नेभिगेशन
न्युरो अस्पताल बाँसबारीमा दोस्रो आईएसयुबिइ सम्मेलन 

नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको  केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी

६० जना विदेशी तथा ५ जना नेपाली न्युरो र स्पाइन सर्जनलाई तालिम, न्युरो तथा स्पाइन सर्जरीसम्बन्धी सैद्धान्तिक ज्ञान,  प्रत्यक्ष शल्यक्रिया प्रदर्शन तथा स्किल्स ल्याबमा शवमा आधारित व्यवहारिक शल्यक्रिया तालिम  

नेपाल हेल्थ न्युज, काठमाडौं । उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल), बाँसबारीमा दोस्रो इन्टरनेशनल सोसाइटी अफ युनिल्याटरल वाइपोर्टल इन्डोस्कोपी (आईएसयुबिई)   सम्मेलन आजदेखि शुरु भएको छ ।

 

न्युरो अस्पताललले इन्टरनेशनल सोसाइटी अफ युनिल्याटरल वाइपोर्टल इन्डोस्कोपी (आईएसयुबिई) ले सन् २०२५ सेप्टेम्बरदेखि युनिल्याटरल वाइपोर्टल इन्डोस्कोपी (युबिई) तालिमका लागि ‘सेन्टर अफ एक्सिलेन्स’ का रूपमा मान्यता प्राप्त गरेपछि हालसम्म अस्पतालले यस क्षेत्रमा ६० जना विदेशी तथा ५ जना नेपाली न्युरो र स्पाइन सर्जनलाई तालिम दिइसकेको अस्पतालकी अध्यक्ष डा. मधु दक्षित देवकोटाले जानकारी दिनुभयो । 


नेपालमा अगस्ट २७ देखि २९, २०२६ सम्म दोस्रो आईएयुबिई सम्मेलन तथा पहिलो   एसएसइए च्याप्टर सम्मेलन आयोजना भएको हो । न्युरोसर्जरी तथा स्पाइन सर्जरीसम्बन्धी सैद्धान्तिक ज्ञान, संकाय सदस्यद्वारा प्रत्यक्ष शल्यक्रिया प्रदर्शन तथा स्किल्स ल्याबमा शवमा आधारित व्यवहारिक शल्यक्रिया तालिम  (क्याडाभेरिक डिसेक्सन ट्रेनिङ) सञ्चालन भइरहेको छ ।  

सम्मेलनले युबिई प्रविधिमा कार्यरत तथा रुचि राख्ने विशेषज्ञहरूबीच नयाँ प्रविधि, उपचार विधि र व्यावहारिक सीप आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ । नेपाललाई  युबिई प्रविधिको तालिम तथा ज्ञान आदानप्रदानको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न सम्मेलनले थप योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

‘युबिई प्रविधिले स्पाइनल सर्जरीमा परिवर्तन ल्याएको छ’
पाकिस्तानका कन्सल्टेन्ट ब्रेन एण्ड स्पाइन सर्जन डा. मुहम्मद असद जावेदले युनिल्याटरल बाइपोर्टल एन्डोस्कोपी युबिई) प्रविधिले स्पाइनल सर्जरीमा ठूलो परिवर्तन ल्याएको बताउनुभएको छ । युबिईसम्बन्धी ह्यान्ड्स–अन प्रशिक्षणमा सहभागी हुन नेपाल आएका डा. जावेदले यसअघि पनि जनवरीमा नेपाल आएर डा. निकुञ्ज योगीबाट युबिई प्रविधिको प्रशिक्षण लिएको बताउनुभयो । 

तालिम लिएर पाकिस्तान फर्किएपछि आफूले २०० भन्दा बढी युबिई शल्यक्रिया गरिसकेको उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार परम्परागत स्पाइनल सर्जरीमा ठूलो चिरा लगाउनुपर्ने र तन्तुमा बढी क्षति हुने भएकाले बिरामीलाई लामो समय अस्पताल वा बेडमै आराम गर्नुपर्ने अवस्था थियो । तर युबिई प्रविधिले न्यून चिरफारमार्फत शल्यक्रिया गर्न सकिने भएकाले बिरामीको उपचारपछि रिकभरी पनि छिटो भएको उहाँको भनाइ छ ।

