बालबालिकालाई दादुरा–रुवेला खोपसँगै पोलियो थोपा पनि खुवाउने सरकारको योजना छ ।
खोप कार्यक्रमलाई बाल मृत्युदर घटाउने ठूलो औजारका रूपमा लिइएको छ । बालबालिकामा अङ्गभङ्गता तथा अकालमै हुने मृत्युबाट बचाउने उद्देश्यले दादुरा–रुवेला खोप अभियान थालिएको हो । यो खोप सन् २००४ बाट हरेका चार वर्षमा अभियानकै रूपमा सञ्चालन गरिँदै आइएको छ ।
ललितपुरका ५० हजार बालबालिकालाई खोप लगाइँदै
ललितपुरका ५० हजार भन्दा वढी बालबालिकालाई दादुरा – रुवेलाको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खोप अभियानको शुरुआत गर्दै जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका ती सङ्ख्याका बालबालिकालाई खोप लगाउन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा – रुवेला रोग निवारण गर्ने अभियान लिइसकेको छ । मुलुकमा सन् २००४ देखि शुरु भएको यस अभियान सन् २०२० सम्म आइपुग्दा पाँचौँ कार्यक्रम हो ।” अभियान दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा एकैसाथ शुरु गरिएको छ । वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले यी दुवै खोपबाट कोही पनि बालबालिका बञ्चित नहुन् भनी महिला स्वास्थ्य स्वयंसेविकालाई यसतर्फ ध्यान पु¥याउन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकमा बढ्दै गएको कोरोनाको सङ्क्रमणबाट आफू र बालबालिकालाई जोगाउन हरेक परिवारमा अर्काे जिम्मेवारी थपिएको छ ।” गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरेले प्रत्येक घरघरमा गएर हरेक बालबालिकालाई नछुटाई खोप लगाउन स्वास्थ्यकर्मीलाई सुझाव दिनुभयो ।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
