जनस्वास्थ्य सरोकार, काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब तीन महिनाको अवधिमा काभ्रेपलाञ्चोकमा १२० सङ्क्रमितको मृत्यु भयो । यही अवधिमा जिल्लामा करिब आठ हजारमा कोरोना सङ्क्रमण देखिएको एक तथ्याङ्कले देखाएको छ ।
विगत चार दिनदेखि जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भएको छैन । असार महिना लागेपछि नगन्य मात्रामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भएका छन् ।
पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमण घट्दै जानु र सङ्क्रमितलाई स्वास्थ्य संस्थाबाट पर्याप्त स्वास्थ्योपचार पाउनुले मृत्युको सङ्ख्या शून्यतामा झरेको बताइन्छ । दैनिक सङ्क्रमणको सङ्ख्या पनि ४० को हाराहारीमा छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या करिब १०० हुने गरेको कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) को दैनिक तथ्याङ्कमा उल्लेख छ ।
गत वर्ष भने कोरोना सङ्क्रमणबाट जिल्लाका ४५ को मृत्यु भएको थियो । कोरोना सङ्क्रमणबाट हालसम्म काभ्रेपलाञ्चोकका १६५ को मृत्यु भएको छ । केन्द्रका अनुसार जिल्लास्थित अस्पतालमा भने विभिन्न जिल्लाका उपचारार्थ ६५ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म जिल्लाका ११ हजार ६४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसमध्ये तीन हजार गत वर्षका सङ्क्रमित हुन् भने करिब आठ हजार कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयताका हुन् ।
गत वर्षभन्दा बितेका तीन महिनामा अढाई बढी सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु भएको हो भने ७० प्रतिशत सङ्क्रमित वृद्धि भएका हुन् । तथ्याङ्कअनुसार हालसम्मका कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् १० हजार ५०६ सङक्रमणमुक्त भइसकेका छन् ।
पहिलोपटक विसं २०७७ जेठ १ गते काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचारार्थ सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएकी ती महिला नेपालमा पहिलो घटना हो ।
कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा सङ्क्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै सङ्ख्यामा सङ्क्रमण र मृत्यु भएको केन्द्रले जनायो । “सङ्क्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भन्न्नुभयो । उहाँका अनुसार यसपालिको सङ्क्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट टे«सिङ’मा ढिलाइ हुँदा सङ्क्रमण बढेको अनुमान गरिएको छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि जेठको विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र शिलसमेत गर्नुपरेको थियो । पछिल्ला केही दिनदेखि सङ्क्रमणदर घट्दै गएपछि जिल्लाभर हाल काभ्रेपलाञ्चोक प्रशासनको जोरबिजोर यातायात सञ्चालनसँगै ‘खुकुलो निषेधाज्ञा’ मात्रै लागू भएको छ ।
यसैबीच काभे्रपलाञ्चोकमा हाल ३९३ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा १०७, धुलिखेलमा ५६, पनौतीमा ५१, पाँचखालमा ४९, नमोबुद्धमा १७, मण्डनदेउपुरमा ११ तथा रोशी गाउँपालिकामा ७, चौँरीदेउरालीमा ११, तेमालमा ६, भुम्लु २०, खानीखोलामा २०, बेथानचोकमा २४ र महाभारत गाउँपालिकामा १४ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । रासस
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
