
हरेकले जीवनमा रिङ्गटाको अनुभव गरेको हुन्छ । मेडिकल भाषामा रिङ्गटालाई भर्टिगो भनिन्छ । यो रोग होइन । तर रोगको लक्षण हो । रिङ्गटाका आआफ्नै परिभाषाहरु छन् । आफ्नो वरिपरिका चिजहरु फनफनी घुमेको अनुभवलाई रिङ्गटा भन्छन् । कोहीले आफू घुमेको अनुभवलाई रिङ्गटा भन्छन् । कसैले टाउको भारी हुने, झुम्म हुने अनुभवलाई रिङ्गटा भन्छन् । कोहीले हिँड्दा धङ्गधङ्ग हुने, खुट्टा सिधा नटेकेको जस्तो लाग्ने अनुभवलाई रिङ्गटा भन्ने गर्दछन् । कसैले बसेको ठाउँबाट उठ्दा आँखा अगाडि कालो अँध्यारो आँखा नदेखेको जस्तो अनुभवलाई रिङ्गटा भन्छन् । कतिले सुत्न खोज्दा अथवा सुतेको ठाउँबाट उठ्न खोज्दा अथवा सुतेको ठाउँमा दायाँ बायाँ कोल्टे फर्कंदा एकछिन फनफनी घुमेको अनुभवलाई रिङ्गटा भन्छन् । यी सवै अनुभवहरु फरक फरक रोगमा हुन्छन् ।
रिङ्गटा किन लाग्छ ?
सामान्यत शरीर कसरी सन्तुलित र स्थिर भएर बस्छ भन्ने कुरा बुझ्नुपर्छ । आँखा, कान र मांशपेशी तथा जोर्नीहरुबाट शरीरको जानकारी दिमागमा पुग्छ । दिमागले बुझ्छ, मिलाउँछ र परिस्कृत गर्छ । ति परिस्कृत जानकारीहरुलाई पुनः आँखा, कान र मांशपेशी तथा जोर्नीहरुमा पठाउँछ ।
यसरी शरीर सन्तुलत राख्ने अंगहरुमा समस्या आएमा रिङ्गटा लाग्छ । साथै मुटु र मानसिक समस्यामा पनि रिङ्गटा लाग्नसक्छ । कानको समस्याबाट हुने रिङ्गटाको संख्या अरु कारणबाट हुने रिङ्गटाको संख्या भन्दा धेरै भएको तथ्यांकबाट देखिन्छ । समस्याको पूर्ण जानकारीले ८० प्रतिशत बिरामीको रिङ्गटाको कारण पत्ता लगाउन सकिन्छ ।
मुटुको पल्स, ब्लड प्रेसर, सिटी स्क्यान गरेर पनि रिङ्गटाको कारण पत्ता लगाउन मद्दत गर्छ । टेष्टहरु सामान्य भएमा भेस्टिबुलटर प्रणाली निर्धारण परीक्षणहरु गर्नुपर्छ । यसबाट स्थिरता कायम राख्न मद्दत गर्ने सिस्टममध्ये भित्री कान, आँखा र मस्तिष्कसँगको तालमेल ठीक भए नभएको पहिचान हुन्छ । रिङ्गटा लागेका अधिकांश बिरामी धेरै डाक्टरकोमा चाहर्छन् । रिपोर्ट ठीक भएर पनि समस्या ठीक नभएको महसुस गर्छन् । कतिपयले लामो समयदेखि रिङ्गटा नलाग्ने औषधि सेवन गरिरहेका हुन्छन् । लामो समयसम्म रिङ्गटा नियन्त्रण गर्ने औषधि सेवन गर्नाले शरीरलाई स्थिर राख्ने संयन्त्रहरु कमजोर हुँदै जान्छन् । त्यसैले रिङ्गटाको कारण पहिचान गरी सही उपचार गर्नुपर्दछ । (लेखक त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत हुनुहुन्छ ।)
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


