
सिकिस्त अवस्थामा रहेको बिरामीलाई स्पेशलाईज्ड हस्पिटलको इमर्जेन्सी कक्षसम्म सुरक्षित तवरले स्थिर अवस्थामा ल्याइपु¥याउन अघि बाटोमा गरिने उपचार पद्धतिलाई उपचारलाई प्री—हस्पिटल केयर भनिन्छ । यो कुनै पनि समस्यामा गर्नुपर्ने हुनसक्छ । जस्तो ट्रमा, हृदयघात, ब्रेन ह्यामोरेइज, पल्मोनरी आदि । जस्तोः कुनै व्यक्तिको कार्डियाक अरेस्ट भएमा उसलाई सिपिआर गर्ने, पोर्टेवल डिफिब्रिलेटर जडान गर्नेदेखि, हातगोडा भाच्चिएको अवस्थामा स्टेबलाइज गर्ने, हृदयघात भएमा तत्कालका लागि दिनुपर्ने औषधि दिएर ल्याउनुपर्छ । यसरी बाटोमा गरिने मेडिकल इन्टरभेन्सन प्री—हस्पिटल केयर हो ।
प्री—हस्पिटल केयरको महत्व
जस्तैः हृदयघात भएको व्यक्तिलाई इमर्जेन्सीको गेटदेखि क्याथ ल्याबमा लग्ने बेलासम्मको एउटा सिमित समय हुन्छ । अथवा कुनै पनि बिरामीलाई इन्फाक्सन भएमा थ्रोम्बोलाईसिस वा थ्रोम्बेक्टोमी गर्नुपर्छ । मुटुमा मायोकार्डियाल इन्फाक्सन र मस्तिष्कघातमा सेरेब्रल इन्फाक्सन हुनसक्छ । त्यसको निश्चित समय हुन्छ । हामीले ३ घण्टाभित्र ब्रेनको इन्फाक्सन भएको बिरामीलाई थ्रोम्बोलाईसिस गर्न सकेमा प्रतिफल राम्रो हुन्छ । हृदयघात भएको बिरामीलाई समयमा इन्टरभेन्सन गर्न सकेको अवस्थामा राम्रो हुन्छ । ठूलो ट्रमाको बेलामा ब्लिडिङ भएमा, ठूला ठूला हड्डी भाँचिएमा निश्चित गोल्डेन आवर हुन्छ । त्यो गोल्डेन आवरभित्र बिरामीलाई ल्याउनुपर्छ । प्री हस्पिटल केयर भएको ठाउँमा होल वडी इन्फेक्सन (सेप्सिस) मा निश्चित समयभित्र औषधि डेलिभरी गरिसक्नुपर्छ ।
बिरामीलाई निश्चित किसिमले बोक्ने, एम्बुलेन्सम्म हाल्ने, हपिस्पटलमा ल्याउने प्री हस्पिटल केयरअन्तर्गत पर्दछ । बिरामीलाई कुन पोजिसनमा ल्याउने, कसरी ल्याउने भन्ने पनि प्री हस्पिटल केयरको एउटा पाटो हो । सबै पद्धति फलो गरेर बिरामीलाई सकुसल लाईफ सेभिङ इन्टरभेन्सन गर्दै इमजेन्सीको ढोकासम्म ल्याउन प्री हस्पिटल केयरको कन्सेप्टले निकै महत्वपूर्ण मानिन्छ ।
प्री हस्पिटल केयरको शुरुवात्
१८ औं शताव्दीताका फ्रेन्च मेलिटरी नेपोलियन बोनापार्टको पालामा नेपोलियनले आफू युद्ध गर्ने ठाउँमा प्री हस्पिटल केयर सेवा दिने दृष्टिकोणले आफ्ना सर्जन चिकित्सकहरुलाई लाने गर्नुभएको थियो । त्यो बेलामा घाइते सैनिकहरुलाई घटनास्थलमा नै उपचार गरेर ल्याउने वा कतिलाई घटनास्थलमा नै उपचार गरेर युद्धमा पठाउने वा कतिलाई त्यही आराम गराउने गरिन्थ्यो । त्यो बेलादेखि प्री हस्पिटल केयरको अवधारणा आएको पाइन्छ । त्यसपछि भएको दोस्रो र तेस्रो विश्वयुद्धमा प्री—हस्पिटल केयरको संलग्नता बढ्दै आयो । विकसित मुलुकहरुमा हेल्थ केयर सिस्टमको चत्रमा प्री हस्पिटल केयरको इमर्जेन्सी डिस्चार्ज, एड्मिसन, वार्ड, आईसियु, रिह्याविलिटेसनसम्मको केयर जोडिएको हुन्छ । पश्चिमी विकसित देशहरुमा प्री—हस्पिटल केयरको राम्रो व्यवस्था छ । तर त्यही अनुपातमा अविकसित र अल्पविकसित देशमा प्री हस्पिटल केयरको राम्रो विकास हुन सकेन ।
नेपालमा कहिलेदेखि शुरु भयो ?
