जनस्वास्थ्य सरोकार । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी नागरिकहरूलाई बसोबासका लागि दिइने नयाँ ग्रीन कार्ड अहिलेका लागि स्थगित गर्ने एउटा आदेशमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पका अनुसार ग्रीन कार्ड दिने काम ६० दिनका लागि स्थगित गरिएको छ तर त्यसपछि पनि त्यो अवधि लम्बिन सक्छ। कोरोनाभाइरसका कारण अर्थतन्त्र प्रभावित भएको बेला अमेरिकी नागरिकको रोजगारी संरक्षण गर्न उक्त आदेशको उद्देश्य भएको ट्रम्पको दाबी छ ।तर निर्वाचन हुने वर्ष ट्रम्पले विश्वव्यापी महामारीको निहुँमा अनुदारवादी आप्रवासन नीति ल्याएको भन्दै ट्रम्पको आलोचना पनि भएको छ। "यसबाट सबै पृष्ठभूमिका बेरोजगार अमेरिकीहरू अर्थतन्त्र पुन: सञ्चालनमा आएपछि कामका लागि अग्रपङ्क्तिमा हुन्छन्," ह्वाइट हाउसमा बुधवार उनले भने।
आदेशले कसलाई रोक्छ, कसलाई रोक्दैन ?
यो आदेशबाट ग्रीनकार्डधारी व्यक्तिहरूले आफ्नो परिवारका अन्य सदस्यलाई अमेरिकामा स्थायी बसोबास गर्न आर्थिक दायित्व वहन गर्ने परम्परा रोक्ने अपेक्षा गरिएको छ। ट्रम्पले यो परम्परालाई आप्रवासनको साङ्लो भन्दै गरेका छन् तर अमेरिकी नागरिकका पतिपत्नी वा २१ वर्षमुनिका अविवाहित छोराछोरीलाई भने नयाँ आदेशबाट प्रभाव पर्नेछैन । यो आदेशबाट डाइभर्सिटी भिसा (डीभी) लटरी पनि स्थगित भएको छ। प्रत्येक वर्ष उक्त कार्यक्रमबाट ५०,००० जनालाई ग्रीनकार्ड दिने गरिन्थ्यो। अमेरिकामै बसेर ग्रीन कार्डका लागि आवेदन दिएका हजारौँ विदेशी नागरिकलाई पनि उक्त आदेशबाट कुनै फरक पर्नेछैन । स्वास्थ्यसेवामा काम गर्ने उद्देश्यले अमेरिका जान खोजेका चिकित्सक, नर्स र अन्य व्यक्तिलाई पनि छुट छ। अस्थायी भिसा लिएर आउन खोज्ने कृषि श्रमिक र अन्य क्षेत्रमा सीप भएर एच-वनबी (H-1B) भिसा कार्यक्रमबाट आउन निवेदन दिने हजारौँ व्यक्तिलाई पनि यसबाट कुनै प्रभाव पर्नेछैन।यसको प्रभाव के हुन्छ ?
कोभिड-१९ महामारीका कारण अहिले भिसासम्बन्धी सबै प्रक्रिया बन्द छ। तर यो आदेशका कारण प्रत्येक हप्ता ग्रीनकार्डका लागि पर्ने २०,००० वटा आवेदन रोकिन सक्ने वाशिङ्टनस्थित माइग्रेशन पोलिसी इन्स्टिट्यूटले जनाएको छ।अमेरिकन सिभिल लिबर्टीज यूनियनको आप्रवासी अधिकार हेर्ने आयोजनाका निर्देशक ओमर जाड्वटका अनुसार ट्रम्पको नीतिबाट देशभरि रहेका परिवार र तिनका रोजगारदातालाई पीडित हुनेछन् । ट्रम्पको निर्णयविरुद्ध अदालतमा मुद्दा पर्ने सम्भावना छ।
कसरी यो स्थिति आयो ?
सोमवार राति ट्रम्पले अमेरिकामा हुने "सबै आप्रवासन" स्थगित गरिदिने भन्दै ट्वीट गरे । कोभिड-१९ महामारी नियन्त्रण गर्ने उद्देश्यले अरू देशमा जस्तै उनले यात्रामा प्रतिबन्ध लगएका छन् । ट्रम्प प्रशासनले चीन र युरोपका अधिकांश स्थानबाट आउने यात्रुको सङ्ख्या सीमित पारिदिएको छ भने अत्यावश्यकबाहेक अन्य अवस्थामा मेक्सिको र क्यानडासँगको सीमा नखुल्नेगरी बन्द गरेको छ । सीमामा शरण माग गर्ने व्यक्तिलाई फर्काउन राष्ट्रपतिले सरुवा रोग नियन्त्रणका सन् १९४४ मा निर्मित एउटा कानुन प्रयोग गरिका छन् । उनले अमेरिकी नागरिकको रोजगारी जोगाउन त्यसो गरेको तर्क गरिरहेका छन् । कोरोनाभाइरस महामारी फैलिन थालेपछि दुई करोडभन्दा बढी अमेरिकीले आफ्नो काम गुमाएका छन्। उनीहरूले फेरि काम पाऊन् भनेर सुनिश्चित गर्नु सरकारको कर्तव्य भएको ट्रम्पको भनाइ छ।आप्रवासनसम्बन्धी अनुदारवादी नीतिले ट्रम्प राष्ट्रपति निर्वाचित हुन सहयोग पुर्याएको ठानिन्छ। आफ्नो कार्यकालमा पनि उनले आप्रवासन नियन्त्रण गर्ने विषयलाई प्राथमिकतामा राखेका छन् । नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा उनको प्रतिस्पर्धा डेमोक्र्याटिक पार्टीका जो बाइडनसँग हुने देखिएको छ। बाइडन आप्रवासनका पक्षपाती हुन्।कोरोनाभाइरस महामारी नियन्त्रण गर्न असक्षम भएकाले ध्यान अन्यत्र मोड्न ट्रम्पले आप्रवासनसम्बन्धी नयाँ आदेश ल्याएको आरोप पनि लागेको छ।कोरोनाभाइरसबाट अमेरिका सर्वाधिक प्रभावित देश हो। त्यहाँ अहिलेसम्म ४६,००० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ र ८,४०,००० जनाभन्दा बढी सङ्क्रमित भइसकेका छन् । बीबीसी
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
