जनस्वास्थ्य सरोकार, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरेको छ ।
अस्पतालमा २० श्ययाको आइसोलेसन कक्ष निर्माणको तयारी अन्तिम चरणमा पुगेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । “अस्पतालको भवनभित्र एउटा कोठामा आइसोलेसन कक्ष निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “केही दिनभित्रै सबै काम सकिन्छ ।”
सो कक्षमा सो भाइरसका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइने निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाको विश्वव्यापी सङ्क्रमणलाई मध्यनजर गरेर स्थानीयस्तरमा पूर्वतयारीस्वरुप आइसोलेसन कक्ष स्थापना गरिएको बताइएको छ ।
गण्डकी प्रदेश सरकारले यहाँसहित पोखराका पाँच अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरेको छ । पोखराका चार अस्पतालमा ७० श्ययाको आइसोलेसन कक्ष स्थापना गरिएको छ । मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक अस्पतालमा ३० र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० श्ययाको आइसोलेसन कक्ष स्थापना भएको बताइएको छ ।
स्वास्थ्य सहायता कक्ष स्थापना
गण्डकी प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका –४ स्थित पुलजीपमा कोभिड–१९ परीक्षण गर्न आइतबार स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ ।
सहायता कक्षबाट कोरोना भाइरसविरुद्ध सचेतनामूलक सन्देश प्रवाह गरिने र साबुनपानीले हात धुने तरिका सिकाइने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । सहायता कक्षमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ । “पृथ्वीराजमार्ग हुँदै दैनिक सयौँको सङ्ख्यामा सर्वसाधारण गण्डकी प्रदेश प्रवेश गर्ने गर्दछन्”, उहाँले भन्नुभयो, “सर्वसाधारणलाई कोरोना भाइरसबाट बच्ने उपायबारे सहायता कक्षबाट सचेतना प्रदान गरिनेछ ।” उक्त सहायता कक्षको गाउँपालिकाका अध्यक्ष थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, योजना अधिकृत बुद्धिप्रसाद भुसाललगायतले अवलोकन गर्नुभएको थियो ।
जिल्लाका विभिन्न स्थानीय तहले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । कोरोना भाइरस स्वासप्रश्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाको माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग हुने स्थानीय तहले आह्वान गरेका छन् ।
नियमितरुपमा साबुनपानीले हात धुन, खोक्दा, हाछ्युँ गर्दा नाक र मुख ढाक्न, ज्वरो आउने, घाँटी दुख्ने तथा श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । (रासस)
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
