जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा बुधबार(आज) रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी गरेको हो । कोभिड –१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै बुधबार राति १२ बजेदेखि यही भदौ १० गते लागू हुने गरी उक्त आदेश जारी गरिएको काठमाडौँका प्रजिअ जनकराज दाहालले जानकारी दिनुभयो । सङ्क्रमण रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम काठमाडौँ उपत्यकाभर लागु हुने गरी उक्त निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार बुधबारदेखि औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन नपाउने गरी १७ बुँदे निर्णय गरिएको छ । अत्यावश्यक सेवा तथा वस्तुबाहेक अन्य सबै प्रकारका व्यापारव्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ । जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन । कोभिड –१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको तस्वीरसहितको परिचयपत्रका आधारमा बिहान ९ देखि १०ः३० सम्म र बेलुका ३ देखि ५ः३० बजेसम्म आवागमन गर्न पाउने छन् । त्यसबाहेकका अन्य सवारी सञ्चालन गर्न पाइने छैन ।सवारी साधन सञ्चालनका लागि पूर्वअनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ । त्यस्ता अत्यावश्यक सवारीबाहेकका सवारी पनि सञ्चालन गर्न पाइने छैन । यस्तै बैठकले क्ुनै पनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न, सभाजुलूस गर्नसमेत निषेध गर्ने निर्णय गरेको छ । परम्परागत रुपमा र दैनिक रुपमा भइआएको र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेक सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालनमा रोक्ने यसअघिको निर्णयलाई कायमै राखिएको छ । यस्तै शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्यूसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिवधि रोक्ने निर्णयलाई पनि कायमै राखिएको छ । प्राप्त जानकारीअनुसार फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन, होटल, रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र सो सम्भव नभएमा न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्ने निर्णयमा उल्लेख छ ।
अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने छ । हवाई उडानबाट विदेश जानेहरुका हकमा राहदानी, प्रवेशाज्ञा, कन्फर्म हवाई टिकट हुनेहरु सीधै विमानस्थल जाने सवारी साधनका हकमा भने सहजीकरण गरिने जनाइएको छ ।अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेमाथि कडा कारवाही गरिने छ । उक्त आदेशको उल्लङ्घन भएमा वा आदेशको पालना गर्ने गराउने काममा अवरोध भएमा जोसुकैलाई पनि प्रचलित कानूनअनुसार कारवाही गरिने जनाइएको छ । मुलुकमा मंगलबार मात्रै एक हजार १६ जनामा कोभिड १९ देखिएको थियो भने काठमाडौँ उपत्यकामा २०५ जना सङ्क्रमित फेला परेका थिए । पछिल्लो समयमा मुलुकभर सङ्क्रमण बढ्दो छ । दैनिक मृत्युको ग्राफसमेत बढिरहेको छ । विभिन्न जिल्लाले समेत निषेधको आदेश जारी गरी कार्यान्वयन गरेका छन् । रासस
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय
मंगलबार, असार ३०, २०८३
कर्णालीमा निःशुल्क मृर्गौला प्रत्यारोपण
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
