जनस्वास्थ्य सरोकार, हेटौँडा । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै यस प्रदेशमा परीक्षणको दायरा बढाउन थालिएको छ । बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै परीक्षणको दायरा बढाउने काम भइरहेको बताउनुभयो ।
कोरोना रोकथाम र नियन्त्रण गर्न क्वारेन्टाइन र आइसोलेसनको शय्या सङ्ख्या र गुणस्तर वृद्धि एवं अन्य व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, विदेशबाट आएकाहरूको स्थानीयस्तरमा आरडीटी परीक्षणसँगै आरटी–पीसीआर परीक्षण हेटौँडा, भरतपुर, धुलिखेल र काठमाडौँ उपत्यकाका गरी आठवटा प्रयोगशालमा भइरहेको छ ।
बाग्मती प्रदेशमा गत जेठ ९ गतेसम्ममा सात हजार ७७५ स्वाबको नमुना पीसीआर विधिबाट परीक्षण गरिएकोमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमितको सङ्ख्या २८ रहेको थियो । यस्तै आरडीटी किटबाट २१ हजार ७१२ जनाको परीक्षण गरिएकोमा ४०६ जनाको पोजेटिभ रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी चार हजार ४३६ क्वारेन्टाइन शय्या सङ्ख्या रहेकोमा ३६७ जना बसेको, ९९५ आइसोलेसन शय्या रहेकोमा ४९ जना बसेको र होम क्वारेन्टाइनमा २८७ जना बसेका थिए । एक महिनाको अवधिमा प्रदेशका जिल्लाहरूमा सङ्क्रमित बढेर मङ्गलबारसम्ममा ३२९ सङ्ख्या पुगेको छ भने तीमध्ये निको भएर ८६ जना घर फर्किएका र २३९ जना उपचाररत छन् ।
उता स्वाब सङ्कलनका लागि प्रयोग हुने भीटीएम र कोरोना प्रयोगशालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न किटलगायतका स्वास्थ्य सामग्री अभावमा परीक्षण प्रभावित बन्दै गएको बताइएको छ ।
पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनको चापअनुसार तीव्र गतिमा प्रयोगशालामा परीक्षण हुनुपर्नेमा जनशक्ति र किट अभावलगायतका समस्याले परीक्षण रोकिने गरेको हो ।
सात जना निको भएर घर फर्किए
प्रदेश राजधानी रहेको मकवानपुरमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १८ पुगेको छ । सङ्क्रमतिमध्ये १२ जना उपचारपछि घर फर्किएका छन् ।
भारतबाट फर्किएका आठ र वैदेशिक रोजगारीका लागि गएर हवाइमार्ग हुँदै आएका तीन जना महिलामा कोरोना पुष्टि भएको छ । हवाइमार्ग हुँदै आएकाहरू काठमाडौँमा नै उपचाररत छन् ।
यस्तै मकवानपुरको थाहा नगरपालिका वीरगञ्जलाई कार्यक्षेत्र बनाएर कार्यरत पत्रकारमा कोरोना पुष्टि भएकोमा उपचारपछि घर फर्किएका छन् । जिल्लाका विभिन्न स्थानमा गरी ३५२ बेड रहेको क्वारेन्टाइनमा १०३ जना, ३५ बेड रहेको आइसोलेसनमा १३ जना र होम क्वारेन्टाइनमा ३०५ जना बस्दै आउनुभएको छ ।
मकवानपुरमा एक हजार ७४६ आरडीटी परीक्षण गरिएकोमा १८ जनामा पोजेटिभ र ८४९ स्वाबको नमुनाको पीसीआर परीक्षण गरिएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएकाहरूलाई पछिल्लो समयमा हेटौँडा–४ स्थित आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।
कोरोना जितेपछि दङ्ग
सिन्धुली जिल्लाका कोरोना सङ्क्रमित सात जनामध्ये तीन जना निको भएर दङ्ग हुँदै घर फर्किएका छन् ।
सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना भई उपचार गराइरहेका सङ्क्रमितमध्ये कोरोनालाई जितेर सोमबार तीन जना आफ्नो घर गएका उक्त अस्पतालले जनाएको छ ।
झन्डै २२ दिनको अस्पतालको बसाइपछि कोरोना जितेर डिस्चार्ज भएका तीनै जनालाई बेहुलाझैँ सिँगारेर अस्पतालले बिदाइ गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कमलामाई नगरपालिका ११ का १७ वर्षीय राजु गोले र कमालमाई नगरपालिका–१४ का २३ वर्षीय मनोज गदौली तथा तीनपाटन गाउँपालिका ३ का २५ वर्षीय चन्द्रबहादुर गोले रहनुभएको छ । एकजना सिन्धुली अस्पतालको आईसोलेसनमा उपचाररत रहेको बताइएको छ । उनीहरू भारतबाट फर्किएका हुन् ।
सिन्धुली जिल्लामा ४५५ वटा क्वारेन्टाइन बेड र ३३ वटा आईसोलेसन बेड रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा बसेर ३०४ जना र आइसोलेसनमा उपचार गरी १९ जना घर फर्किएका छन् ।
कोरोना मुक्त काभ्रे
काभ्रेपलाञ्चोक जिल्ला कोरोना मुक्त भएको छ । गत जेठ २३ गते कोरोना देखिएका पाँच जना नै गत शुक्रबार कोरोना मुक्त भएर घर फर्किएपछि काभ्रेपलाञ्चोक जिल्ला कोरोना मुक्त भएको हो ।
