
जनस्वास्थ्य सरोकार । वरिष्ठ प्रजनन् एवं आईभिएफ स्पेशलिष्ट डा. सविना श्रेष्ठ प्रधान १९ वर्षदेखि प्रजनन एवं आईभिएफको क्षेत्रमा निरन्तर सेवारत हुनुहुन्छ । सन् २००३ मा रजिस्ट्रारको रुपमा चावहिलस्थित ओम अस्पतालबाट उहाँको प्रजनन विधामा करियर शुरु भएको हो । झण्डै १८ वर्ष अघि संरचना बनेपनि अस्पतालमा आईभिएफ सेवा सञ्चालनमा आएको थिएन । बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको टेष्ट ट्युव वेवी सेन्टर बनाउने ठूलो सपना थियो । तर त्यतिबेला डा. सबिनालाई प्रजनन क्षेत्र भन्दा स्त्री क्यान्सरतिर बढी रुचि थियो । त्यसैले डा. रिजालसँग काम गर्ने योजना एवं मनसाय थिएन । तर संयोग, डा. सबिना र डा. रिजालबीच सहकार्य हुन पुग्यो । निसन्तान दम्पत्तिको समस्याले मन छोयो । त्यसपछि उहाँको करियर मोडियो । निःसन्तानको क्षेत्रमा सेवा दिने अठोट बढ्यो । डा. रिजाल व्यस्त हुने भएकाले डा. सबिनाले टेस्टट्युव सम्बन्धि सबै जिम्मेवारी काँधमा आइपुग्यो । भारतीय चिकित्सकसँग परामर्श गर्ने, इन्टरनेटबाट पनि निसन्तानको समस्याबारे विभिन्न अध्ययन अनुसन्धान गर्न थाल्नु भयो । सन् २००४ को जुलाइमा उहाँमा सफलता सहित उत्साह जाग्यो । यस बेला अस्पतालमा आइभिएफ प्रविधिबाट सफल टेष्टट्युब बेबीको जन्म भयो । ती पहिलो टेष्टट्युब बेबीको नाम ओममणि तमाङ हो । हाल उनी १७ वर्षका लक्का जवान भइसकेका छन् । बिगतदेखि बिस्तारै आफूलाई अपडेट गर्दैै कुशल टिममा बसेर डा. सबिनाले सामान्यदेखि आईयुआई र आईभिएफसम्म गरी धेरैलाई सन्तान सुख दिन सफल हुनुभएको छ । उहाँ नेपालको पहिलो इम्ब्रियोलोजिष्ट पनि हो । यसै सन्दर्भमा निःसन्तान उपचारसम्बन्धि जानकारी उहाँको आफ्नै शव्दमा..
स्मरणीय घटना
एकजना दम्पत्तिको पटक पटक कोशिस गर्दा पनि गर्भ बसेन । बच्चा नबसेपछि परिवारले अन्तिम पटक टेस्ट्युब गरिदिने निर्णय गरेका रहेछन् । परिवारका सदस्यले टेस्ट्युब सफल भएपनि नभएपनि डिभोर्स पेपरमा साइन गर्न महिलालाई दवाव दिएका रहेछन् । केटापक्षको परिवारले बिहे गर्न अर्की केटी खोजेर ठिक पारिसकेको रहेछ । यस्तो अवस्थामा ती महिलालाइ कति तनाव भएको होला भन्ने कल्पना पनि गर्न सकिनँ । उनको श्रीमान र सासुलाई सँगै राखेर परामर्श दिएको थिएँ ।
यद्यपी अर्को बिहे गर्दैमा बच्चा हुन्छ भन्ने हुँदैन । यसरी महिलालाई तनाव दिँदा बच्चा हुने सम्भावना झन् कम भएर जान्छ ।
निःसन्तान उपचार कथा
निःसन्तानका हातको पानी चल्दैन वा उनीहरूबाट पितृहरू पनि विमुख हुन्छन् भन्ने अन्धविश्वासी परम्परा हाम्रो समाजमा यदाकदा विद्यमान छ । यद्यपि त्यो पूर्णतः गलत कुरा हो । निःसन्तान हुनुको विभिन्न कारण छ । यसको निक्र्याेल गर्नु जरुरी हुन्छ । छोराछोरी नभए पनि मानिसले सुखमय जीवन बिताउन सक्छन् ।

कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ । युवाहरू विवाह गर्नासाथ रोजगारीका लागि विदेशिएका हुन्छन् । विदेशमा उच्च तापक्रममा काम गर्नेहरुको शुक्रकीट उत्पादनमा ५० प्रतिशतसम्म कमी हुनसक्छ । उच्च तापक्रमका कारण दुई महिनाको बिदामा आएको समयमा घरपरिवारबाट बच्चा पाउने दबाब हुन्छ । छोटो समयमै सन्तानको इच्छाका कारण तनावमा परेर उनीहरूले सन्तान जन्माउन सकेका हुँदैनन् । शुक्रक्रिट सामान्य अवस्थामा आउन कम्तिमा पनि ३—४ महिना लाग्छ । श्रीमान् श्रीमती दुवैमा कुनै खरावी नभए पनि तनावका कारण समस्या उत्पन्न हुन्छ । कतिपयले उपचारका क्रममा भन्ने गरेको पाइन्छ–‘विवाह गरेको ४–५ वर्ष भयो, सन्तान भएको छैन ।’
