जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ रोकथाम तथा उपचारका लागि सबै जनशक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । अस्पतालका शय्या, आईसीयू, भेन्टिलेटर, व्यक्तिगत सुरक्षा उपकरण तयारी अवस्थामा राख्न मन्त्रालयले भनेको छ । स्वास्थ्य संस्थामा कार्यरत सबै स्वास्थ्यकर्मीलाई अर्को आदेश नभएसम्म प्रसूति बिदा, किरिया बिदाबाहेक अन्य बिदा नलिन मन्त्रालयले परिपत्र जारीगरिसकेको छ ।‘मन्त्रालयअन्तर्गत करिब ३० हजार स्वास्थ्यकर्मी छन्,’ मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘संघ, प्रदेश, स्थानीयका कर्मचारीलाई परिआएमा जुनसुकै ठाउँमा खटाइनेछ ।’
उपत्यकामा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन र क्वारेन्टाइनका लागि एक हजार शय्या छुट्याइएको उनले बताए । त्यस्तै भेन्टिलेटरसहितको १२० शय्या आईसीयूको समेत व्यवस्था गर्न लागिएको छ । यस्तै सातै प्रदेशमा ११५ शय्याको आईसीयू निर्माण गर्न लागिएको छ ।
कोरोना संक्रमण रोकथामका लागि अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीका लागि मन्त्रालयसँग ६ सय सेट व्यक्तिगत सुरक्षा उपकरण मन्त्रालयसँग तयारी अवस्थामा रहेको उनले जानकारी दिए । स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउने ३० हजार सेट सुरक्षा कवच खरिद गर्न शुक्रबार टेन्डर आह्वान गर्ने मन्त्रालयले जनाएको छ ।
‘यसमा संक्रमण हुन नदिन टाउकादेखि खुट्टासम्म लगाइने सुरक्षा कबच छन्,’ स्वास्थ्य मन्त्रालय, व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले भने, ‘टोपी, चस्मा, फेस शिल्ड, गाउन, ‘एन ९५ मास्क’, पन्जा, सु–कभर र गम बुट यसभित्र पर्छन् ।’ मुलुकमा विद्यमान कानुनले आकस्मिक समयमा अत्यावश्यक सामग्री किन्नसहज नहुने भए पनि जसरी पनि आपूर्तिको व्यवस्था मिलाइनेउनले बताए ।
उपत्यकाका ३५ अस्पतालबाट प्राप्त तथ्यांकअनुसार हाल ४ हजार ८५ शय्या, १७० आईसीयू र १११ भेन्टिलेटर तयारी अवस्थामा छन् । कोरोना संक्रमितको उपचारका लागि एनेस्थेसियाका १२९ चिकित्सक, क्रिटिकल केयर आईसीयू तालिम प्राप्त चिकित्साकर्मी १८३ जना तयारी अवस्थामा छन् । उपचारका लागि १४ वटा अक्सिजन प्लान्ट छन् ।
हाल शंकास्पद कोभिड–१९ परीक्षण गर्ने किट १२ सयदेखि १५ सयसम्म रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिइन् । यस्ता २ हजार अतिरिक्त किट आयात गर्न टेन्डर भइसकेको र एक साताभित्र आपूर्ति हुने उनको दाबी छ । यसबाहेक थप ८ हजार किट खरिदका लागि फाइल स्वीकृतिका क्रममा रहेको उनले जानकारी दिइन् । हालसम्म मुलुकमा ५२९ जना शंकास्पदको परीक्षण गरिएकामा एक जनामा मात्र संक्रमण देखिएको छ । कान्तिपुरदैनिकबाट
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
पत्रपत्रिकाबाट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