भारतबाट आएका चार र एक स्थानीय महिलामा कोरोना देखिएकोमा डिस्चार्ज भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
जिल्लामा अहिलेसम्म ८०७ बेडको क्वारेन्टाइन निर्माण भइसकेको काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार १३ वटै स्थानीय तहलाई सय बेडको क्वारेन्टाइन बनाउन भनिएको छ ।
त्यस्तै अहिलेसम्म जिल्लामा १३ बेडको मात्र आइसोलेसन वार्ड रहेको छ । स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जिल्लाका क्वारेन्टाइन नेपाल सरकारले तोकेको र स्वास्थ्य मन्त्रालयको विधिअनुसार बनेको दाबी गर्नुभयो । भारतलगायत तेस्रो मुलुकबाट २५० जनाभन्दा बढी जिल्लामा आएको स्वास्थ्य प्रमुख झाले जानकारी दिनुभयो । अहिलेसम्म दुई हजार २९५ जनाको आरडीटी र एक हजार १६९ जनाको आरडी पीसीआर परीक्षण भएको छ ।
दोलखामा कोरोना सङ्क्रमण छैन
हिमाली जिल्ला दोलखामा भने हालसम्म कोरोना सङ्क्रण भएको पाइएको छैन ।
लकडाउन सुरु भएयता एक हजार ३७७ जनाको आरडीटी र १८४ जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको नेगेटिभ आएसँगै जिल्लामा कोरोना सङ्क्रमण नदेखिएको हो ।
काठमाडौँलगायतका स्थानमा परीक्षण गरेका दोलखा घर भएका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो ।
जिल्लामा भारत लगायत तेस्रो मुलुकबाट करिब नौ सयको हाराहारीमा नागरिक भित्रिएका छन् । उनीहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।
हालसम्म ६८४ जना क्वारेन्टाइनमा बसेर घर फर्किसकेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय जिल्लाभित्र बसोबास गर्नेहरूका लागि आवतजावतमा खुकुलो बनाइए पनि जिल्ला प्रवेश र जिल्ला बाहिर जान कडाइ गरिएको छ ।
रसुवा कोरोनाविहीन जिल्ला
बाग्मती प्रदेशको एकमात्र रसुवा जिल्लाका हालसम्म कोरोना सङ्क्रमित भेटिएका छैनन् ।
जिल्लाका पाँचवटै गाउँपालिकामा ३६० बेड क्षमताको क्वारेन्टाइन तथा कालीका गाउँपालिकाको जिवजिवे ग्रामीण अस्पताल र गोसाइकुण्ड गाउँपालिकाको धुन्चेमा गरी ३५ बेडको आइसोलेसन कक्ष रहेको छ ।
स्वास्थ्य कार्यालय प्रमुख किरण श्रेष्ठका अनुसार हालसम्म आरडीटी परीक्षण ४१४ जनाको भएको छ । अहिले क्वारेन्टाइनमा ४३ जना रहेका छन् । ४९ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएकोमा ३२ जनाको परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । १७ जनाको परीक्षणका लागि पठाएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाइन राख्ने स्थानीय तहसँग समन्वय भएको प्रमुख जिल्ला अधिकारी हरि पन्तले बताउनुभयो ।
धादिङमा सङ्क्रमितको सङ्ख्या एक सय
जिल्लाका कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका अनुसार ७६ जनाको स्वाब परीक्षण गरिएकोमा ११८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
नीलकण्ठ नगरपालिकामा मात्रै कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ६० पुगेको छ । यस्तै ज्वालामुखी गाउँपालिकामा २७ र त्रिपुरासुन्दरी गाउँपालिकामा १८ जना रहेका छन् । कोरोना सङ्क्रमितमध्ये ३४ जना निको भएर घर फर्किएका छन् ।
जिल्लाभर क्वारेन्टाइन बेडको क्षमता एक हजार ३७६ रहेकोमा हाल १३ महिलासहित २४० जना बसिरहेका छन् । आइसोलेसन बेडको सङ्ख्या ३९ रहेकोमा आठ महिलासहित ८९ जना रहेको स्वास्थ्य कार्यालय धादिङका प्रवक्ता दीपक अछामीले जानकारी दिनुभएको छ ।
जिल्ला अस्पताललगायत अन्य पालिकामा रहेका क्वारेन्टाइनलाई व्यवस्थित बनाएर आइसोलेसनका रूपमा प्रयोगमा ल्याइएको छ । नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिकाले क्वारेन्टाइनलाई व्यवस्थित बनाएर आइसोलेसनका रूपमा प्रयोग गरिरहेका छन् ।
कोरोना सङ्क्रमितहरूलाई व्यवस्थित बेड, तातोपानीको लागि विद्युतीय जग, पर्सनल थर्मामिटर, स्वस्थ र तागतिला खाना, खाजाको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभएको छ । गोरखापत्र अनलाइनबाट
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