मुलुकमा उपचारका विश्वस्तरीय प्रविधिहरु भित्रिएको छ । जसका कारण निःसन्तान उपचारले सफलता प्राप्त गरिरहेको छ । चिकित्सा विधामा हरेक पटक नयाँ जानकारी आइरहेको हुन्छ । त्यसैले आफूलाई नियमित अपडेट गराइरहनुपर्छ । शुरुका दिनहरुमा त आइभिएफ फेलियर हुँदा निःसन्तान दम्पत्तिसँग धेरैपटक रोएकी छु । सफलता प्राप्त गर्न थप अनुसन्धानहरु गर्दै जानुपर्छ ।
कामको तनाव, अस्वस्थ्यकर खानपान, हर्मोनल परिवर्तन, मोटोपना, ढिला विवाह, करियरको चक्करमा ढिला सन्तान जन्माउने आदि कारणले शुक्रकिट र अण्डाको उत्पादनमा कमी आइरहेको छ । संसारभर नै शुक्रकिट काउन्टको मोर्टालिटी घट्दै गइरहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २० मिलियन भन्दा कम शुक्रकिट भएको पुरुषमा निःसन्तानको समस्या हुने बताएको छ । नेपालमा अहिले पनि श्रीमानमा समस्या देखिएमा उपचार गराउने प्रचलन छैन । महिलालाई नै धेरै दोष दिने संस्कार छ । क्षयरोगले पाठेघर र फालोपियन ट्युवलाई सबैभन्दा बढी हानी पुर्याउँछ र महिलामा बाँझोपनको समस्या निम्त्याउनसक्छ । संसारमा टेष्ट ट्युवको आविष्कार पनि ट्युव ब्लककै कारण भएको हो । हामीले सही व्यक्तिलाई सही सल्लाह र परामर्श दिनुपर्छ । सन्तान नभएमा तनाव दिने पनि महिला नै धेरै हुन्छन् । आफ्नो छोराको प्रजनन् क्षमतामा कमी भएको बुझ्दैनन् ।
कुन विधि प्रभावकारी हुन्छ ?
आइभिएफ विधि २० प्रतिशतलाई मात्र आवश्यक पर्छ । ८० प्रतिशत महिला अन्य उपचार विधिबाट गर्भवती भएका हुन्छन् । फालोपियन ट्युवमा जमेको सामान्य फोहोर सफा गरेकै महिना कतिपय महिला गर्भवती हुन्छन् । कतिपयलाई अण्डा निस्कने औषधि प्रयोग गर्नुपर्छ । कतिपय पुरुषलाई एन्टिअक्सिडेन्ट र भिटामिन दिएर पनि शुक्रकिटको गुणस्तर बढाउनुपर्ने हुनसक्छ । कतिपय व्यक्तिलाई सामान्य परामर्श दिएर यौनसम्बन्धको तालमेल मिलाउने सल्लाह दिँदा पनि गर्भ बसेको हुन्छ । महिलामा महिनावारी भएको १३ देखि १४ दिनमा अण्डा निष्कासन हुन्छ । यो बेलामा यौन सम्बन्ध राख्ने सल्लाह दिँदा पनि गर्भ रहने सम्भावना रहन्छ ।

तनाव र गर्भाधानको सम्बन्ध
तनावले शुक्रकिट भित्रका क्रोमोजोम, डिएनएहरु फ्रयाग्मेन्टेड (टुक्रिएको) हुन्छन् । यसरी टुक्रिएका डिएनए अण्डा भित्र प्रवेश गर्दा राम्रोसँग फर्टिलाइजेसन हुनसक्दैन । एवनर्मल एम्ब्रियोज (असाधारण भु्रण) का कारण बच्चा बसिसकेपछि पनि खेर जाने डर हुन्छ । तनावले अण्डा र शुक्रक्रिट दुवैलाई असर गर्छ ।
उमेर र निःसन्तानमा सम्बन्ध
किशोरीहरुमा महिनावारी सुरु भएदेखि अण्डा निष्कासन शुरु हुन थाल्छ । निश्चित उमेर पुगिसकेपछि अण्डाको मात्रा घट्दै जान्छ । वातावरण, खाना, तनाव आदिले डिम्बको गुणस्तरमा कमी ल्याउँछ । उमेरले पुरुषको तुलनामा महिलाको प्रजनन क्षमता धेरै घट्दै जान्छ ।
पुरुषहरुमा ४० देखि ५० वर्षको उमेरसम्म पनि फर्टिलाइजेसनको सम्भाव्यता हुन्छ । शुक्रकिटको मात्रा घटेपनि महिलाको जति प्रभावित हुँदैन । महिलाहरु ३५ वर्ष नाघेपछि टेष्टट्युव वेवीको सफलदर पनि पचास प्रतिशतले घट्छ ।
असुरक्षित गर्भपतन र निःसन्तान
हाइजिन मेन्टेन नभएको ठाउँमा असुरक्षित गर्भपतन गराउँदा संक्रमणका कारण फालोपियन ट्युब बन्द हुने सम्भावना रहन्छ । गर्भपतन गराउन राज्यले मान्यता दिइसकेको अवस्थामा सुरक्षित गर्भपतन गराएका कारण विगतको तुलनामा महिलामा असर कम हुने गरेको छ ।
सफलदर
पहिलाको तुलना अहिले सफल दर राम्रो पाइएको छ । यो अत्याधुनिक उपकरण, राम्रो उपचार विधि, दक्ष चिकित्सकको उपज हो । हाम्रो केन्द्रमा सफलदर ५० प्रतिशतसम्म छ ।
(डा. श्रेष्ठ काठमाडौं इन्फर्टिलिटी सेन्टर र ओम आईभिएफ सेन्टरमा कार्यरत हुनुहुन्छ ।)
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३