‘युबिईले स्पाइनल सर्जरीलाई पूर्ण रूपमा परिवर्तन गरिरहेको छ । यसमा शरीरका अन्य तन्तुमा हुने क्षति कम हुन्छ’—डा. जावेदले भन्नुभयो । 
jabed-1-1787826407.jpeg
उहाँका अनुसार युबिई प्रविधिमा शरीरको प्राकृतिक बाटो प्रयोग गरेर स्नायुमा दबाब दिइरहेको समस्या पहिचान गरी आवश्यक तन्तु हटाउन सकिन्छ । यसबाट ढाडको दुखाइ तथा खुट्टातर्फ फैलिने दुखाइको उपचार गर्न सहज हुने गर्छ ।

‘यो प्रविधिमा तन्तुको क्षति निकै कम हुन्छ। कतिपय अवस्थामा शल्यक्रिया गरेको करिब तीन घण्टामै बिरामी घर जान सक्ने अवस्था हुन्छ’— उहाँले भन्नुभयो ।

डा.निकुञ्जले यो प्रविधिलाई अगाडि बढाइरहनुभएको मात्र छैन, विश्वका विभिन्न देशका चिकित्सकलाई पनि यो नयाँ प्रविधि सिकाइरहनुभएको छ’ —डा. जावेदले भन्नुभयो ।
 


नेपालमा न्युरोसर्जरीको इतिहासलाई अन्तर्राष्ट्रिय तहमा विस्तार गर्ने क्रममा उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेजले युनिल्याटरल बाइपोर्टल इन्डोस्कोपी (युबिई) प्रविधिको अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गर्दै गएको छ ।


न्युरोसर्जरीका अग्रणी प्रा.डा. उपेन्द्र देवकोटाले नेपालमा सुरु गरेको न्युरोसर्जरीको यात्राले अहिले नयाँ पुस्ताका न्युरोसर्जनमार्फत अर्को चरण प्रवेश गरेको अस्पतालकी कार्यकारी अध्यक्ष प्रा. डा. मधु दीक्षित देवकोटाले बताउनुभयो ।
प्रा.डा. देवकोटाले बेलायतबाट न्युरोसर्जरीको तालिम लिएर नेपाल फर्किएपछि सीमित स्रोतसाधनका बीच वीर अस्पतालबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको स्मरण गर्नुभयो । उहाँका अनुसार डा. देवकोटाले नेपालमा न्युरोसर्जरीलाई संस्थागत गर्न मात्र नभई नयाँ पुस्ताका दक्ष न्युरोसर्जन उत्पादन गर्ने लक्ष्यसमेत अघि सार्नुुभएको थियो । 


‘जस्तोसुकै कठिन परिस्थितिमा पनि काम रोकिनु हुँदैन भन्ने उहाँको सोच थियो । उहाँ सधैँ ‘द सो मस्ट गो अन ’ भन्नुहुन्थ्यो,” प्रा. डा. देवकोटाले भन्नुभयो । 

उहाँका अनुसार प्रा.डा. देवकोटाको निरन्तर प्रयासकै परिणामस्वरूप नेपालमा दक्षिण एसियाली तहको न्युरोसर्जिकल सम्मेलन आयोजना भयो र त्यसबाट दक्षिण एसियाली न्युरोसर्जिकल सोसाइटी निर्माणको आधार तयार भयो । उक्त संस्थाको संस्थापक अध्यक्षका रूपमा डा. देवकोटालाई चयन गरिएको स्मरण गर्दै उहाँले नेपालको न्युरोसर्जरीले त्यही विरासतलाई अहिले अन्तर्राष्ट्रिय तहमा अघि बढाइरहेको जानकारी गराउनुभयो । 

युबिईमा नेपाललाई अन्तर्राष्ट्रिय मान्यता

नेपालमा पछिल्लो समय विकास हुँदै गएको युबिई प्रविधिले अब अन्तर्राष्ट्रिय स्तरमै प्रशिक्षण र ज्ञान आदान–प्रदानको अवसर सिर्जना गरेको छ ।

प्रा. डा. देवकोटाका अनुसार अन्तर्राष्ट्रिय युबिई सोसाइटीले नेपाललाई युबिई ट्रेनिङ सेन्टर अफ एक्सलेन्स का रूपमा छनोट गरेको छ । यसलाई नेपाली न्युरोसर्जनले पछिल्लो दशकमा गरेको मेहनतको अन्तर्राष्ट्रिय सम्मानका रूपमा हेरिएको छ । 


