
जनस्वास्थ्य सरोकार, दैलेख । नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।
ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार करीब १५०, सोमबार करीब १०० र मङ्गलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।
विद्यार्थी बिरामीले ग्रसित भएको खबर जल्ला अस्पताल दैलेखमा पुगेपछि डा विवेक गुरुङको टोली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताउनुभयो ।
विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्ने समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको रेग्मीले जानकारी दिनुभयो । बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिनुभएका डा गुरुङले जानकारी दिनुभयो । यो अन्य कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ । हाल सबै बिरामीलाई औषधि दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै डा गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिनु नपर्ने बताउनुभयो ।
सयौंँ विद्यार्थी दुई दिनदेखि बिरामी पर्दा निकै चिन्तित भएको स्थानीयवासी यामराज कटुवालले बताउनुभयो । विद्यार्थी मात्र नभई नारायण – ५ छातीकोटका धेरैजसो घरमा बिरामी परेको जनाइएको छ । टोलमा धेरै बिरामी परेको खबर पाएपछि अहिले स्थानीय स्वास्थ्यचौकीमा बिरामीको भीड लाग्ने गरेको स्वास्थ्यचौकी प्रमुख षडानन्द शर्माले बताउनुभयो । रासस
कङ्गोमा इबोला प्रकोप: मृत्यु हुनेको संख्या ६४८ पुग्यो, १,८३० संक्रमित
आइतबार, असार २८, २०८३
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
आइतबार, असार २८, २०८३
अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल
आइतबार, असार २८, २०८३
चिकित्सा शिक्षा आयोगका चार निर्देशकका लागि दरखास्त आह्वान
शुक्रबार, असार २६, २०८३