प्रि हस्पिटल केयरअन्तर्गत इमर्जेन्सी मेडिकल सर्भिस (इएमएस) र हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस (एचइएमएस) पर्दछ । मुलुकमा बीर हस्पिटलको निर्माण हुँदादेखि नै एम्बुलेन्सको व्यवस्था थियो र आवश्यकता महसुस हुने गर्दथ्यो । तर त्यतिखेर प्री हस्पिटल केयरको अवधारणा थिएन । त्यो बेलामा एम्बुलेन्सको काम डेडिकेटेड ट्याक्सी जस्तै थियो । यसरी क्रिटिकल बिरामीलाई अवस्था अनुसार डाक्टर एवं पारामेडिक्सहरुले प्राइमरी उपचार गरेर वा उपचार गर्दै थप उपचारका लागि सम्बन्धित विशेषज्ञ हस्पिटलको कोठासम्म पु¥याउनुपर्छ । यसलाई इमर्जेन्सी मेडिकल सर्भिस (इएमएस) पनि भनिन्छ ।
देशका सबै हस्पिटलमा आवश्यक साधन श्रोत नहुने भएकाले इन्टर हस्पिटल ट्रान्सफर पनि गर्नुपर्ने हुनसक्छ । यो पनि पी—हस्पिटल केयर अन्तर्गत नै पर्दछ । कुनै पनि ठाउँबाट सुविधासम्पन्न हस्पिटलसम्म आफैं आउँदा बिरामीको ज्यान जानसक्ने भएकाले प्री—हस्पिटल केयरको जरुरत पर्छ ।
कुनै ठाउँमा घटना घटेको थाहा पाउने बित्तिकै इमर्जेन्सी मेडिकल सर्भिसका डाक्टर एवं पारामेडिक्सहरु, नर्स तुरुन्तै पुगेर बिरामीलाई एम्बुलेन्स एवं हेलिकप्टरमा हालेर विशेषज्ञ हस्पिटलमा तत्काल पु¥याएर बिरामीको ज्यान जोगाएका हुन्छन् । यसरी दुर्घटनाको बढी सम्भावना भएका ठाउँहरुमा प्री—हस्पिटल केयर सेन्टर हुन जरुरी हुन्छ । अमेरिका, बेलायतजस्ता विकसित मुलुकहरुमा फोन गरेको १० देखि १५ मिनेटभित्र हेलिकप्टर वा एम्बुलेन्स घटनास्थलमा पुगेर बिरामीको उद्धार गरिसक्नुपर्ने प्रावधान छ । नेपालको सन्दर्भमा प्री—हस्पिटल केयरमा हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस् र ग्राउन्ड इमर्जेन्सी मेडिकल सर्भिस् प्रचलनमा छ । नेपालमा इमर्जेन्सी मेडिकल सर्भिसलाई ग्राउन्ड इमर्जेन्सी मेडिकल सर्भिस अन्तर्गत लिइन्छ । तर विदेशतिर हेलिकप्टर, एम्बुलेन्स वा पानीजहाज एम्बुलेन्स मेडिकल सर्भिसलगायत धेरै सेवाहरुको उपलब्धता हुन्छ । नेपालमा प्री—हस्पिटल केयरको अवधारणा छैन । प्री—हस्पिटल केयरको कन्सेप्ट र डिपार्टमेन्ट भएको हस्पिटलहरमा ग्रान्डी, मेडिसिटी, ह्याम्स र धुलिखेल हस्पिटल पर्दछन् । पहिलोपटक प्री—हस्पिटल केयरको डिपार्ट खोलेको हस्पिटल ग्रान्डी हस्पिटल हो । तर यी सेवा हस्पिटलमा आधारित इमर्जेन्सी मेडिकल सर्भिस (इमएमएस) मात्र हुन् ।

प्री—हस्पिटल केयरको सिस्टम फरक मोडलबाट चल्दछ । ग्राउन्ड एम्बुलेन्स सेवा त वीर हस्पिटल खोलेदेखि नै शुरु भएको थियो । त्यसमा इमएमएसको लोगो मात्र प्रयोग गरिएको छ । तर सिस्टमेटिक तरिकाले चल्न सकेन । सन् २००९ तिर प्रा.डा. राजेश गोँगल, प्रा.डा. प्रदिप वैद्यलगायतका व्यक्तिको सक्रियतामा गैरसरकारीस्तरको नेपाल एम्बुलेन्स सर्भिस (नास) को स्थापना भयो । यसले समुदायमा आधारित इएमएस सेवा शुरु गरेको थियो । ग्राउन्ड इएमएस सेवा हस्पिटल, समुदाय, विभिन्न क्लब एवं समितिहरुले सञ्चालन गरेका हुन्छन् । अहिले गैरसरकारी संस्था नासले कोटेश्वर, महाराजगञ्ज, गौशाला, सातदोवाटो लगायत उपत्यकाका विभिन्न ठाउँमा स्टेसन बनाएर ग्राउन्ड एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ । नासको एम्बुलेन्स सेवा चितवनमा पनि छ । नासले पोखरा, भैरहवा, व्ुटवललगायतका विभिन्न ठाउँमा स्टेसन राखेर समुदायमा आधारित इमएस सेवा देशव्यापी रुपमा सञ्चालन गर्ने अभियानका साथ काम गर्दै आएको छ । नासको इमर्जेन्सी हटलाइन नम्बर १०२ हो । यसको डिस्प्याचर अर्थात नियन्त्रण गर्ने मुख्य स्टेसन काठमाडौंको त्रिपुरेश्वर हो । त्यहाँ २४ सै घण्टा पारामेडिक्स उपलब्ध हुन्छन् । तर समस्या के छ भने भेन्टिलेटरमा भएको बिरामी एम्बुलेन्समार्फत ट्रान्सफर गर्न गाह्रो छ किनभने यसमा २४ सै घण्टा डाक्टर उपलब्ध छैनन् । उपकरण र औषधिको पूर्णरुपमा व्यवस्था छैन । यसमा केवल अक्सिजन, स्लाइन र सामान्य मेडिकेसन र पारामेडिक्सको मात्र सुविधा हुन्छ ।
इमर्जेन्सी मेडिकल सर्भिस (इएमएस) का प्रकार
फ्रान्को जर्मन मोडल
यो फ्रान्स र जर्मनीबाट शुरु भएको इएमएस सेवा हो । यो मोडलको इमर्जेन्सी मेडिकल सर्भिसमा एम्बुलेन्स भित्र डाक्टर, पारामेडिक्स, आवश्यक सम्पूर्ण उपकरण र सुविधाको व्यवस्था गरिएको हुन्छ । फ्रान्को जर्मन मोडलको इमर्जेन्सी मेडिकल सर्भिसले ‘स्टेवलाइज्ड एण्ड मूभ’ अथवा ‘स्टे एण्ड स्टेवलाइज’ को सिद्धान्त अवलम्बन गरेर बिरामीलाई घटनास्थलमा मेडिकल इन्टरभेन्सन गरेर स्टेबल बनाएपछि अस्पताल लैजानुपर्ने मान्यता राख्छ । युरोपमा धेरैजसो यो मोडेल चलेको हुन्छ र यसमा इमर्जेन्सी डिपार्टमेन्टमा काम गर्ने चिकित्सकको संलग्नता हुन्छ ।
एङ्लो अमेरिकन मोडल