यससँगै न्युरोसर्जन डा. निकुञ्ज योगीलाई अन्तर्राष्ट्रिय युबिई सोसाइटीको साउथ एण्ड साउथइष्ट एसिया च्याप्टरको संस्थापक अध्यक्षका रूपमा जिम्मेवारी दिइएको छ  । 
‘हामी पहिलेदेखि नै अन्तर्राष्ट्रिय सोसाइटीमा सदस्य भइरहेका थियौँ । तर यसरी संस्थापक तहको जिम्मेवारी पाउनु नेपाली न्युरोसर्जनले युबिई प्रविधिको विकास र विस्तारमा गरेको मेहनतको परिणाम हो’—उहाँले भन्नुभयो । 

१२औँ ‘ह्यान्ड्स–अन’ तालिम
न्युरो अस्पतालमा आयोजना भइरहेको युबिई को यो १२औँ ह्यान्ड्स–अन प्रशिक्षण हो । प्रशिक्षणमा सहभागी चिकित्सकलाई सुरुमा ढाडको संरचना तथा शल्यक्रियासँग सम्बन्धित एनाटोमीबारे सैद्धान्तिक ज्ञान दिइन्छ । त्यसपछि मोडल तथा मानव क्याडाभरमा प्रत्यक्ष अभ्यास गराइन्छ ।

प्रा. डा. देवकोटाका अनुसार तालिम लिएर आफ्ना देश फर्किएका कतिपय चिकित्सकले त्यहाँ युबिई सेवा सुरु गरिरहेका छन् । यसपटक पनि विभिन्न देशका करिब २० जना चिकित्सक प्रशिक्षणमा सहभागी भएका छन् । 

‘यहाँ तालिम लिएर फर्किएका चिकित्सकले आफ्नो देशमा सेवा सुरु गरेका छन् । उनीहरूले फेरि आफ्ना साथीहरूलाई नेपालमा तालिमका लागि पठाइरहेका छन् । यो हाम्रो लागि ठूलो उपलब्धि हो’— उहाँले भन्नुभयो ।

‘बिरामीको दुखाइ कम गर्नु नै मुख्य उद्देश्य’

इन्डोस्कोपी एण्ड स्पाइन सोसाइटी अफ नेपालका अध्यक्ष तथा वरिष्ठ न्युरोसर्जन डा. बालगोपाल कर्माचार्यले युबिई प्रविधिको विस्तारको मुख्य उद्देश्य बिरामीलाई कम जोखिम र कम पीडामा प्रभावकारी उपचार उपलब्ध गराउनु रहेको बताउनुभयो ।

उहाँले आफ्नो न्युरोसर्जरीको यात्रा नै डा. उपेन्द्र देवकोटाबाट प्रभावित भएको स्मरण गर्दै विद्यार्थी जीवनमै डा. देवकोटाको कामबाट प्रभावित भएको र पछि मेडिकल अफिसर तथा एमएस अध्ययनका क्रममा उहाँसँग काम गर्ने अवसर पाएको जानकारी गराउनुभयो ।

पोखरामा कार्यरत रहँदा ढाडको शल्यक्रियामा इन्डोस्कोपिक प्रविधिको आवश्यकता महसुस भएपछि आफूले भारतमा तालिम लिएर सेवा सुरु गरेको र पछि डा. निकुञ्ज योगीसँग मिलेर पोखरामा युबिई सेवा अघि बढाएका,े साथै अहिले सो प्रविधिलाई अझ व्यापक रूपमा विस्तार गर्ने काम भइरहेको बताउनुभयो ।।

‘सरले हामीलाई सधैँ भन्नुहुन्थ्यो—खाली काम गरेर मात्र हुँदैन, नयाँ पुस्ताका सर्जन उत्पादन गर्नुपर्छ । हामी उहाँकै मार्गदर्शनअनुसार अगाडि बढिरहेका छौँ,’—डा. कर्माचार्यले भन्नुभयो ।

ढाडको शल्यक्रियाबारे भ्रम चिर्दै नयाँ प्रविधि
नेपालमा ढाडको शल्यक्रियाबारे अझै पनि विभिन्न भ्रम रहेको डा. कर्माचार्यको भनाइ छ। शल्यक्रिया गरे पक्षाघात हुन्छ, सकेसम्म अपरेसन गर्नु हुँदैन भन्ने धारणा कतिपय बिरामीमा रहेको छ ।

तर आधुनिक इन्डोस्कोपिक प्रविधिले उपचारलाई कम चिरफारमा गर्न सकिने, अस्पतालमा बस्नुपर्ने समय घटाउन सकिने र बिरामीको असहजता तथा जटिलता कम गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

‘टेक्नोलोजी सुधार हुँदै जाँदा दूरबिनबाट गरिने शल्यक्रियाले बिरामीको दुखाइ कम गर्न र अस्पताल बसाइ छोट्याउन सहयोग गर्छ,— उहाँले भन्नुभयो ।

उहाँका अनुसार, युबिई  सम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षणले नेपालमा नयाँ प्रविधि भित्र्याउने मात्र होइन, बिरामीका लागि उपलब्ध उपचारको गुणस्तर सुधार गर्न पनि सहयोग पु¥याउँछ ।

भारतबाट सिक्न गएका चिकित्सक, अहिले नेपालमै सिकाउन थाले

नेपालमा युबिई सेवा सुरु गर्ने क्रममा नेपाली चिकित्सक आफैँ विदेश गएर तालिम लिनुपरेको डा. कर्माचार्यले बताउनुभयो । तर अहिले अवस्था परिवर्तन भएको छ ।

भारत, पाकिस्तान, बंगलादेश, मलेसिया, थाइल्यान्ड र उज्बेकिस्तानलगायत विभिन्न देशका चिकित्सक नेपालमै आएर युबिई प्रविधिको प्रशिक्षण लिन थालेका छन् ।

यसलाई उहाँले दुईतर्फी ज्ञान र प्रविधि आदान–प्रदानका रूपमा व्याख्या गर्नुभयो ।

‘हामी सेवा नहुँदा भारत गएर सिक्यौँ। अहिले दक्षिण भारतलगायत विभिन्न देशबाट चिकित्सक नेपाल आएर सिक्दै हुनुहुन्छ । हामी उहाँहरूलाई सिकाउँछौँ, उहाँहरूबाट पनि सिक्छौँ । अन्ततः हामीले सिकेको ज्ञान बिरामीकै उपचारमा लागू हुन्छ’— उहाँले भन्नुभयो ।

नेपालका लागि अन्तर्राष्ट्रिय ‘रेफरेन्स सेन्टर’ बन्ने अवसर
नेपालमा आयोजना भइरहेको युबिईको अन्तर्राष्ट्रिय प्रशिक्षणले देशको न्युरोसर्जरी क्षेत्रलाई विश्व समुदायसँग जोड्ने अवसरसमेत दिएको चिकित्सकहरूको भनाइ छ ।

विदेशी चिकित्सक नेपाल आएर नेपाली न्युरोसर्जनबाट प्रशिक्षण लिनुले नेपालमा यो प्रविधिको विकास भएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुग्नुका साथै नेपाली चिकित्सकलाई पनि विश्वका विभिन्न देशका विशेषज्ञसँग प्रत्यक्ष ज्ञान आदान–प्रदान गर्ने अवसर मिलेको छ ।

डा. उपेन्द्र देवकोटाले रोपेको न्युरोसर्जरीको बीउ अहिले नयाँ पुस्ताका चिकित्सकमार्फत अन्तर्राष्ट्रिय तहमा फैलिँदै गएको छ । ‘प्रोफेसर नभइसकेपछि पनि उहाँका चेलाहरूले त्यही गरी काम गरेर पछिल्लो दशकमा यो संस्थालाई विश्व समुदायसामु सम्मानित स्थानमा पु¥याउन सफल हुनुभएको छ। यसमा मलाई सधैँ गर्व लाग्छ’—उहाँले भन्नुभयो ।

नेपालमा सुरु भएको न्युरोसर्जरीको यात्रा अब उपचारमा मात्र सीमित छैन । नयाँ प्रविधि, अन्तर्राष्ट्रिय तालिम र ज्ञान आदान–प्रदानमार्फत नेपाल आफैँ विशेषज्ञ उत्पादन र प्रशिक्षण दिने केन्द्र बन्ने दिशामा अघि बढिरहेको छ । युबिईको अन्तर्राष्ट्रिय प्रशिक्षणले त्यस यात्रालाई थप बल दिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष