नेभिगेशन

कोरोना भाइरस (कोडिभ–१९) को उपचारका लागि बि एण्ड सी शिक्षण अस्पताल सरकारलाई दिन तयार

जनस्वास्थ्य सरोकार, भद्रपुर । झापाको प्रस्तावित बी एण्ड सी मेडिकल कलेज एण्ड शिक्षण अस्पताल कोरोना भाइरस (कोडिभ–१९) को उपचारका लागि राज्यलाई दिन तयार रहेको अस्पतालका सञ्चालकले घोषणा गरेका छन् । अस्पतालसँग कोभिड–१९ जाँचका लागि आवश्यक पर्ने पोशाक, पिपिई र किट्स नभएको बताउँदै सरकारी सरह राज्यले खर्च व्यहोरेर सञ्चालन गरेमा आफू दिन तयार रहेको बी एण्ड सी का सञ्चालक दुर्गा प्रसाईंले विज्ञप्ति मार्फत बताउनुभएको छ ।
आठ सय साधारण शय्या, एक सय सघन उपचार कक्ष र २५ भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेको हस्पिटलमा १०५ चिकित्सक छन् । उहाँले विज्ञप्तिमा भन्नुभयो —‘सरकारले मात्र उपलब्ध गराउने सक्ने किट्स र जाँच उपचारका लागि प्रयोग हुने सुरक्षित उपकरणहरु, पिपिई सेट उपलब्ध नभएका कारण हामी यो उपचार गर्न र परीक्षण गर्न सकिरहेका छैनौंँ, सरकारले यो विषम परिस्थितिमा कोरानाको उपचार र परीक्षणका लागि यो हस्पिटल उपयोग गर्न चाहन्छ भने हामी दिन तयार छौं ।’
प्रसाईँले अस्पतालको मेचीनगर–१२ स्थित धाइजनमा बेसिक साइन्स पढाउनका लागि तयार गरिएको भवनमा समेत ५०० शय्याको क्वारेन्टाइन बनाउन सकिने बताउनुभयो । झापा, इलाम, पाँचथर र ताप्लेजुङका २५ लाखभन्दा बढी मानिसले उपचार सेवा लिन सक्ने हस्पिटलमा कोराना भाइरसको उपचार गरिनुपर्ने स्थानीयवासीले सामाजिक सञ्जालमार्फत माग गर्दै आएका छन् ।
‘यो विषम परिस्थितिमा नेपालकै एक मात्र नमुना तथा सुविधा सम्पन्न अत्याधुनिक वि एण्ड सी टिचिडङ्ग हस्पिटल प्रति कोराना भाइरस (कोभिड १९) को उपचार हुनुपर्ने जनताको आशा स्वभाविक हो र हामी प्रतिको विश्वास नै हो । हामी पनि सर्वसाधरण र जुनसुकै रोगको संक्रमण भएकाहरुको उपचार गर्न सक्षम र अब्वल छौँ’—प्रसाईंले स्पष्ट पार्नुभएको छ ।
‘तर यो विषम परिस्थितिमा हामीले कोभिड १९ को उपचार गर्न चाहँदा चाहँदै पनि निजि अस्पताल र संस्थाले खरिद गर्न नसक्ने र सरकारले मात्र उपलब्ध गराउन सक्ने किड्स र पिपि सेट उपलब्ध नभएका कारण हामी यो उपचार गर्न र परीक्षण गर्न सकिरहेका छैनौँ ।’—उहाँले भन्नुभयो— ‘सरकारसँग यस बी एण्ड सी टिचिङ्ग हस्पिटलले पटक पटक किड्स, र पिपि सेट, एन ९५ माक्स माग गरिरहेका छौँ । तर उपलव्ध गराउन नसकेको जानकारी गराउन चाहन्छौँ । यदि सरकारले यो विषम परिस्थितिमा कोरोनाको उपचार र परीक्षणका लागि यो हस्पिटल उपयोग गर्न चाहान्छ भने हामी दिन तयार छौँ ।’
लामो समयदेखि मेडिकल कलेजको स्वीकृतिका लागि सरकारसँग माग गरिरहेको यस बी एण्ड सी टिचिङ्ग हस्पिटल जनस्वास्थ्य माथि खेलवाड गरेको रुचाउँदैन र हामी यस्तो विषम परिस्थितिमा चुप रहन नसक्ने कार्यकारी निर्देशक प्रसाईंले बताउनुभयो । उहाँको भन्नुभयो—‘त्यसैले यस हस्पिटलको सम्पूर्ण खर्च व्यवस्थापन गर्नेगरी आजैका मितिबाट सरकारले कोरोना भाइरस विरुद्धका सवै उपचार पद्धति शुरु गर्न आग्रह गर्दछौँ ।’
कोभिड—१९ को माहामारी फैलिइरहेको बेलामा सरकारले स्वास्थ्यकर्मी र डाक्टरहरुलाई अत्यावश्यक आधारभूत उपकरण र वस्तुहरु उपलव्ध गराउन सकेको छैन । अस्पतालले खरिद गर्छौँ भन्दा समेत नपाएको भन्दै उहाँले अस्पतालमा कार्यरत सवै स्वास्थ्यकर्मी र डाक्टरहरुले आफ्नो ज्यान जोखिममा राखेर उपचारमा संलग्न रही रहनुभएको प्रति आभार र धन्यवाद दिनुभएको छ ।
‘देशमा विषम परिस्थिति र स्वास्थ्य क्षेत्रमा प्रतिकूल अवस्था देखिँदा समेत आज निजी स्वास्थ्य संस्थाले प्रभावकारी भुमिका निर्वाह गर्न नसक्नु पर्ने कारण भनेकै सरकारले निजी स्वास्थ्य शिक्षा र उद्योगलाई सौतेनी व्यवहार गर्नु नै हो ।’—कार्यकारी निर्देशक प्रसाईंले भन्नुभयो— ‘यस्तो समयमा निजी संस्था र सरकारले हातेमालो गरेर जानु नै अन्तिम विकल्प र समाधान हो । यसलाई समेत आगामी दिनमा सरकारले मध्य नजर गर्ने छ भन्ने विषयमा हामी विश्वस्त छौँ ।’
नेपालमा पनि यो रोगको संक्रमण ३ जनामा देखिएको र सयौँ क्वारेन्टाइनमा रहेको अवस्था छ । देश लकडाउनको चपेटामा रहेको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट