जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा दोस्रो कोरोना भाइरस (कोभिड १९) संक्रमित युवती अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । काठमाडौंको टेकुस्थित शहीद शुक्रराज तथा सरुवा रोग अस्पतालमा २७ दिनको लामो उपचारपछि उहाँ बैशाख ५ गते (शनिबार) डिस्चार्ज हुनुभएको हो ।
गत चैत्र १० गते उहाँमा कोरोना पुष्टि भएको थियो । त्यसपछि अस्पतालको आइसोलेसन वार्डमा उपचारका लागि भर्ना हुनुभएको थियो । अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाका अनुसार, सबै रिपोर्ट निगेटिभ आएपछि उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । कतारको दोहा हुँदै फ्रान्सबाट आएकी ति युवतीकी भियतनामी साथील फोन गरेर आफूलाई संक्रमण भएको बताएपछि परिवारले उहाँलाई अस्पताल ल्याएको थियो ।अस्पतालबाट डिस्चार्ज हुनुअघि युवतीले तस्बिरसमेत खिचाउनुभएको छ । उहाँकै अनुमतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिले तस्बिर सार्वजनिक गरेका छन् । यसअघि मन्त्रालयले बिरामीको व्यक्तिगत विवरण र तस्बिर सार्वजनिक नगर्न सञ्चार माध्यमलाई अनुरोध गरेको थियो । डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किने उहाँ दोस्रो व्यक्ति हुनुभएको छ । डिस्चार्जपछि स्वास्थ्य मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा उहाँले आइसोलेसनमा उपचार गराउँदा विशेष सहयोग गर्ने डा. सागर राजभण्डारी र डा. अनुप बाँस्तोलालाई धन्यवाद दिनुभएको छ । ‘यो समयमा म उपचारमा संलग्न डा. सागर राजभण्डारी र डा. अनुप बाँस्तोलालाई विशेष धन्यवाद दिन्छु।’ उहाँले उपचारका क्रममा अस्पतालमा केही कमी महसुस नगरेको बताउनुभयो । ‘उपचारका क्रममा अस्पतालमा मैले त्यस्तो केही पनि कमी महसुस गरिन्’, उहाँले भन्नुभयो , ‘संक्रमण भएपछि टेकु आएको एक दुई दिनपछि लक्षण देखिन थाल्यो। सास फेर्न अप्ठेरो भएको थियो। पेटमा दुखाई थियो। थकाइ लाग्थ्यो, खोकी लाग्थ्यो।’ उहाँले आफू सेल्फ आइसोलेसनमा बसेकाले आफूबाट अरुमा कोरोना फैलिन नपाएको अनुभव साट्टै यस्तै सुविधा सबैलाई पुर्याउन सरकारसँग मागसमेत गर्नुभएको छ । ‘म सेल्फ आइसोलेसनमा बसेकाले मबाट यो अरुमा फैलिन पाएन। धेरै मानिसलाई मलाई जस्तो सुविधा छैन’, उनले भनिन्, ‘सरकारले धेरै गरेको छ। सुविधा नपाउने सबैलाई सुविधा पुर्याउन सरकारसँग अनुरोध गर्छु।’ उहाँले डिस्चार्ज भएपछि अन्य संक्रमितलाई आत्मविश्वास दह्रो पारेर बस्न सुझाव दिइन्। ‘दृढताका साथ अस्पताल बस्नुहोस्। केही समय लाग्ला तर केयर भइरहेको छ भने निको हुन्छ’, उहाँले भन्नुभयो ‘आत्मबल बढाएर आफ्नो ख्याल आफै गर्नुहोस्, ठिक हुन्छ।’ सँगै उहाँले भविष्यमा कोरोना रोकथामकै लागि समाजमा योगदान गर्नेसमेत बताउनुभयो ।। ‘मेरो रिकभरी मेरोलागि ठूलो मौका हो’, उहाँले भन्नुभयो , ‘अब म समाजलाई योगदान गर्न सक्छु। म कोरोना भाइरस नियन्त्रणका लागि नै काम गर्छु।’ यसअघि गत माघ ९ गते पहिलो पटक नेपालमा कोरोना देखिएका युवकलाई निको भएर डिस्चार्ज गरिएको थियो । अहिलेसम्म नेपालमा ३० जनामा कोरोना पुष्टि भएको छ । उहाँसँगै कतार एयरवेजको क्यूआर ६५२ जहाजमा नेपाल आएका बागलुङका दुईजना कोरोना संक्रमण देखिएको थियो । हाल उनीहरुको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ । कोरोना संक्रमितमध्ये १२ जनाको विराटनगरस्थित कोरोना अस्पताल, पाँच जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, चार जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित दोस्रो बिरामी आज पूर्ण स्वस्थ्य भई अस्पतालबाट डिस्चार्ज हुनुभएकोमा उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरु तथा संम्बद्ध सबैलाई द्धिटमार्फत बधाई तथा धन्यवाद दिनुभएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
