
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आइसियू सधै फाइदाका लागि मात्र खोल्ने होइन । यो राष्ट्रले आफ्ना नागरिकलाई दिने सेवा हो । सरकारले पहल नगरेसम्म प्रादेशिक अस्पतालहरुमा आइसियू चल्न सक्दैन । अहिले सरकारी अस्पतालहरुमा बिरामीको चाप धानिनसक्नु छ । सातै प्रदेशमा भेन्टिलेटर सहितको लेवल थ्री आइसियू बेड भएका अस्पताल निर्माण गरेमा बिरामी चाप न्युनिकरण गर्न सकिन्छ । बिरामीहरु जिल्ला अस्पतालमा नभए प्रदेश अस्पताल पुग्छन्, त्यहाँ सम्भव नभए केन्द्रिय अस्पताल आउँछन् । तर अहिले कतिपय जिल्ला अस्पताल र प्रदेश अस्पतालबाट बिरामीलाई काठमाडौँ रिफर गरिन्छ । सबै समस्या बिरामी वा परिवारको जिम्मामा पर्दछ । बिरामीका आफन्त अत्तालिएर उपचारका लागि यताउती भौतारिन्छन् । अन्ततः केहि नलागेपछि महँगो शुल्क तिरेरै भएपनि बिरामीलाई नीजी अस्पताल पु¥याउँछन् । ऋण खोजेर वा जग्गा बेचेरै भएपनि महँगा अस्पतालमा उपचार गराउन बाध्य छन् ।
नेपालमा कोभिड सुरु भएपछि विभिन्न देशबाट मुलुकमा कोभिड व्यवस्थापनका लागि उपलब्ध भएका स्वास्थ्य सामाग्री र उपकरण आवश्यकता अनुसार देशका विभिन्न ठाउँमा पठाइयो । तर कोभिड संकट व्यवस्थापनपश्चात् ति सामान अझै व्यवस्थापन हुन सकेका छैनन् ।
प्लानिङको अभाव
नेपालको हेल्थ सेक्टरको संरचना कस्तो बनाउने ? आइसियूलाई कसरी व्यवस्थित गर्ने ? आदि सबै हेर्ने जिम्मा स्वास्थ्य मन्त्रालयको प्लानिङ डिपार्टमेन्टको हो । यसमा अहिले पनि करोडौँ रुपियाँका मेसिन, भेन्टिलेटर, बेड, मोनिटर खरिदमा पुँजीगत खर्च भइरहेको छ । तर योजना छैन । स्रोत साधन, जनशक्ति सबै पर्याप्त भएपनि व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोरी हो । सरोकारवाला निकायले हामीसँग सहकार्य गर्न चाहेमा सहयोग गर्न तत्पर छौँ । बेलाबेलामा गएर सल्लाह सुझाव पनि दिएका छौँ । दोस्रो महामारी ओमिक्रोन शुरु हुन थालेपछि फेरी कुरा उठ्न थालेको छ । फेरि पनि सामान किन्ने, भेन्टिलेटर किन्ने कुरा चाँहि उठ्छ । तर भएको सामान व्यवस्थापन गर्ने योजना बनाइँदैन ।
डाक्टरहरु उपत्यका बाहिर गएर पनि काम गर्न तयार छन् । उनीहरुलाई अवसर दिनुपर्छ । नेपालमा विशेषज्ञको कमी छैन । उनीहरु पढाइ सकेर नेपाल फर्किएका छन् । सरकारले यस्ता जनशक्तिलाई उपयोगमा ल्याउन सक्नुपर्छ । हामीसँग कतिओटा भेन्टिलेटरसहितका आइसियू बेड छन् भनेर पत्ता लगाउनुपर्छ ।
रिसोर्स म्यापिङ
मान्छेहरु आइसियू बेड मात्र भएपनि त्यसलाई आइसियू नै भन्ने बुझ्छन् । वास्तवमा आइसियूमा धेरै मापदण्ड पूरा गरेको हुनुपर्छ । सात वटा प्रदेशका प्रदेश अस्पताल र जिल्ला अस्पतालहरुमा भेन्टिलेटरसहित आइसियू बेड, भेन्टिलेटरको संख्या र एचडियू बेडको संख्या गणना गर्नुपर्छ । यसरी आईसियू व्यवस्थापनका लागि म्यापिङ गर्न जरुरी छ । त्यसपछि ह्यूमन रिसोर्स जनशक्तिको म्यापिङ गर्नुपर्छ । यो गर्न हामीलाई दुईतीन महिना लाग्न सक्छ । तर यसले आगामी दिनमा देशको क्रिटिकल केयर सेवाको आवश्यकता म्यापिङ हुन्छ ।
रिसोर्स युटिलाइजेशन
सरकारले हरेक प्रादेशिक अस्पतालमा कम्तिमा २० बेडको लेवल थ्री र २० बेडको लेवल टू आइसियू बनाउनुपर्छ । यी आईसियूहरु बनाउँदा पोस्ट अपरेटिभ वार्ड र अन्य लेवल वान मोनिटरिङ यूनिटहरुलाई गणना गर्न हुन्न । हामीलाई प्रशस्त पुग्ने सामानहरु यस कोरोना महामारीमा धेरै नै आइसकेको हुनाले त्यसलाई उचित व्यवस्थापन गर्न सकेको अवस्थामा हाम्रो स्वास्थ्य सेवाले काँचुली फेर्न सक्छ ।

जिल्ला अस्पतालहरुमा औसतमा आठदेखि दश बेडको लेवल थ्री आइसियू, थप दश बेडको लेवल टु (स्टेप डाउन) आइसियू बनाउँदा पुग्छ । अन्यन्त्र बिरामी ट्रान्सफर नगरुन्जेल यसले व्याकअपको काम गर्छ । त्यो भन्दा बढी बिरामीलाई भेन्टिलेटरमा राख्नुपरेमा जिल्लाबाट प्रदेश वा काठमाडौंमा रिफर गर्न सकिन्छ । जिल्ला अस्पतालमा सिम्पल तर अत्यावश्यक अपरेशनहरु गर्नुपर्ने भएकाले कम्तिमा पाँच/ छ बेडको पोष्ट अपरेटिभ वार्ड बनाउनुपर्छ ।
तर प्राइमरी हेल्थ केयरमा भेन्टिलेटर, बेड र मोनिटर पठाउँदा त्यो इक्विप्मेन्टहरु त्यहाँ प्रयोगमा आउदैनन् र अन्यत्र ठाउँमा भने अभाव हुन्छ । त्यसैले यस्ता उपकरणहरु गाउँगाउँमा पठाएर थन्क्याउनुभन्दा जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा व्यवस्थापन गर्न उचित देखिन्छ ।
दक्ष जनशक्ति व्यवस्थापन
हुन त आईसियूमा जनशक्ति व्यवस्थापनमा त्यति समस्या देखिदैन । किनभने हरेक वर्ष एनेस्थेसियामा एमडी गरेका औसतमा ५०–६० जना डाक्टर उत्पादन हुँदै आएका छन् । र त्यो संख्या बढ्दो छ ।
एमडी एनेस्थेसिया गरेका डाक्टरले आइसियू चलाउन सक्छन् । उनीहरुलाई सरकारले दुई वर्ष बोन्डमा काम लगाउँछ । एनेस्थेसियामा एमडी गरेका डाक्टरलाई प्रादेशिक अस्पतालमा पठाउँदा आइसियू व्यवस्थापन गर्न सक्छन् । हरेक प्रादेशिक अस्पतालमा कम्तिमा ६–७ जना र हरेक जिल्ला अस्पतालमा कम्तिमा २–३ जनाका दरले यस्ता डाक्टर पठाउने बित्तिकै समस्या समाधान हुन्छ ।
तर त्यो बोन्डमा पठाएको डाक्टरलाई हरेक ५–६ महिनामा पहुँचको आधारमा सरुवा बन्द गर्नुपर्छ र दुई वर्षसम्मलाई एकै ठाउँको अस्पतालमा व्यवस्थापन गर्न लगाइयो भने बल्ल त्यहाँको सेवा स्थिर हुन्छ ।
दरबन्दीको समस्या
सरकारले नयाँ दरबन्दीहरु खोल्न सकेको छैन । डाक्टर नभएको गुनासो गरेर मात्र हुँदैन । कतिपय जिल्ला अस्पतालमा एनेस्थेसिया एसिस्टेन्ट र सिएमएले एनेस्थेसिया दिइरहेको छ । जुम्लाका बिरामीलाई डाक्टरले एनेस्थेसिया दिन नपर्ने तर काठमाडौँका बिरामीलाई चाँही एनेस्थेसियाको डाक्टर नै चाहिने भन्ने हुँदैन । जुम्ला र काठमाडौंका मानिसबीच राष्ट्रले भेदभाव गर्न मिल्दैन । त्यसैले अपरेशन हुने ठाउँमा एनेस्थेसिस्टको दरबन्दी खोल्नुपर्छ ।

अहिले नेपालमा पाँच सयभन्दा बढी एनेस्थेसिस्ट चिकित्सकहरु छन् । एनेस्थेसियाको डाक्टर र सर्जन भएमा स्थानीय तहमा प्राइमरी लाइफ सेभिङ सर्जरीहरुमा समस्या हुँदैन । यसले गर्दा प्रादेशिक अस्पताल र केन्द्रमा यस्ता बिरामीको चाप कम हुन्छ । यससँगै बिरामी ट्रान्सपोर्टमा हुने मृत्यु र अन्य बेथितीहरु पनि कम हुन्छन् । बिरामीले धेरै दुःख पाउँदैनन् ।
स्वास्थ्य मन्त्रालयले भर्खरै नेपालको लागि आउँदो १० वर्षको लागि हेल्थ केयर वर्करको प्लानिङ गरेर त्यसलाई प्रकाशित गरेको छ । तर दुर्भाग्यको कुरा, त्यसमा क्रिटिकल केयर विभागमा काम गर्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको नाम देखिएन ।
स्वास्थ्य मन्त्रालय जस्तो संस्थाले यस्तो प्लानिङ गर्दा सबैलाई आश्चर्य बनाउने गरी कसको सल्लाह लिन्छ ? यस्ता गहन विषयको प्लानिङ गर्दा सम्बन्धित विषयको विशेषज्ञ जस्तै नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन, क्रिटिकल केयर नर्सेस एसोसिएशन अफ नेपालसँग परामर्श लिएर गर्यो भने परिणाम राम्रो हुन्छ । त्यसपछि भने बागमती प्रदेशले प्रादेशिक प्लानिङका लागि सबै निकायसँग परामर्श गरेको भेटियो । जुन उचित छ र सबै तर्फबाट राम्रो प्रतिक्रिया आएको छ ।
गहन बिरामीको ट्रान्सपोर्ट व्यवस्था
क्रिटिकल बिरामीहरुको मृत्यु सबैभन्दा बढी बिरामी ट्रान्सपोर्ट गर्दा भएको पाइन्छ । जस्तोः शिक्षण अस्पतालमा क्रिटिकल केयरका बिरामीलाई अन्य अस्पतालबाट ल्याउनुपर्यो भने ल्याउने खासै केही व्यवस्था छैन । व्यक्तिगत प्रयासबाट मात्र ल्याउन सकिन्छ । अथवा १०२ वा प्राइभेट अस्पतालको ट्रान्सपोर्ट टिमको सहायता लिनुपर्छ । वीर अस्पताल पनि अन्यत्र बिरामी लिन जाँदैन । नीजी अस्पतालहरुले पछिल्लो समय सुरु गरेको भएपनि सरकारी अस्पतालमा इमर्जेन्सी मेडिकल टिम वा पेसेन्ट ट्रान्सपोर्ट टिमको सिस्टम छैन । त्यसको पनि विकास तथा व्यवस्थापन गर्न जरुरी देखिन्छ ।
दरबन्दीको समस्या
हालसम्म तीन सयभन्दा बढी क्रिटिकल केयरमा तालिम प्राप्त नर्स उत्पादन भइसकेका छन् । क्रिटिकल केयर नर्सिङमा पनि दरबन्दीकै समस्या छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, आइसियूमा एकजना बिरामीलाई एक जना नर्सले हेर्नुपर्छ । जस्तोः दश बेडको आइसियू चलाउँदा दुईजना बिरामीलाई एक नर्स दिँदा पनि कम्तिमा ३० जना नर्स आवश्यक पर्छ । सरोकारवाला निकायले यसबारे सोचेकै छैनन् ।
अब नेपालमा पनि स्पेसियलिटी नर्सिङको रजिस्ट्रेसन सिस्टम गराउनुपर्ने समय आइसकेको छ । आइसियूमा काम गर्ने नर्सको क्रिटिकल केयर नर्स रजिस्ट्रेसन भएको हुनुपर्छ र सो गरेको अवस्थामा मात्र आइसियूको बिरामीहरुले उचित केयर र म्यानेजमेन्ट पाउँछन् ।
हामी सबैले बुझ्नपर्ने कुरा के हो भने ‘नर्सिङ इज अ साइन्स’ । त्यसैले यसको उचित व्यवस्थापन नभएमा डाक्टरले औषधि लेख्दैमा बिरामी ठिक हुँदैनन् । क्रिटिकल केयर बिरामीको नतिजा (आउटकम) राम्रो आउन आइसियू नर्सको भुमिका महत्वपूर्ण हुन्छ ।
अलाइड हेल्थ केयर फोर्स इन आइसियू
आईसियू बिरामी केयरमा क्लिनिकल फर्मासिस्ट, फिजियोथेरापिस्ट र पोषणविद्को भुमिका अझ बढी महत्वपूर्ण हुन्छ । क्लिनिकल फर्मासिस्टले आइसियूका चिकित्सकले प्योजना गरेको मेडिसिनको उपयोगिता, त्यसको अन्य ड्रगसँगको अन्र्तक्रिया, डोजिङ, उपलब्धता, तयारी, साइड इफेक्टको अनुगमन गर्छन् । फिजियोथेरापिष्टले बिहानदेखि बेलुकासम्म बिरामीलाई उठाउने, व्यायाम गराउने, फिजियोथेरापी गराउने र हिँडाउने गर्नुपर्छ । खानपान हेर्न पोषणविद् चाहिन्छ । सरकारी अस्पतालहरुमा डाक्टर र नर्सको दरबन्दीको चपेटामा अल्झिएका हामीले यस्तो महत्वपूर्ण अलाइड हेल्थ केयर फोर्सको बारेमा सोच्न सकेका छैनौं ।
इन्फेक्सन कन्ट्रोल नर्सको भूमिका
प्रति एक सय बेडको अस्पतालमा एकजना इन्फेक्सन कन्ट्रोल नर्स आवश्यक हुन्छ । यो नेपालको साथै विभिन्न देशको गाइडलाइमा पनि आइसकेको छ । शिक्षण अस्पतालमा अहिले आठ सय बेड छन् । आठ सय बेडलाई ८ जना इन्फेक्सन कन्ट्रोल नर्स आवश्यक पर्छ । तर मुस्किलले इन्फेक्सन कन्ट्रोल नर्स पाँच जना छन् । कोभिडको समयमा इन्फेक्सन कन्ट्रोल नर्सको मद्दतले धेरै सहज भयो । यस बिधाको उपयोगिताको बारेमा कोभिड महामारीले देखाइसकेको छ । उनीहरुले अन्य स्टाफहरुलाई पीपीइ लगाउनेदेखि सबै सुरक्षा उपाय सिकाए । हामीसँग अहिले ३० भन्दा बढी इन्फेक्सन कन्ट्रोल नर्स प्रशिक्षक छन् भने आइसीएन पनि एकसय भन्दा बढी प्रमाणित भइसकेका छन् ।

इन्फेक्सन कन्ट्रोलमा पनि स्पेसियालिटी रजिस्ट्रेसनको जरुरी छ । यसकासाथै प्रत्येक सरकारी प्रादेशिक अस्पतालमा कम्तिमा ४ जना इन्फेक्सन कन्ट्रोल नर्स र प्रत्येक जिल्ला अस्पतालमा कम्तिमा २ जना आइपिसि नर्सको दरबन्दी खोलिनुपर्छ ।
आइसियू चलाउनको लागि पूर्ण जनशक्ति
आइसियू कक्षमा एकजना कन्सल्टेन्ट डाक्टर अनिवार्य बस्नुपर्छ । साधारणतया दश बेडको आइसियूका लागि एकजना डाक्टर (Medical Officer Or Resident ) २४ घण्टा नै आइसियूभित्र चाहिन्छ ।
१० बेडको आइसियू सञ्चालनको लागि कम्तिमा २ जना एमडी गरेको कन्सल्टेन्ट, ४ जना मेडिकल अफिसर रेजिडेन्ट डाक्टर, ३० जना नर्स (१२ घण्टा सिफ्ट गरेमा), ४५ जना नर्स (८ घण्टा सिफ्ट गरेमा), एक जना इन्फेक्सन कन्ट्रोल नर्स, १ न्युट्रिसनिष्ट, २ फिजियोथरापिष्ट र १ जना फर्मासिस्ट चाहिन्छ । यति जनशक्ति भए बल्ल पूर्ण आइसियू बन्छ ।
अहिलेको अवस्थामा सरकारले म्यानपावर ट्रेनिङको चिन्ता लिनुपर्दैन । विभिन्न सोसाइटीज, अस्पतालहरुले त्यो ट्रेनिङ गराइरहेका छन् र ट्रेनिङ दिन सक्षम छौं । तर त्यो ट्रेनिङलाई मान्यता दिन जरुरी हुन्छ । सात वटा प्रादेशिक अस्पतालमा कम्तिमा २० बेडको आइसियू चलाउन पुग्ने गरी दरबन्दी खुलाउनुपर्छ ।
आइसियूले घाटा गराउँछ ?
अधिकांशको सोचाइ आइसियू सञ्चालन गर्दा घाटा हुन्छ भन्ने छ । वास्तवमा आइसियू चलाउन जानेपछि घाटा हुँदैन । नीजि अस्पतालले आइसियूबाट फाइदा लिइरहेका छन् भने सरकारी अस्पतालले पनि फाइदा लिन सक्छन् । खासमा सरकारी अस्पतालले आइसियू बेडको मूल्य नीजी अस्पतालको जस्तो राख्न नमिलेपनि आइसियूबाट घाटा हुँदैन । किनकी सरकारी अस्पतालमा बिरामीको चाप धेरै हुन्छ । आइसियू सधैँ भरिभराउ हुन्छ । आइसियूको लागि बिरामी प्रतिक्षा गरिरहेका हुन्छन् । त्यसको कारण शुल्क नै हो । बिरामी धेरै भएपछि टर्नओभर पनि धेरै हुन्छ । आइसियू भर्ना हुने बिरामीले अप्रत्यक्ष रुपमा अस्पताललाई फाइदा गराउँछन् । जस्तै आइसियूको बिरामीले दैनिक ल्याव टेस्ट गर्छन्, औषधिहरु किन्छन् । यसबाहेक उनीहरुले अन्य सामानहरु पनि किन्छन् । जसले अप्रत्यक्ष रुपमा फाइदा नै हुन्छ ।
नेपालमा आइसियू वेड
आधिकारिक तथ्याङ्क नभएपनि नेपालमा अनुमानित १५ सय आइसियू बेड रहेका छन् । त्यसमा पनि भेन्टिलेटरसहित सम्पूर्ण सुविधा भएको लेवल थ्री आइसियू बेड संख्या पाँच सयभन्दा बढी रहेका छन् । कोभिडको समयमा सरकारले एक हजार एचडियू (हाई डेफिसेन्सी यूनिट) बेड थपेको छ । एक हजार एचडियू बेड हरेक जिल्लालाई दशओटाका दरले बाढ्दा पनि दुइसय बेड अझै बाँकि रहन्छन् । बाँकिरहेका बेडलाई प्रादेशिक अस्पतालमा प्रयोग गर्न सकिन्छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सबै सरकारका एकेडेमिक सेन्टरहरुमा कम्तिमा २०÷२० बेडको लेवल थ्री आइसियू सञ्चालनमा ल्याउन जरुरी हुन्छ ।
आइसियू शुःल्क
सामान्यतया सरकारी अस्पतालको आइसियूमा दिनको १० हजार सम्म खर्च हुन्छ । यदि नीजी अस्पतालको आइसियूमा बिरामी राख्ने हो भने दिनको पचास हजारदेखि एक लाख सम्म खर्च हुनसक्छ ।
बीमालाई व्यवस्थित बनाउने
स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित नगरिँदा अस्पतालहरुलाई टाउको दुखाइको विषय बनेको छ । जस्तैः टिचिङ अस्पतालमा बीमा कार्यक्रम लागू गरेको केही समय भयो । तर बीमाले दाबी रुपियाँ १०–१५ प्रतिशत पनि दिएको छैन । सरकारी अस्पतालको दाबी भुक्तानी गर्न ६ महिना लागेपछि त्यो करोडौंको खर्च कसरी व्यहोर्ने ? बीमालाई महिनैपिच्छे दाबीको रिफन्ड गर्न नसक्ने भए बीमा कार्यक्रम विफल हुन्छ । त्यसलाई बन्द गर्नुपर्छ ।
रिफन्डका लागि बीमाको कार्यालयमा जाँदा दुई जना कर्मचारी भएको, सरकारबाट पैसा नआएको भन्ने मात्र सुनिन्छ । पूरा देशको बीमा दाबी हेर्ने विभागमा २ जना राखेर राष्ट्रिय स्वास्थ्य बीमा चल्छ ? कि त्यो बीमालाई पूरा कर्मचारी दिएर कार्यात्मक गर्नुपर्यो । पैसा समयमै दिनुपर्यो । नसक्ने भए जनतालाई झुक्याउन बन्द गर्नुपर्यो ।

बीमाको अर्को समस्या मूल्य भिन्नता हो । उदाहरणको लागि टिचिङ अस्पतालमा आइसियू भर्ना गर्दा केही प्रक्रिया पूरा गर्नुपर्यो । सिभिपी लाइन राख्दा अस्पतालमा एकहजार शुल्क लाग्छ । बीमामा त्यसको पाँचसय मूल्य छ । यसबीचको पाँचसय कसले तिर्ने ? अर्को उदाहरण टिचिङमा एपेन्डिक्सको अपरेशन गर्न जेनरल बेडमा बस्नुपर्दा १२ हजार रुपियाँ पर्छ । बीमा दाबी गर्दा बीमाले ८ हजार मात्र व्यहोर्छ । अस्पतालको कम शुल्क भन्दा कम त्यो बाँकी ४ हजार कसले तिर्ने ? एउटा प्रोसिजरमा ४ हजार बेरुजु आउँछ भने अरु सबैको गर्दा त करोडौँ रुपियाँको बेरुजु आउन सक्छ । त्यसले अस्पतालको नाममा बेरुजु आउँछ । त्यसको लागि पोलिसी ऐन बनाएको छैन । यसले गर्दा प्रतिवर्ष शिक्षण अस्पतालबाट ४–५ करोडको बेरुजु आउने पक्का छ । सरकारले कार्यक्रम जनताले सेवा पाउँछन् भनेर सुरु गर्यो । हाल शिक्षण अस्पतालमा स्वास्थ्य बीमा हेर्ने ११ जना कर्मचारी छन् । दिनमा एकसयभन्दा बढी बिरामीले पाँच लाखमाथिको सेवा पाउँछन् । त्यसैले सरकारले यसबारे पोलिसी बनाउन जरुरी छ । राम्रोसँग सिस्टममा अपडेट नहुँदा बीमा दावी गर्न पनि झमेला छ । ६ महिनादेखिको बीमा दावी भुक्तानी उपलब्ध हुन सकेको छैन । यसरी बीमाबाट महिनाको एकदेखि डेढ करोड रुपियाँ घाटा भइरहेको छ ।
आइसियूमा बिरामीले पहिले नै शल्यक्रिया, वार्डमा, ओपिडी टेस्ट र उपचार गराएर बीमाको रकम थारै मात्र बाँकी हुन्छ । जब बिरामी आइसियूमा पुग्छ र बीमा अति आवश्यक हुन्छ । त्यसबेला बीमाको रकम सकिसकेको हुन्छ । त्यसैले आइसियूमा पुगेपछि बिरामीको बाँच्न पाउने अधिकारलाई मध्यनजर गर्दै बीमाको दायरा फराकिलो बनाउनुपर्ने देखिन्छ । यसले बचाउन सक्ने बिरामीलाई सहयोग पुग्छ ।
सरकारको प्रतिबद्धता
आइसियू सधैँ फाइदाका लागि मात्र खोल्ने होइन । यो राष्ट्रले आफ्ना नागरिकलाई दिने सेवा हो । जस्तोः नेपालमा मिर्गौला प्रत्यारोपण हुँदा बिरामीलाई प्रत्यक्ष फाइदा पुग्छ, उपचारका लागि बिदेश जानुपर्दैन । त्यसैले सरकारले सहुलियत दिएर यस्तो उपचार गराउँछ । त्यसैगरी सरकारले सहयोग नगरेसम्म सरकारी अस्पतालहरुमा आइसियू चल्न सक्दैन । अहिले सरकारी अस्पतालमा बिरामीको चाप धानिनसक्नु छ । सातै प्रदेशमा भेन्टिलेटर सहितको कम्तिमा २० बेडको आइसियू बेड भएका अस्पताल निर्माण गरेमा बिरामी चाप न्युनिकरण गर्न सकिन्छ । सरकारले बीमा कार्यक्रमलाई थप बलियो बनाएर आइसियूलाई मद्दत गर्न सक्छ । आइसियूमा पुगेपछि बिरामीको बीमाको दायरालाई अझ बढाउनुपर्छ ।
आइसियूका बिरामीलाई पनि एकलाख
सन् २०१५ तिर आइसियूको बिरामीलाई पनि एकलाख रुपियाँ सहुलियत दिनुपर्छ भन्ने माग राखेर स्वास्थ्य मन्त्रालयलाई हामीले पत्र लेख्यौं । तर मन्त्रालयले केहि वास्ता गरेन । यदि लेवल थ्री आइसियूमा भर्ना भएका बिरामीलाई एक लाख दिएमा धेरै बिरामीलाई मृत्युको मुखबाट बचाउन सकिन्छ । एकलाख रुपियाँले सरकारी अस्पतालको चारदेखि पाँच दिनको खर्च धान्न सक्छ । अमेरिका र क्यानडा जस्ता विकसित मुलुकमा आइसियूको बसाइ १.५ दिन सम्मको हुन्छ । इन्डियामा बिरामीहरु औसतमा ३ दिन सम्म बस्छन् । आइसियूका बिरामीलाई एकलाख रुपिँया सहयोग दिएमा पैसा नभएर उपचार गर्न नसक्ने नागरिकले उपचार पाउँछन् । (डा आचार्य त्रि.वि. शिक्षण अस्पतालमा कार्यरत हुनुहुन्छ ।)
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
