नेपाल हेल्थ न्युज, बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डेको गर्भपतनका क्रममा भएको मृत्युले निजी स्वास्थ्य संस्थाको सेवा गुणस्तर, निगरानी र उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएको छ।
घटनापछि गठन गरिएको छानबिन समितिको सिफारिसका आधारमा नेपाल मेडिकल काउन्सिलले उपचारमा लापरवाही भएको ठहर गर्दै स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सतिस रुपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको छ।
समितिले गठन भएको तीन दिनमैइ प्रतिवेदन सार्वजनिक गर्दै उपचार प्रक्रियामा गम्भीर कमजोरी देखिएको औंल्याएको छ। निलम्बित डा. रुपाखेती इन्दुलेखा क्लिनिकमा कार्यरत थिए। काउन्सिलले उक्त क्लिनिकसहित जोनल फार्मेसीलाई पनि तत्कालका लागि सञ्चालनमा रोक लगाएको जनाएको छ।
छानबिन समितिका संयोजक डा. सम्राट पराजुलीका अनुसार, सम्बन्धित निकाय नेपाल पुलिस र जिल्ला प्रशासन कार्यालयलाई समेत लापरवाहीमा संलग्न स्वास्थ्य संस्थामाथि थप कारबाहीका लागि पत्राचार गरिनेछ। यससँगै घटनामा संलग्न दुई चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
पीडित परिवारले न्यायको माग गर्दै दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने बताएका छन्। छानबिन प्रक्रिया सुरु भएपछि परिवारले शव बुझेको थियो।
यो घटनाले सुरक्षित गर्भपतन सेवामा पहुँच, दक्ष जनशक्ति, र सेवा प्रदायक संस्थामाथिको नियमन कति प्रभावकारी छ भन्ने विषयमा व्यापक बहस सुरु गराएको छ। स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा लापरवाहीको सानो त्रुटिले पनि ज्यानै जाने जोखिम हुने हुँदा, नियामक निकायको भूमिका अझ सुदृढ हुनुपर्ने आवाज उठ्न थालेको छ।
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


