
के तपाईंलाई स्याँ स्याँ हुने समस्या छ ? अस्पतालको आकस्मिक कक्षमा बिरामी स्याँस्याँ भएर धेरै व्यक्ति आइपुगेका हुन्छन् । स्याँस्याँ विभिन्न कारणले भएको हुन सक्छ । मुटु, फोक्सो, रगत र किड्नीमा खराबी भएर दम आएको हुनसक्छ । मुटुमा समस्या भएर पनि स्याँस्याँ आएको हुनसक्छ । त्यसैले रोगको निदान राम्रोसँग गर्न नसकिएमा उपचार नै फरक पर्न सक्छ । बिरामीको अवस्था झन सिकिस्त हुन सक्छ ।
दक्ष एवं अनुभवी डाक्टरले बिरामी इमर्जेन्सीमा आउने बित्तिकै तुरुन्तै रोगको पहिचान गर्न सक्नुपर्छ । आइसियू आवश्यक पर्ने वा नपर्ने, अन्य अंगहरु बिग्रन सक्ने सम्भाव्यता भएनभएकोलगायत अक्सिजनको मात्रा घटबढ हुने सम्भाव्यता पहिचान गर्नुपर्छ । रोगको निदान हुने बित्तिकै औषधिउपचार थालेमा बिरामी स्वास्थ्यवस्था इमर्जेन्सी कक्षमै सुधार हुनसक्छ ।
कतिपय दमका बिरामीहरु शरीरमा अक्सिजनको मात्रा घटेर र कार्वनडाइअक्साइडको मात्रा बढेर गाह्रो भएर अस्पताल आएका हुन्छन् । उनीहरुलाई तुरुन्तै बाफ लगाउने, मेसिनबाट सास फेराउने, निश्चित औषधि एवं सुइ दिने, भरपर्दो परामर्श दिएमा बिरामीहरु इमर्जेन्सीमा बस्दाबस्दै ठिक भएका धेरै उदाहरण छन् । यस्ता बिरामीलाई दुइचार दिन सामान्य वार्डमा राखेर डिस्चार्ज गर्न सकिन्छ । इमर्जेन्सी कक्षमा बिरामीको रोग पहिचान नभई गलत उपचार थालिएमा झनै सिकिस्त हुनसक्छ ।
यस्ता बिरामीको उपचारमा डिसिजन मेकिङ एकदमै छिटो लिनुपर्ने हुन्छ । उपचारका क्रममा पनि हरेक दिन बिरामीको अवस्था हेरेर उपचार विधि परिवर्नन गरिराख्नुपर्ने हुनसक्छ । जस्तोः अहिले सजिलो भइरहेको बिरामीलाई एक घण्टापछि गाह्रो हुनसक्छ । यस्तो अवस्थामा तुरुन्तै कारण पत्ता लगाएर उपचार विधि परिवर्तन गर्नुपर्छ । समयमै कारण थाहा पाउन नसकेमा बिरामीको अवस्था झनै बिग्रन सक्छ । क्रिटिकल केयरमा डायग्नोसिस पनि महत्वपूर्ण पाटो हो । यसरी बेलाबेला बिरामीको अवस्था परिवर्तन हुन सक्ने भएकाले डाक्टरले तुरुन्तै निर्णय लिनुपर्छ । यदि हामीले सही निर्णय लिन नसकेमा बिरामीको अवस्था मृत्युउन्मुख हुनसक्छ । त्यसकारण सहि निर्णय लिन अनुभवी चिकित्सक अवश्यक पर्दछ ।
सिओपिडी दम रोगबाट विश्वमा वर्षेनी करिब ३० देखि ४० लाख भन्दा बढीको मृत्यु हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क छ । तिमध्ये ९० प्रतिशत हाम्रो जस्तो विकासोन्मुख मुलुकमा मर्न गरेका छन् । त्यसको मुख्यकारण समयमै उपचार नपाएर हो ।
दम रोग धेरैजसो धुम्रपान गर्नेलाई हुने गरेको पाइएको छ । हाम्रो देशमा इनडोर एयर पोलुसन (घरभित्र हुने पोलुसन) बाट दमका बिरामी बढिरहेका छन् । गाउँघरमा अझै पनि दाउरा, गुइँठा बालिन्छ । घरभित्रै धुम्रपान गर्ने कारण परिवार र स–साना बालबालिकालाई प्रत्यक्ष असर परिरहेको हुन्छ । त्यसबाहेक पुजाआजा गर्दा प्रयोग हुने धूप, अगरबत्ति, लामखुट्टेको कोइल, इँटा भट्टा एवंं कलकारखानामा काम गर्दा धुवाँ धूलोको सम्पर्कमा आउने व्यक्तिलाई बढी दम हुने गरेको पाइन्छ ।
आईसियूदेखि मृत्युसम्म
धँुवाको असरले श्वास नलीहरु खुम्चिन थाल्छन् । यसले श्वास फेर्न गाह्रो, खोकी, थकान, खकार आइरहने जस्ता समस्या देखिन्छन् । कालान्तरमा रोग बढ्दै गएपछि शरीरमा अक्सिजनको मात्रा घट्न थाल्दछ । बिरामीले घरमै अक्सिजन लगाएर बस्नुपर्ने अवस्थासमेत आउनसक्छ । कतिपय दमका रोगीलाई मौसन परिवर्तन, निमोनिया र वायुप्रदुषण बढ्दा दमको अट्याक आउनसक्छ । यस्ता बिरामीलाई एक्कासी सास फेर्न गाह्रो हुने, अक्सिजनको तह घट्ने जस्ता लक्षण देखिन्छन् । यस्तो अवस्थामा बिरामीलाई तुरुन्त अस्पताल पुर्याउनुपर्छ । कतिपय दम रोगीमा शरीरमा अक्सिजनको मात्रा घटेको धेरैपछि सम्म पनि थाहा नहुने भएकाले उनीहरु सिकिस्त अवस्थामा अस्पताल आइपुग्छन् । यस्तो अवस्थामा कृत्रिम श्वासप्रश्वासको सहारा लिनुपर्छ । शरीरमा अक्सिजन कम भएको बेला बिरामीलाई आइसियूमा राख्नुपर्छ । भेन्टिलेटरमा पुगेका करिव ३० देखि ५० प्रतिशत बिरामीहरुको मृत्यु हुनसक्छ ।

घट्दो उमेर बढ्दो दम
सिओपिडी उमेर बढ्दै जाँदा हुने दम हो । यो ४५ वर्षमाथिका उमेरसमुहलाई बढी हुने गर्दछ । दम रोग भएका बिरामीलाई कम्लिकेसन हुने सम्भावना बढी हुन्छ । दम रोगीलाई मुटु रोग, मस्तिष्कघात, प्यारालाइसिस, मिर्गौला रोगको जोखिम उच्च हुन्छ । यस्ता बिरामीहरुलाई बारम्बार निमोनिया भइरहने, खकार ननिस्क्ने जस्ता समस्या भइरहन्छ । दमका रोगीहरु आफ्नो जीवनलाई बेकार ठान्छन् । अरुको सहारामा बाँच्नुपर्ने भएकाले आफू बोझ भएको महशुुस गर्छन् । जसले उनीहरुमा नकारात्मक भाव पैदा हुन्छ । दम रोगीमध्ये झण्डै ३० देखि ४० प्रतिशत डिप्रेसनमा गएको पाइन्छ । यसले झनै कम्लिकेसन बढाउन सक्छ ।
बिरामीको उमेर, अन्य दीर्घ रोग जस्तै, सुगर, प्रेसर, मिर्गौला रोग भएनभएको, पहिले निमोनिया भएर फोक्सो बिग्रेको छ/छैन इत्यादि कारक तत्वहरुले परिणाम राम्रो आउने वा नआउने निर्धारण गर्दछ ।
आइसियूमा भर्ना हुने अधिकांश दमका मात्रै हुन्छन् ?
करिब दुइ तिहाइ बिरामी श्वासप्रश्वास सम्बन्धि समस्याका कारण मेडिकल आईसियूमा भर्ना भएका हुन्छन् । यसरी आईसियूमा भर्ना हुनेमध्ये धेरैजसो निमोनिया र दम बिग्रिएका बिरामीहरु हुन्छन् । यस्ता व्यक्तिहरुलाई कोभिड भएमा आइसियूमा भर्ना गरेर उपचार गर्नुपर्छ । कतिपय बिरामीहरु अरु रोगका कारण पनि आइसियूमा भर्ना गर्नुपर्ने हुनसक्छ । तर यस्ता बिरामीहरुको उपचार चल्दाचल्दै निमोनिया भइदिने वा श्वासप्रश्वाससम्बन्धि समस्या देखिएर सँगैसँगै उपचार गर्नुपर्ने पनि हुनसक्छ ।
भरपर्दो उपचार कसरी रोज्ने ?
आइसियूको क्वालिटी केयरमा दक्ष चिकित्सक, नर्स, अन्य कर्मचारी एवं स्रोत साधनको ठूलो भूमिका रहन्छ । डाक्टर, नर्स र बिरामीको अनुपात जहाँ राम्रो छ त्यहाँको स्वास्थ्यको गुणस्तर धेरै राम्रो हुन्छ । डब्लुएचओको मापदण्डमा आइसियूमा एक जना बिरामीका लागि एक नर्स चाहिन्छ भनिएको छ । तर कतिपय अस्पतालमा आइसियू कक्षमा एकदुइ जना नर्सले पुरै आइसियू हेरिरहेका हुन्छन् । भेन्टिलेटर चलाउन पनि दक्ष जनशक्ति चाहिन्छ ।
बिरामीको समयमै रोगको निदान हुन सकेमा मात्र राम्रो उपचार राम्रो हुन्छ । दक्ष जनशक्तिले आकस्मिक कक्षमा आएका बिरामीको एसेस्मेन्ट (चेकजाँच) गर्ने बित्तिकै अवस्था थाहा पाउछन् । जसले गर्दा बिरामीले तुरुन्तै सहि उपचार पाउन सक्छन् ।
कति दिनसम्म आइसियूमा ?
दमको अट्याक आएका बिरामीलाई दुइ तीन दिन बाइप्याप मेसिनमा राखेर अवस्था सामान्य भएपछि वार्डमा सार्न सकिन्छ । कोभिड संक्रमण भएर आइसियू भर्ना भएका बिरामीलाई शुरु गर्नेबित्तिकै औषधिले काम गरेमा दुइतीन दिनमा अक्सिजन छुटाएर वार्डमा सार्न सकिन्छ । कसैको आइसियूमा राख्दा पनि निमोनिया बढ्ने, अक्सिजन लेवल घट्ने र बिरामीको अवस्थामा सुधार नआउने हुनसक्छ । त्यस्ता बिरामीलाई दुइ हप्ता सम्म आइसियूमा राख्नुपर्ने हुनसक्छ ।

ख्याल राख्नुपर्ने कुरा
क्रिटिकल केयरमा सेवाको गुणस्तर (क्वालिटी अफ केयर) हेर्नुपर्छ । सेवाको गुणस्तर राम्रो भए परिणाम राम्रो आउँछ र बिरामीलाई मृत्युको मुखबाट बचाउन सकिन्छ । डब्लुएचओको मापदण्ड अनुसार आइसियूमा एक बिरामीलाई एक नर्स आवश्यक पर्दछ ।
तर सरकारी अस्पतालका आइसियू कक्षमा एकजना नर्सले चार पाँच जना सम्म बिरामी हेर्नुपरिरहेको अवस्था छ । नर्स र बिरामीको अनुपात मिलेमा परिणाम राम्रो आउँछ । क्रिटिकल केयर सम्बन्धि अनुभव भएका दक्ष डाक्टर र नर्सले उपचार सेवा दिँदा अस्पतालको बसाइ पनि छोटो हुन्छ । कोभिडका बिरामीहरुलाई पाँचदेखि सात दिनमा डिस्चार्ज गर्दछौं । कतिपय अस्पतालहरुमा कोभिडका बिरामीहरु दुइहप्ता सम्म अस्पतालमा बस्नुपर्छ । यहाँ कोभिडको बिरामीको आइसियूमा हुने मृत्युदर पश्चिमी देशका इन्टेनसिभ केयर युनिटको मृत्युदरसँग दाज्न मिल्ने छ । अस्पतालको बसाइ जति छोटो भयो बिरामीलाई त्यति सस्तो पर्न जान्छ । (डा पंगेनी ह्याम्स अस्पतालमा कार्यरत हुनुहुन्छ । )
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
