जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमणको आशंकामा अस्पतालमा बिरामीको भिड बढेको छ । टेकु र पाटन अस्पतालका आइसोलेसन वार्ड भरिएका छन् । तर, यो संगिन घडीमा अरू अस्पताल रुघाखोकी र ज्वरोका कुनै पनि बिरामी भर्ना नलिएर जिम्मेवारीबाट पन्छिएका छन् ।
सरकारले ५० बेडभन्दा माथिका सबै अस्पताललाई ज्वरो क्लिनिक सञ्चालन गरेर उपचार गर्न निर्देशन दिए पनि अटेर गरेका हुन् । सरकारको निर्णयमा सहमति जनाएर पनि कार्यान्वयन नगरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना भएको हुन सक्ने भन्दै ज्वरो आएका बिरामीलाई फिर्ता पठाउने ग्रान्डी इन्टरनेसनल र अल्का अस्पताललाई मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको छ । मंगलबार मन्त्रालयमै बोलाएर स्पष्टीकरण सोधिएको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए । अस्पतालहरूले उपचारको जिम्मा मेडिकल अफिसरलाई दिने र बिरामी आए माथिको निर्देशन भनेर फर्काउने गरेको भेटिएको मन्त्रालय स्रोतले जनायो ।
हेटौँडाका ६५ वर्षका एक बिरामी सोमबार रातभर काठमाडौंका विभिन्न अस्पताल चहारे । वीर, त्रिवि शिक्षण, कान्तिपुर, ब्लुक्रस र किस्ट अस्पताल धाउँदा पनि कतै भर्ना पाएनन् । यस्तो सूचना पाएपछि मन्त्रालयको दबाबमा उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो ।
टेकु र पाटनका आइसोलेसन वार्ड भरिएपछि र अन्य अस्पतालले भर्ना नलिएपछि नयाँ बिरामीको उपचारमै समस्या भएको छ । टेकुमा ५ आइसोलेसन र ४ आइसियु बेड छन् । त्यस्तै, पाटनमा ५ आइसोलेसन र ७ आइसियु बेड छन् । आइसियु बेडमा भने अन्य बिरामी राख्ने गरिएको पाटन अस्पतालले जनाएको छ ।
सरकारले कोरोना संक्रमितको उपचारका लागि टेकु र पाटनसँगै वीर, त्रिवि शिक्षण र सिभिल अस्पताललाई पनि जिम्मा दिएको थियो । तर, सिभिल, त्रिवि शिक्षण र वीर अस्पतालले कुनै तयारी नै गरेका छैनन् । उनीहरूले बिरामीका लागि बेडसमेत छुट्याएका छैनन् । शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले कुनै तयारी नभएको बताए । यी अस्पतालले गरिब बिरामीको उपचार गर्ने अस्पताल भएकाले कोरोना संक्रमितलाई भर्ना गर्न नसक्ने बताउँदै आएका छन् । टेकु अस्पतालका अनुसार तयारी अपुग भएको भन्दै सशस्त्र प्रहरी अस्पतालले समेत बिरामी लिन मानेको छैन ।
देशभरबाट कोभिड–१९ आशंका गरिएका बिरामी टेकु पठाइएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए । सशस्त्रको अस्पतालमा समेत कोरोना शंकास्पद बिरामी राख्ने व्यवस्था नभएको खबर पाएपछि अब नयाँ बिरामी कहाँ पठाउने अन्योल भएको उनको भनाइ छ ।
अब उपत्यकाबाहिर पनि कोरोना परीक्षण
सरकारले उपत्यकाबाहिर पनि कोरोना भाइरस परीक्षण गर्ने भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विकास प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगन्जमा परीक्षण हुने भएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले तीन अस्पतालमा यथाशीघ्र परीक्षण सुरु गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा रहेका विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले नमुना संकलन गर्नेछन् र परीक्षणस्थलसम्म पु¥याउने काम समाजिक विकास मन्त्रालयले गर्नेछ । ती अस्पतालमा परीक्षण सुरु नहुँदासम्म नमुना संकलन गरेर हवाईमार्गबाट काठमाडौं ल्याइने भएको छ । यसको व्यवस्थापन मिलाउन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको छ ।
देशभरबाट स्वास्थ्यकर्मीका लागि एक लाख सुरक्षा सामग्री माग, तर छैन
देशभर कोरोनाका शंकास्पद बिरामी बढिरहेका छन् । तर, तिनको उपचारमा स्वास्थ्यकर्मी असुरक्षित रूपमा खटिनुपरेको छ । स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउनुपर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) नै सरकारले दिन सकेको छैन । सरकारले प्रत्येक प्रदेशमा ५० थानका दरले मात्रै पिपिई पठाएको छ । जब कि देशभर एक सय २५ सरकारी अस्पताल, दुई हजार २० स्वास्थ्य केन्द्र र तीन सय ६५ निजी अस्पताल छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार प्रत्येक अस्पतालले पाँच हजारभन्दा बढी पिपिई माग गरेका छन् ।
श्रेष्ठका अनुसार हालै ३३ हजार पिपिईको टेन्डर भएको छ । तर, नाका बन्द र लकडाउनका कारण समयमा ल्याउन सक्ने अवस्था नहुन सक्छ । युनिसेफमार्फत ४६ हजार, चीन सरकारसँग २० हजार, युएनएफपिएमार्फत दुई हजार, ग्लोबल फन्डमार्फत ६ सय माग गरिएको उनले बताए । एक सिफ्टमा तीन पिपिई खर्च हुन्छ । दिनमा तीन सिफ्ट कोरोना संक्रमित बिरामी हेरिन्छ । यस आधारमा एक महिनाका लागि एक लाख ३० हजार बढी पिपिई आवश्यक पर्ने अनुमान सरकारको छ । त्यस्तै, प्रत्येक स्वास्थ्य संस्थाका लागि १० हजारका दरले मास्क आवश्यक छ । सुरक्षा उपकरण अभाव हुने देखिएपछि स्वास्थ्यले अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेको छ ।
स्वास्थ्य मन्त्रालय एक हप्ताभित्र पिपिई व्यवस्थापन गर्न लागिरहेको बताउँछ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीन र भारत जहाँबाट भेटिए पनि अत्यावश्यक उपकरण ल्याउने बताए । यसका लागि परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको र उपकरण पाउनासाथ सरकारले चार्टर विमान पठाउने तयारी छ ।
कोरोना परीक्षण किट भने आवश्यक मात्रामा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालाकी निर्देशक डा. रुणा झाले बताइन् । ‘१० हजारसम्म परीक्षण गर्न सक्ने गरी व्यवस्था छ,’ उनले भनिन् । नयाँपत्रीकाबाट
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
