नेभिगेशन

लकडाउन एक साता बढाउने सरकारको तयारी

जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले लकडाउन (बन्दाबन्दी) को समयवधि बढाउने मनस्थिति बनाएको छ । नेपालमा कोरोना भाइरसको प्रकोप बढेमा राज्यले थेग्न नसक्ने कुरालाई मध्यनजर गर्दै सरकारले लकडाउन बढाउने मनस्थिति बनाएको हो । यसै विषयमा छलफल गर्न आज अपरान्ह २ बजे मन्त्रीपरिषद् बैठक बस्दै छ । लक डाउनको समयावधि भोलि २५ गते राति १२ बजे सकिँदैछ । बैठकमा लक डाउन एक हप्ता थपिनसक्ने बताइएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी एक साता लकडाउनको घोषणा गरेको थियो । उक्त लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदै गर्दा सरकारले समयावधि बढाएर चैत्र २५ गते राति १२ बजेसम्मका लागि कायम गरेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकले भने लकडाउन थप्नेबारेमा सरकारलाई औपचारिक सिफारिस त गरेको छैन । तर, बैठकपछि समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर लकडाउनका किषयमा छलफल गर्नुभएको थियो ।
सुदूरपश्चिम क्षेत्रमा चार जनामा कोरोना संक्रमण देखिएको र विदेशबाट आएकाबाट स्थानीयमा सरेको समेत भेटिएपछि सुदूरपश्चिममा क्वारेन्टाइनको अवधि थप गरी २१ दिन पुर्याइएको सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले घोषणा गरिसक्नुभएको छ । नेपालमा कोरोनाको लोकल ट्रान्समिसन शुरु भएपछि सर्वत्र चिन्ता छाएको छ । शुरुमा बाहिरबाट आएका व्यक्तिहरुमा संक्रमण पहिचान हुँदै आएकोमा अहिले तिनै व्यक्तिहरुबाट स्थानीय व्यक्तिहरुमा संक्रमण देखिन थालेपछि चिकित्सकहरुले थप सजग र सचेतना अपनाउन आग्रह गरेका छन् । कञ्चरपुरकी ३४ बर्षीया एक महिलामा भारतको उत्तराखण्डबाट आएका उनका देवरबाट कोराना संक्रमण भएपछि सर्वत्र चिन्ता र चासो बढ्दै गएको हो । हालसेती अञ्चल अस्पताल धनगढीमा ४ जना, बागलुङका २ जनाको धौलागिरी अञ्चल अस्पताल र ३ जनाको काठमाडौंस्थित शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । शुरुमा कोरोना देखिएका एकजना उपचारपछि घर फर्किसकेका छन् । नेपालमा कुल संक्रमितको संख्या ९ बाट बढेको छैन । बाहिरबाट संक्रमित भएर आएका व्यक्तिबाट स्थानीय व्यक्तिमा संक्रमित हुनु लोक ट्रान्समिसन अर्थात दोस्रो चरण हो । नेपालको सन्दर्भमा यो एउटा व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने लोकल ट्रान्समिसन र एउटा समाजबाट अर्को समाजमा फैलिने कम्युनिटी ट्रान्समिसन हो । कम्युनिटी ट्रान्समिसन भनेको भयावह स्थिति हो । यसअघि कोरोना देखिएका लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन सरकारले आग्रह गर्दै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट