नेभिगेशन

वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त

नेपाल हेल्थ न्युज, चितवन । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा वरिष्ठ कन्सल्टेन्ट चिकित्सक डा. विजयचन्द्र आचार्य नियुक्त हुनुभएको छ।

अस्पताल सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले डा. आचार्यलाई अस्पतालको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको खुला विज्ञापनमा आवेदन दिनुभएका सात जना उम्मेदवारमध्ये छनोट तथा सिफारिस समितिले गर्नुभएको सिफारिसका आधारमा उहाँलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

डा. आचार्यसँगै डा. अजयकुमार झा, डा. उमेश नेपाल, डा. कृष्ण सागर शर्मा, डा. गुरुशरण साह, डा. प्रदीप थापा र डा. रञ्जन भक्त भण्डारी अन्तर्वार्ताका लागि छनोट हुनुभएको थियो।

अस्पतालमै कार्यरत रहनुभएका वरिष्ठ कन्सल्टेन्ट डा. आचार्य यसअघि पनि एकपटक अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँको चिकित्सकीय अनुभव तथा संस्थागत कार्यअनुभवलाई अस्पतालको नेतृत्वका लागि महत्त्वपूर्ण पक्षका रूपमा लिन सकिन्छ।

अस्पतालको कार्यकारी निर्देशकको कार्यकाल तीन वर्षको रहने व्यवस्था छ। गत वैशाखमा अध्यादेशमार्फत तत्कालीन कार्यकारी निर्देशक डा. शिवजी पौडेल पदमुक्त हुनुभएपछि अस्पताल निमित्त नेतृत्वको भरमा सञ्चालन हुँदै आएको थियो।

डा. आचार्यको नियुक्तिसँगै अस्पतालको नेतृत्वले पूर्णता पाएको छ। उहाँको नेतृत्वमा अस्पतालको सेवा प्रवाह, व्यवस्थापकीय प्रभावकारिता तथा क्यान्सर उपचार सेवालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट