जनस्वास्थ्य सरोकार, जाजरकोट । “आदारणीय अभिभावकज्यूहरु, तपाईंको वडामा यही चैत्र १ गतेदेखि २९ गतेसम्म दादुरा–रुवेला खोप अभियान सञ्चालन हुँदैछ । यस अवसरमा नौ महिनादेखि ५९ महिनाका सबै बालबालिकालाई नजिककैको खोप केन्द्रमा ल्याइदिनुहुन अनुरोध छ । प्रार्थी नगरप्रमुख, गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र स्वास्थ्य संस्था प्रमुख ।”
स्वास्थ्य सेवा कार्यालयमार्फत सरोकारवाला निकायले यहाँका सात स्थानीय तहमा बालबालिका भएको सबै घरमा पठाएको निमन्त्रणा कार्डमा उल्लेख भएको वाक्य हो, यो । जाजरकोटका सबै स्थानीय तहका जनप्रतिनिधिले अहिले सन्देशसहितको चिठ्ठी बोकेर घर–घरमा पुगी निम्तो बाँडिरहेको छन् ।
कोही पनि नछुटुन् भनेर घर–घरमा गएर सन्देश, निम्तासहितको कार्ड वितरण गरिएको र अनिवार्य खोप लगाउन मौखिमरूपमा समेत निम्ता दिइएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जानकारी नपाएर पनि धेरै अभिभावकले बालबालिकालाई खोप दिन भुलेको अवस्था छ, यसमा हामी सबैले जोडदारका साथ अभियानमा लागेर सफल बनाउनुपर्छ, राज्यको सेवासुविधा सहीरूपमा सदुपयोग गर्न म सबैलाई अनुरोध पनि गर्दछु ।”
घर–घरमा निम्ता कार्ड बोकेर खोप लगाउन सल्लाह दिँदै हिँडेका जनप्रतिनिधि देखेर स्थानीयवासी खुशी भएका छन् । बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले भन्नुभयो, “महिला स्वयंसेविकाले खोपका विषयमा अलि–अलि जानकारी गराएको त थाहा थियो, योपटक जनप्रतिनिधि आफैँले सही गरेको कार्ड बोकेर घरघरमा आउँदा अलि फरक मात्र होइन, खोप लगाउन बाध्यसमेत पारिदिएको छ ।” सञ्चार सेवाको पहुँच नभएका जाजरकोटका दूरदराजमा खबर मात्र होइन सञ्चारको कामसमेत जनप्रतिनिधिबाट हुँदै आएको छ ।
यो कार्यक्रम सफल बनाउका लागि सात स्थानीय तहका जनप्रतिनिधिलाई सुक्ष्म योजना तालिम दिइएको छ । त्यस्तै खोप कार्यक्रमका लागि एकदिने अभिमुखीकरण तालिमसमेत दिइएको स्वास्थ्य सेवा कार्यालयका खोप सम्पर्क व्यक्ति शान्तबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार पत्रकार, नागरिक समाज, प्रमुख जिल्ला अधिकारी, प्रहरीसमेत सचेतना गोष्ठीमार्फत आवश्यक जानकारी दिइएको छ ।
खोपको प्रभावकारी तथा सही सदुपयोग भएको वा नभएको बारेमा अनुगमनसमेत गर्ने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । नेपालबाट दादुरा–रुवेला रोग पूर्णरूपमा निवारण गरौँ भन्ने खोप कार्ड स्वास्थ्य संस्था र अभिभावकप्रति सबै विवरण भरेर अभिलेखीकरणसमेत गरिएको छ । यो अभिलेखीकरणले कति बालबालिका खोपको पहुँचमा आए भन्ने स्पष्ट हिसाब आउने बुढाथोकीले बताउनुभयो । (रासस)
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
