नेभिगेशन

अब पोखरामा पनि कोरोनाको परीक्षण हुने

जनस्वास्थ्य सरोकार, काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखराबाट अब कोरोनाको परीक्षण हुने भएको छ। मंगलबार बिहान प्राविधिक टोलीसहित पीसीआर मेसिन पोखरा ल्याइएको छ। यसअघि संघीय सरकारले ४ वटा प्रदेशलाई चीनबाट आएको पीसीआर मेसिन दिँदा गण्डकीमा दिइएको थिएन। त्यसपछि चौतर्फी विरोध भएको थियो। अन्ततः पोखरामा मेसिन र प्राविधिक पठाइएको छ। ५ वटा मेसिनमध्ये काठमाडौंमा राखिएको स्कट मेसिन पोखरा ल्याइएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। ‘संघ सरकारको प्राथमिकतामा गण्डकी परेन। त्यो सत्य हो। त्यसपछि हामीले निरन्तर कुराकानी गर्यौं, जनसंख्या र जोखिमको हिसाबले गण्डकीलाई मेसिन अपरिहार्य छ भन्यौं,’ उनले भने, ‘यहाँ विदेशबाट आउजाउ गर्नेहरु निकै धेरै संख्यामा छन्। यो सबै तर्क काठमाडौंलाई सुनाएपछि मेसिन पोखरा आएको हो। यो खुशीको खबर सबैलाई शेयर गर्न चाहान्छु।’ अब दिनहुँ पोखराबाटै स्याम्पल टेष्ट हुने भएकोले ढुक्क रहन नागरिकलाई उनले सुझाएका छन्। ‘डेढ महिनाअघि नेपालमै नभएको मेसिन अहिले प्रदेशस्तरमा झरेको छ। १ घण्टाभित्रै टेस्ट आउँछ। दैनिक स्याम्पल संकलन गर्ने र टेस्ट गर्न सकिने भएको छ,’ उनी भन्छन्, ‘अब नमुनालाई काठमाडौं पठाउनुपर्दैन। तर लकडाउनको अवस्थालाई प्रभावकारी बनाउन नागरिकले पनि सहयोग गरिदिनुस्। घरबाट ननिस्किदिनुहोला।’ मंगलबार ल्याइएको पिसिआर मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा राखिनेछ। ‘प्राविधिकहरुले हेरेपछि यही ठाउँ उपयुक्त भयो। पोखरामा क्षेत्रीय क्षयरोग केन्द्रको प्रयोगशाला पनि छ। यस्तो सुविधा अरु प्रदेशमा छैन। अहिलेलाई प्रतिष्ठानको ल्याबबाट टेष्ट गर्ने निर्णय भएको छ,’ शर्माले थपे, ‘ब्याकअपमा क्षयरोग केन्द्रको ल्याब चलाउँछौं।’ गण्डकीका लागि खटाइएका प्राविधिक बलराम गौतमले केही समयभित्रै मेसिन जडान गरेर काम थाल्ने बताए। ‘आज सेटअप गर्छौं, त्यसपछि स्याम्पल रिसिभ गरेर यहाँका प्राविधिकलाई तालिम दिन्छौं। अबको केही घण्टाभित्रै मेसिनले काम गर्न थाल्छ,’ उनले भने, ‘अहिले यो मेसिनबाट काम थालिहाल्छौं। यहाँ पनि अर्को मेसिन छ। त्यसलाई पनि चलाउने प्रयास गर्छौं।’ उनका अनुसार हाल ल्याइएको मेसिनबाट दैनिक १५ वटासम्म परीक्षण गर्न सकिन्छ।    
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट