
जनस्वास्थ्य सरोकार । ट्रान्सफ्याट एक प्रकारको अति हानिकारक चिल्लो पदार्थ हो । यो कोठाको तापक्रममा जम्ने गर्दछ । यसले मुटुलाई नकारात्मक असर गर्ने प्रमाणित भइसकेको छ ।
ट्रान्सफ्याट कारखानामा हाइड्रोजिनेसन गरेर बनाइएका खानाहरुमा पाइन्छ । यो प्राकृतिक दृष्टिकोणले उपलब्ध हुने चिल्लो पदार्थ भन्दा बढी हानिकारक मानिएको छ ।
प्रकृतिबाट पाइने ट्रान्सफ्याटमा दूध, चीज, अण्डा, मासु, माछा, नौनी पर्छन् भने कारखानामा तयार पारिएका अप्राकृतिक चिल्लोवस्तु बिस्कुट, पीज्जा, अनाज, मसला, चकलेट, तयारी सुप, पोर्क खानाहरु, रेष्टुरेन्टका खानाहरू पर्दछन् । प्राकृतिक रुपमा पाइने चिल्लो चीज ठीक मात्रामा खाएमा खासै हानी गर्दैन । घरपालुवा जनावरमा पाइने ट्रान्सफ्याट भनेको कन्जुगेटेड लिनेलिक एसिड (सिएलए) हो जुन दूधजन्य पदार्थमा पाइन्छ । यो स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
व्यापारिक दृष्टिकोणबाट लाभ लिन वनस्पतिबाट आउने चिल्लो चीजलाई धेरै टिकाउन झोल चिल्लोलाई हाइड्रोजिनेसन गरेर साह्रो (सोलिड) बनाइन्छ, यो कोठाको तापक्रममा जमेको हुन्छ,यो स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । हाम्रा खानामा गाईवस्तु, बाख्रा, वनस्पति र केही हाइड्रोजीनेरेट गरेर बनाइएका चिल्लो पदार्थ हुन्छन् ।
प्राकृतिक दृष्टिकोणले पाइने चिल्लो पदार्थले ६% जति ओगटेको छ भने लगभग ६०% कृत्रिम तरिकाले कारखानाबाट हाइड्रोजन मिसाएर बनाएका चिल्लो पदार्थहरू पर्दछन् जुन स्वास्थ्यका लागि बढी हानिकारक मानिन्छ ।
दोस्रो विश्वयुद्धपछि खासगरेर संयुक्त राज्य अमेरिकामा सस्तो, धेरैले खानसक्ने, धेरै समय टिक्ने खाना बनाउँदा यो ट्रान्सफ्याटको सहरा लिएको पाइन्छ । यो चलन संसारभर नै विस्तार हुँदै गयो । यसले मुटुरोगलगायत अन्य धेरै रोग बढेको पाइएकाले अब यसबाट कसरी बच्ने भनेर सोच्ने समय आइसकेको छ ।

दिनको ५ ग्राम जति ट्रान्सफ्याट खाएको अवस्थामा मुटुरोग २५% सम्म बढ्न सक्दछ । त्यसैले होला हाम्रो जस्तो गरिब देशहरूमा ७० वर्षभन्दा कम उमेरका मानिसको मृत्यु भएको देखिन्छ ।
ट्रान्सफ्याटले शरीरको राम्रो खाले कोलेस्टेरोल घटाउँछ भने नराम्रो बढाउने गरेको देखिन्छ । राम्रो खालको एचडिएल कोलेस्टेरोलले धेरै चिल्लोलाई कलेजोमा पु¥याउछ र धमनीमा जम्न दिँदैन भने नराम्रो एलडिएल कोलेस्टेरोलले धमनीको भित्री भागमा पु¥याएर धमनीलाई साँगुरो बनाउँदै जान्छ । यसरी ट्रान्सफ्याटले थुपारेको चिल्लोको बाहिरी पत्र फुट्छ र त्यसबाट रगत बाहिर आएर जम्ने हुनाले धमनीलाई टालिदिन्छ । त्यसपछि हृदयघात हुने गर्दछ ।
विश्व स्वास्थ्य संघले २०२३ सम्ममा संसारभर खानामा मिसिएको ट्रान्सफ्याट घटाउने प्रण लिएकोछ । यो कार्यक्रमको नाम रिप्लेस (सट्टागर्ने) रहेको छ । विश्व स्वास्थ्य संगठनले संसारभरका सरकार र सरोकारवालाहरूलाई सरकारी नियम बनाउनुपर्ने, व्यापक प्रचारप्रसार गर्ने र ट्रान्सफ्याट हटाउने नियमलाई कडाइका साथ पालना गर्न सुझाव दिएको छ । डेनमार्कलगायत विकसित देशहरूले यो कार्यक्रमहरू लागू गरिसकेको अवस्था छ ।
ट्रान्सफ्याट खानाले २१% मुटुरोग लाग्ने सम्भावना बढ्दछ भने २८% अल्पआयु मै मृत्यु हुने गरेको छ । संसारमा वर्षेनी ५ लाख व्यक्तिको मृत्यु भएको आँकडाले देखाउँदछ । यसरी ट्रान्सफ्याट घटाउने बित्तिकै दश हजारदेखि बीस हजारसम्म हृदयघात घट्ने सम्भावना देखिएको छ । ट्रान्सफ्याट नियन्त्रण हुन थालेपछि विकसित देशहरुमा लगभग तीन हजारदेखि सात हजार कोरोनरी मुटुरोग घट्न थालेको पाइन्छ । त्यसकारण यो हाइड्रोजेनेरेक तेलको बदलामा हानी नगर्ने तेल उपयोगमा ल्याउन जरुरी देखिन्छ ।
विश्व स्वास्थ्य संगठनले खराब तेल हटाएर राम्रो तेल उपयोगमा ल्याउन आह्वान गरिसकेको छ । राम्रो तेलको छनौटले मात्रै पनि संसारमा धेरै मुटुरोगलाई घटाउन सकिन्छ । तसर्थ उद्योगमा उत्पादन हुने तेललाई रोकेर प्राकृतिक नजम्ने तेलको चलन चलाउनुपर्छ । खराब तेल उत्पादन बन्द गर्न देशमा कानुन बनाउनुपर्छ । कानुनको पालना भएनभएको हेर्न कडा निगरानी गर्न अनिवार्य छ । आम नागरिकहरू पनि यसप्रति सजक र सचेत हुन जरुरी छ । यस कदमको राम्रो नजिता आउनको लागि केही विकसित देशहरूले कानुनी तरिका अपनाइसकेका छन्, जसको पछिल्लो उदाहरण हो डेनमार्क, अनि अरू विकसित राष्ट्रहरूमा पनि यो विस्तारै लागू हुँदैछ । तर हाम्रो जस्तो देशमा धेरै काम गर्न बाकी नै छ ।
ट्रान्सफ्याट नखाएर अनस्याचुरेटेड फ्याटी एसिड भएको खानाले मुटुरोबाट बच्न सजिलो हुने तथ्य साबित भइसकेको छ । दिनभर उपलब्ध हुने क्यालोरीमा जम्मा १०% सम्म मात्र ट्रान्सफ्याटबाट आउन सक्दछ । त्यो भन्दा बढी हुँदैन । उदाहरणका लागि २,००० क्यालोरी खाँदा २.२ ग्राम भन्दा बढी हुन हुँदैन । त्यसैले खाना सन्तुलित बनाउन आवश्यक छ ।

सुरुमा चिल्लो स्याचुरेटेड फ्याटलाई सबै दोष लाग्यो, पछि यसले पनि केही राम्रो गरेको देखियो, त्यही कारणले आजभोलि १०% स्याचुरेटेड फ्याट खानामा हुनु ठिकै मानिन्छ । स्याचुरेटेड फ्याटसँग डराएर मानिसले बढी कार्वोहाइड्रेडसेवन गर्न थाले । यसरी चिल्लो कम गर्दै गर्दा पनि मुटुरोग बढेको पाइयो । त्यसपछिका अध्ययनहरुमा कार्वोहाइड्रेड पनि खतरनाक भएको पत्ता लाग्यो ।
विज्ञानले प्रमाणित भएको कुरा मात्रै मानिन्छ । तर यो जीव विज्ञानसित जोडिएको ज्ञान भएकाले सधैँ एकैनास हुँदैन । बेलाबेलामा परिणाम अलग आउने गर्दछ । तसर्थ ट्रान्सफ्याटलाई कुनै हालतमा पनि राख्न हुँदैन । सन् २०१५ मा भएको अध्ययनमा (कुखुराको अण्डा) फूलले खाँसै कोलेस्टेरोल बढाएको पाइएन, गाइको ध्यूले पनि कमै असर गरेको देखिएको छ । तसर्थ हामीले कुनै कुरामा पनि अति गर्नुहुँदैन । अति सर्वत्र वर्जयतः कुनै कुरामा पनि बीचमा बस्नु राम्रो हुन्छ । कुनै कुरा पनि अति गर्नु हुदैन ।
धेरै तारेको,भुटेका खानाहरु नखाने, समोसा, पकोडा, भुजिया, कुरकुरे, लेज, चिप्स,केक, बिस्कुट इत्यादि ज्यादै कम गर्नु बुद्धिमानी हुन्छ । पोकामा पाइने खानाहरु उपयोग गर्न राम्रो हुँदैन । भरसक आफ्नै घरमा बनाएर स्वास्थ्य खाना खाने नै बानी राम्रो हो ।
उदाहरणका लागि फ्रान्समा अरू विकसित देशको दाँजोमा मुटुरोग ज्यादै कम थियो, तर जब अमेरिकी फास्टफुडःम्याकडोनाल्ड, बर्गर इत्यादि बजारमा देखा पर्न थाल्यो त्यही बेलादेखि मुटु रोग पनि बढ्न थालेको प्रस्ट देखिएको छ । छिटो हुन्छ, खाँदा मीठो पनि । यसो भन्दैमा पछि गएर त्यसले गर्ने नकारात्मक असरलाई नजर अन्दाज नगरौं । आफू पनि बाँचौं, अरूलाई पनि बच्न मद्दत गरौं ।
(लेखक मेडिकेयर केयर अस्पतालका अध्यक्ष, नेपाल हृदयरोग निवारण प्रतिष्ठान र कार्डियाक सोसाइटी अफ नेपालका पूर्व अध्यक्ष हुनुहुन्छ ।)
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
