जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि व्यवस्था विभागमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका तीन देशका कम्पनीले खोप दर्ताका लागि निवेदन परेको छ । हालसम्म भारत, चीन र रुसका कम्पनीले निवेदन दर्ता गराएका छन् ।
एक कम्पनीको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको र दुई देशका कम्पनीसँग थप कागजात माग गरिएको छ । औषधि व्यवस्था विभागमा चिनियाँ कम्पनी सिनोफामले उत्पादन गरेको खोप दर्ताका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
यसैगरी रुसले उत्पादन गरेको स्पुतानिक भी र भारतीय कम्पनी भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनका लागि विभागमा निवेदन दर्ता भएको बताइएको छ ।
विभागले पुस २९ गते सूचना जारी गर्दै खोप प्राप्त गर्न चाहने उत्पादक वा आधिकारिक आयातकर्ताले उत्पादकका तर्फबाट आवश्यक कागजात सहितको विवरण खुलाई आपतकालीन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सुचित गरेको थियो ।
सरकारले कोभिड विरुद्धको औषधि तथा खोपको आपतकालीन प्रयोगका लागि औषधि ऐन, २०३५ को (तेस्रो संशोधन) अध्यादेश समेत जारी गरेको थियो । हालसम्म विभागमा कोभिसिल्ड नामक खोप मात्रै दर्ता भएको छ । जुन खोप हाल नेपालमा प्रयोगमा आइरहेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