यस प्रकारको अमेरिकन सिस्टमको इएमएस सेवामा पारामेडिक्सहरुको अध्ययन उच्च तहको हुने भएकाले धेरैजसो अवस्थामा डाक्टर बस्दैनन् । एङ्लो अमेरिकन मोडलका पारामेडिक्सहरुले चार पाँच वर्ष लगाएर इएमटी, इमटी वेसिक, इएमटी एड्भान्सड् पारामेडिक्सको कोर्ष गरेका हुन्छन् । त्यसैले पारामेडिक्सहरुले नै इएमएस सेवा नियन्त्रण गरेका हुन्छन् । यस मोडेलले ‘स्कोप एण्ड रन’ फिलोसोपी अवलम्बन गरेको हुन्छ ।
हाइब्रिड मोडल
बिरामीलाई आवश्यक परेको बेलामा चिकित्सक एम्बुलेन्समा रहने र नपरेको अवस्थामा पारामेडिक्सले व्यवस्थापन गर्ने हाइब्रिड मोडलको इएमएस हो । हाइब्रिड मोडलमा भेन्टिलेटरसहितको एडभान्स कार्डियाक लाइफ सपोर्ट (एसिएलएस) दिन मिल्ने एम्बुलेन्स हुन्छ । यस प्रकारको एम्बुलेन्स सेवा नेपालमा नेपाल मेडिसिटी, ग्रान्डी, धुलिखेल हस्पिटलमा मात्र उपलब्ध छ । चाँडै ह्याम्स हस्पिटलमा पनि शुरु हुँदैछ । तर नाससँग भएको बेसिक लाइभ सपोर्ट (बिएलएस) दिन मिल्ने किसिमको एम्बुलेन्स सेवा हो ।
हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस (एचईएमएस)
दोस्रो विश्वयुद्धताका ट्रमाका बिरामीलाई घटनास्थलबाट उठाउन हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस विकास गरिएको थियो । खासगरी ट्रमाका क्रिटिकल अवस्थाका बिरामीको उद्धारका लागि यो सेवा उपलब्ध गराइन्छ । हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस अहिले धेरै लोकप्रीय हुँदै आएको छ । यो सेवा पनि विभिन्न मोडलमा उपलब्ध गराइन्छ । ट्रेडिस्नल टाइपको मोडल हस्पिटल र थर्ड पार्टी हेलिकप्टर अपरेटर्सबीच सम्झौता भएर आवश्यक परेको बेलामा बिरामी उद्धारका लागि लिने हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस ट्रेडिस्नल मोडल हो । आवश्यक परेको बेलामा मात्र अस्पतालले हेलिकप्टरको माग गर्छ । यसमा मेडिकल क्रु हस्पिटलले प्रदान गर्छ । समुदायमा आधारित मोडेल कुनै कम्पनिले हेलिकप्टर र मेडिकल क्रु दुवै प्रदान गर्छ ।
सरकारले चलाएको मोडेल यसमा सरकारले सम्पूर्ण जिम्मा आफैंले लिएर एचईएमएस सेवा उपलब्ध गराउँछ । आकस्मिक दुर्घटनामा परी क्रिटिकल अवस्थाका बिरामी उद्धारका लागि राष्ट्रले सञ्चालनमा ल्याएको हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिसलाई नेशनल टाइपको मोडल भनिन्छ । यो मोडलमा एक ठाउँबाट अर्को ठाउँमा बिरामी ल्याउन र पु¥याउन देशले नै सेवा सञ्चालनमा ल्याएको हुन्छ ।

