जनस्वास्थ्य सरोकार, महोत्तरी । विश्वव्यापी सन्त्रास बनेको कोरोना भाइरस भित्रिन नदिन महोत्तरीका सार्वजनिकस्थलमा सचेतनाकक्ष सञ्चालनमा आएका छन् । जिल्लाका सबैजसो सरकारी, गैरसरकारी कार्यालय, अस्पताल, मन्दिर/मस्जिदसहितका धार्मिकस्थल, स्थानीय तहका कार्यालय र सार्वजनिकचोकमा सचेतनाकक्ष सञ्चालन गरिएका छन् । जिल्लाका भारतीय सीमावर्ती मुख्यनाका मटिहानी र भिठ्ठामोरमा स्वास्थ्यकर्मी र उपकरणसहितको ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको छ । यसबाहेक बाक्लो आवतजावत हुने खैरवनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, शिशवाकटैया, बथनाहा, मधवा, नैन्ही, मुसरपट्टी र पर्सापतैलीसहितका भारतसँग सीमा जोडिएका नाकामा स्वास्थ्य जाँच गर्ने, कोरोना भाइरस सङ्क्रमण हुन नदिन अपनाइनुपर्ने सचेततासम्बन्धी सल्लाह दिने गरिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । अहिले जिल्लाका सबै स्थानीय तहका कार्यालय र अन्य जनसरोकारका कार्यालयमा साबुनपानीले हातधुने व्यवस्था र कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन पु¥याउनपर्ने सचेततासम्बन्धी हातेपर्चा वितरण गर्न थालिएका छन् । यो कामलाई धार्मिकस्थल, बजारचोकसहितका सार्वजनिकस्थलमा विस्तार गरिँदै लगिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । पूर्वसचेतताकै लागि सीमा क्षेत्रमा हुने खुला आवतजावत नगर्न सजगता अपनाइएको छ । यसैगरी प्रदेश नं २ को प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशभित्रका आठवटै जिल्लाका भारतीय सीमावर्ती नाकाका बाक्लो आवतजावत हुने ठाउँमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । यसक्रममा महोत्तरीबाहेकका धनुषाको जटही, सिरहाको माडर र ठाडी, सर्लाहीको सोनवर्षा, सप्तरीको कुनौली र छिन्नमस्ता, रौतहटको बैरगनियाँ एवं पर्साको वीरगञ्जस्थित नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिनुभयो । त्यसैगरी प्रदेशभित्रका अस्पतालमध्ये जनकपुर प्रादेशिक अस्पताल र जानकी मेडिकल कलेज, वीरगञ्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेज एवं सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ‘आइसोलेसन वार्ड’को व्यवस्था गरिएको झाको भनाइ छ । प्र्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले मानिसको बढी जमघट हुने धार्मिकस्थल, बसपार्क र विमानस्थलमा पनि स्वास्थ्यकक्ष राख्ने निर्णय गरेको छ । भाइरस सङ्क्रमणको आशङ्का लागेका व्यक्तिका लागि क्वारेन्टाइन स्थापना गर्न ठाउँको खोजी भइरहेको निर्देशनालयले जनाएको छ । यसबाहेक कोरोना भाइरस रोकथामका लागि प्रदेशभित्र उच्चस्तरीय अनुगमन तथा तत्काल सहायताका लागि विज्ञ चिकित्सक, प्रदेशस्तरका विश्वस्वास्थ्य सङ्गठन, राष्ट्रसङ्घीय जनसङ्ख्या कोष र राष्ट्रसङ्घीय बालकोषसहितका संस्थाका प्रतिनिधिसम्मिलित समिति गठन गरेर काम अघि बढाइएको वरिष्ठ स्वास्थ्य अधिकृत झाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
