जनस्वास्थ्य सरोकार । नेपाल सरकारले मुलुकमा थप १० दिन देशव्यापी लकडाउन (बन्दाबन्दी) बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म लकडाउनको अवधि बढाउने निर्णय गरेको हो । सरकारले पछिल्लोपटक थपेको १० दिने लकडाउन बिहीबार अर्थात वैशाख २५ गते सकिँदै छ ।
मुलुकमा कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले चैत ११ गतेदेखि देशभरि लकडाउनलाई निरन्तरता दिइरहेको छ ।
सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो । त्यसगरी १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ सम्म पुर्याएको थियो । पछिल्लो पटक १० दिन थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो । यो समयमा अत्यावश्यकबाहेक अन्य काममा हिँडडुल र सवारीसाधन प्रयोग गर्न रोक लगाएको छ ।यसअघि नै सरकारले आगामी बुधवार (वैशाख ३१) सम्म अन्तर्राष्ट्रिय सीमा बन्द राख्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान आगामी जेठ २ गतेसम्म स्थगित गर्ने निर्णय गरिसकेको छ । छिमेकी मुलुक भारतले भने लकडाउनको अवधि बढाएर जेठ ४ गतेसम्म पुर्याइसकेको छ । अहिलेसम्म नेपालका सातमध्ये छ वटा प्रदेशमा कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन् । मुलकुमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । जसमध्ये ६१ जना पुरुष र २१ जना महिला रहेका छन् ।
८२ जनामध्ये प्रदेश नम्बर १ मा ३१, प्रदेश नम्बर २ मा १३, बागमति प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश नम्बर ५ मा २४, कर्णाली प्रदेशमा शुन्य र सुदुर पश्चिम प्रदेशमा ५ जना फेला परेका छन् । तिमध्ये २२ जना निको भएर घर फर्किएका छन् । उपचाररत ६६ जनामध्ये रुपन्देहीमा १, नेपालगञ्जमा २३, धनगढीमा १, भरतपुरमा १, बीरगञ्जमा ९ र बिराटनगरमा ३१ जनाको उपचार भइरहेको छ । उपचाररत संक्रमितहरुको स्वास्थ्यस्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।लकडाउन अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अत्यावश्यकबाहेक अन्य सेवा बन्द रहनेछन्। सरकारले घरबाहिर निस्किनेलाई थप कडाइ गरिने जनाएको छ । कोरोना संक्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले क्वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कडाइपूर्वक कारबाही गर्ने निर्णय यस अघि नै गरिसकेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

