नेभिगेशन

विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए

नेपाल हेल्थ न्युज, काठमाडौं । विपद्का समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न विषयगत क्षेत्रका लागि फोकल पर्सन तोकेको छ।

स्वास्थ्य आपतकालीन अवस्थाको समग्र समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसीका) प्रमुख डा. हेमन्त चन्द्र ओझालाई जिम्मेवारी दिइएको छ। आपतकालीन मेडिकल टोली तथा मानव स्रोत परिचालनका लागि (एचईओसी) सँगको समन्वयमा डा. रोशन न्यौपानेलाई फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, प्रदेशस्तरीय समन्वयका लागि स्वास्थ्य सेवा विभागबाट डा. फणिन्द्र प्रसाद बराल तथा मन्त्रालयबाट डा. समीर कुमार अधिकारीलाई जिम्मेवारी दिइएको छ।

घटनास्थलमा संघीय टोली परिचालनका लागि रसुवामा डा. प्रकाश ज्ञवाली र शंकर कँडेल तथा नुवाकोटमा डा. प्रशान्त नापित र प्रवीण कार्कीलाई जिम्मेवारी तोकिएको छ।

सम्भावित महामारीको जोखिम न्यूनीकरण, पूर्वतयारी, निगरानी तथा आवश्यक प्रतिकार्यका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. अमृत पोखरेललाई फोकल पर्सन तोकिएको छ।

यसैबीच, विपद्का समयमा सर्वसाधारण, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबीच आवश्यक सहयोग तथा समन्वयलाई सहज बनाउन मन्त्रालयले ‘विपद् स्वास्थ्य सहयोग समन्वय’ प्रणाली सञ्चालनमा ल्याएको छ।

उक्त प्रणालीमार्फत उपचार, औषधि वा अन्य स्वास्थ्य सहयोगका लागि अनुरोध गर्न सकिनेछ। त्यसैगरी, स्वास्थ्यकर्मीले स्वयंसेवाका लागि आफ्नो विवरण दर्ता गर्न तथा स्वास्थ्य संस्थाले मेडिकल टिम, औषधि वा उपकरण सहयोगको प्रस्ताव राख्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रणालीमा help.mohp.gov.np मार्फत पहुँच लिन सकिनेछ।

विपद्का समयमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्न चाहने व्यक्ति तथा निकायले मन्त्रालयले तोकेको प्राथमिकताअनुसार सामग्री उपलब्ध गराउन सक्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट