सानैमा ममी (आमा) को दूध खान मान्दैन थेँ रे । आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ । तर आमाको दूध खान नमानेपछि जन्मेको एक महिनादेखि नै बजारमा सहजै प्राप्त हुने विस्कुटलगायत प्याकेट बन्द प्रशोधित खाना खुवाइएको ममी स्मरण गर्नुहुन्छ । सात वर्षमा मैले केही पनि नखाएकाले डाक्टरको सल्लाहमा भोक लाग्ने औषधि दिनुभएको रहेछ । त्यो बेलादेखि मेरो ओभर इटिङको ह्याविट बसेको हो ।
पत्रु खानामा प्रेम
बुवाको किराना पसल थियो । यसकारण मेरा लागि प्याकेटका खाना सहजै उपलब्ध हुन्थे । बाल्यकालमा मलाई मनपर्ने खाना भनेको बिहानको नास्ता विस्कुट, दिउँसो चाउचाउ, दालमोठ, चिप्स, चिजबल आदि नै हुन् । यस्तै चिज खाएर मेरो बाल्यकाल बित्यो ।
आमा भन्नुहुन्छ—‘त्यो बेला तिमीले मेरो दूध खान मान्दैनथ्यौ । बच्चाको पेट के ले भर्ने होला भन्ने कुरा मनमा खेलिरहन्थ्यो । प्याकेटका खानेकुरा मिठो मानेर खाइदिने । मलाई पनि खुशी लाग्थ्यो । आखिर आमाको मन त हो बच्चाको खुशीमा रमाउने ।’
त्यो बेला यस्ता पत्रु खाना बच्चाको स्वास्थ्यमा घातक हुने कुराको खासै जानकारी थिएन । मेरो बाल्यकाल यस्तै पत्रु खाना खाएरै बित्यो । पढाईको धपेडी, दिनभर स्कूल, खाजाका रुपमा सँधै प्याकेटका खाना, शारीरिक क्रियाकलाप शून्य थियो । यद्यपी म सानै उमेरमा मोटो बच्चाको समूहमा पर्थेँ । त्यो बेला मोटोपनाले दैनिकीमा खासै असर गरेको थिएन ।
जब शुरु भयो महिनावारी
जब म ११ वर्षपुगेँ । महिनावारी शुरु भयो । एकपटक महिनावारी त भयो तर अर्को महिनावारीका लागि ६—७ महिना कुर्नुपर्ने । महिनावारीमा लामो ग्याप हुन्थ्यो ।
महिनावारीको समयमा निकै नै पेट दुख्ने भएकाले महिनावारी नभएकोमा खुशी नै लाग्थ्यो ।
अनावश्यक रौं
जब म १६—१७ वर्षको उमेरमा टेकेको थिएँ । अनुहारमा अनावश्यक रौं पलाएको देखेर निकै चिन्ता लाग्थ्यो । शारीरिक तौल अनियन्त्रित बढिरहेको थियो । त्यसपछि स्त्री रोग विशेषज्ञसँग परामर्श लिएँ । अल्ट्रासाउन्ड गरेपछि पोलिसिस्टिक ओभरियन सिन्ड्रम (पिसिओएस) भएको बल्ल पत्ता लाग्यो । मैले ११ वर्षदेखि २६ वर्षसम्म अनियमित महिनावारीको समस्या खेप्नुपर्यो ।

प्रोफेस्नल लाइफमा असर
पेशाले म खाद्य तथा पोषणविद् हुँ । मेरो काम रोगको प्रकृति अनुसार बिरामीको खाना तालिका बनाउने हो र सही परामर्श उपलब्ध गराउँछु । तर म पोषणविद भए पनि पिसिओएसका कारण तौल बढेको छ । आफ्नो उचाई अनुसार हुनुपर्ने तौल भन्दा धेरै छ । यसले प्रोफेस्नल लाइफमा निकै असर पारेको छ ।
१५ महिनामा १४ केजी तौल घटाएँ
मेरो उचाई ५ फिट ४ इञ्च हो । म ८३ के.जी. सम्म थिएँ । अहिले १५ महिनामा १४ केजी घटाएर ६९ मा पुर्याएको छु । अझै पनि ओभर वेट नै छु । घटाउने क्रम जारी छ । तौल घटाएपछि हल्का अनुभव गरिरहेको छु ।
आफैं पोषणविद् भएका नाताले के खाने ? के नखाने ? कुन खाना स्वास्थ्यका लागि सही ? र कुन खाना स्वास्थ्यका लागि घातक ? के गर्नुपर्छ ? र के गर्नुहुन्न ? भन्ने जानकारी छ ।
वजन घटाउन र जीवनशैली परिवर्तन गर्न सहज भने छैन । पिसिओएस भएपछि वजन घट्न निकै गाह्रो हुन्छ । सानैदेखिको गलतखानपान र जीवनशैलीले लागेको बोसो २—४ महिनाको खानपान र जीवनशैलीले घटाउन सम्भावना हुँदैन । यसका लागि अनुशासन र धैर्यताको आवश्यकता हुन्छ ।
प्रायजसो महिलाहरु घरको काम सँगै घरबाहिरको काममा पनि निकै व्यस्थ हुने गरेका छन् । समयको अभावले बच्चाको सहजताका लागि सानै उमेरदेखि फास्टफूड र प्याकेटका खानेकुरा दिइन्छ । यसले बच्चाहरुले हाइ डेन्स क्यालोरी खाना त प्राप्त गर्छन् तर निकै कम मात्र पोषणतत्व प्राप्त गर्छन् । फलस्वरुप सानै उमेरदेखि मोटोपना, महिलाहरुमा रक्तअल्पता, उचाई नबढ्ने, पिसिओएसलगायतका विभिन्न समस्या देखिन थाल्छ ।

पिसिओएसको उपचार भनेको एउटा डाक्टरको सल्लाहअनुसार औषधि खानु र अर्को जीवनशैली परिवर्तन जस्तैः सन्तुलित भोजन, सक्रियजीवनशैली आदि हुन् । औषधि सेवन र जीवनशैली परिवर्तन सँगसँगै लैजानुपर्छ । सन्तुलित भोजन, नियमित व्यायाम, पर्याप्त निद्रा र तनाव व्यवस्थापनले यस रोगको उपचार गर्न मद्धत गर्छ ।
पोलिसिस्टिक ओभरियन सिन्ड्रोम के रहेछ ?
पिसिओएस एक प्रकारको हर्मोनल डिस्अर्डर हो । यो करिब १४ देखि ४५ वर्ष उमेर समूहमा जति बेला पनि देखिनसक्छ ।
महिलाको पाठेघरमा भएको डिम्बबाट हर्मोनहरु उत्पादन भइरहेका हुन्छन् । हर्मोनका कारण महिनावारी हुने हो । जब हर्मोनल डिस्व्यालेन्स हुन्छ तब ओभरीले आवश्यक पर्नेभन्दा भिन्नै किसिमको हर्मोन उत्पादन गर्न थाल्छ ।
पिसिओएसका लक्षण
- शरीरमा पुरुष हर्मोनको उत्पादन धेरै उत्पादन हुने भएकाले महिनावारीमा गडबडी
-निःसन्तानको सम्भावना
-अनुहारमा अनावश्यक रौं पलाउने
- डिम्बासयमा पानीको फोकाहरु आउने
- कपाल झर्ने
- छालाको रङमा परिवर्तन (छाला कालो हुने, कालो दाग आउने आदि)
- मोटोपना
पिसिओएस के कारणले हुन्छ भन्ने ठ्याक्कै भन्न सकिदैन । यो वंशाणुगत पनि हुनसक्छ । पिसिओएस हुने कारणमा निक्रिय जीवनशैली र असन्तुलित भोजन पनि हो ।

पिसिओएसमा भोजन
- रेसादार तरकारी जस्तैः गाँजर, ब्रोकाउली, काउली, हरिया सागसब्जीको सेवन
-मौसमी फलफूल
-माछा, अण्डा, दालतथा गेडागुडी
- सेतो तिल
- बियाँ र नट्स (जस्तैः आलस, फर्सीको बियाँ, सूर्यमुखी फूलको बियाँ, बदाम, ओखर आदि ।)
-ठिक्क मात्रामा डार्क चक्लेट

पिसिओएसमा खानपानमा सावधानी
-गुलियो नखाने (जस्तैः चिनी, कुकिज, केक, चकलेट आदि ।)
-प्याकेटका खाना (जस्तैः चिप्स, चाउचाउ आदि)
- फास्टफूड नखाने (जस्तैः मैदाबाट बनेका, मम, चाउमिन, पिज्जा प्रशोधित मासु, समोसा आदि ।

-पेयपदार्थ (जस्तै सोडा, कोक, इनर्जी ड्रिंक आदि ।)
-अन्न (कम्पलेक्स कार्वोहाइड्रेट) ठीक्क मात्रामा खाने
- खानामा धेरै नुनको प्रयोग नगर्ने
- दूध र दुग्धजन्य खानेकुरा ठिक मात्रामा खाने
यसरी आफ्नो खाना र जीवनशैली परिवर्तनले भविष्यमा हुनसक्ने मधुमेह, उच्च रक्तचाप, इन्डोमेट्रियल क्यान्सर, मस्तिष्कघात आदिबाट बच्न मद्धत गर्छ ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