अस्पतालको आफ्नै मोडेल
यसमा हेलिकप्टर र मेडिकल क्रु दुवै हस्पिटलले नै उपलब्ध गराउँछ । सन् १९५०—१९६० को दशकमा नेपालमा हेलिकप्टर भित्रिएको हो । शुरुमा वेल हेलिकप्टर सिंगापुरबाट लिजमा ल्याएर शुर गरिएको नेपालको हेलिकप्टर सेवाको शुरुवाती अवस्थामा रसियन एमआई फोर हेलिकप्टरले अति दुर्गममा सेवा प्रदान गरेको थियो । हाल मुलुकमा करिब ३ दर्जन जति हेलिकप्टर रहेका छन् । नेपालमा सन् २०१३ भन्दा अगाडि सम्म भेन्टिलेटरबाट बिरामी उचित तरिकाले ट्रान्सफर गर्न र हेलिकप्टरलाई आई.सी.यू.मा कस्टोमाइज गर्न सकिन्छ भन्ने कन्सेप्ट थिएन । नेपालका केही अस्पतालहरुमा हेलिकप्टरको प्याड ग्राउण्ड भएपनि रुफ टप हेलिप्याड थिएन ।
सन् २०१२—२०१३ तिर अस्पतालको छतमा हेलिप्याड बनाउने पहिलो काठमाडौंको बल्ख्ुस्थित बयोधा हस्पिटल हो भने दोस्रो ग्रान्डी, तेस्रो मेडिसिटी, चौथो झापाको बिएनसी मेडिकल कलेज र पाँचौँ ह्याम्स हस्पिटल नै हो । बुटवलको क्रिमसन हस्पिटलमा छतमा नभएपनि ग्राउन्डमा राम्रो हेलिप्याड छ ।
पछिल्लो समयमा निर्माण हुन लागेका अधिकांश हस्पिटलहरुले छतमा हेलिप्याड बनाउन थालेका छन् । सन् २०१३ भन्दा पहिला कुनै ठाउँमा दुर्घटना भएर हेलिकप्टर मगाएमा काठमाडौँ एयरपोर्टभित्र अवतरण गरेर अन्यत्र लैजाने गरिन्थ्यो । सन् २०१३ अक्टोवर २९ तारेखका दिन धेरै प्रोफेस्नल तरिकाले रियल हेलिकप्टर इभ्याक्युएसन ग्रान्डी हस्पिटलबाट थालनी गरियो ।

देशको कुनै पनि भागमा जटिल केस भएमा हेलि उद्धार गर्ने अभियान शुरु भएको छ । यसबाट आई.सी.यू.का बिरामीलाई एक ठाउँबाट अर्को ठाउँमा ट्रान्सफर गर्न सजिलो भएको छ । नेपालमा डेडिकेटेड हेलिकप्टर एम्बुलेन्स छैन । त्यसैले बिरामीको अवस्थाबारे हामीले दिएको जानकारीका आधारमा एअरपोर्टबाट मगाइएको हेलिकप्टर सिट निकालेर वा फोल्ड गरेर खाली गरेर ल्याइन्छ । त्यसमा १० मिनेटभित्र हाम्रा इमर्जेन्सी उद्धारका प्राविधिहरुले भेन्टिलेटर, अक्सिजन स्टैण्ड, मनिटर, बिरामी बोक्ने व्याग ,औषधि दिने यन्त्र, मेडिसिन बक्स र बिरामीलाई सुताउने पोसिजसनको तत्काल व्यवस्थापन गरिसकेका हुन्छन् । यो प्रचलन हामीले नेपालमा शुरु गरेका थियौं । अहिले यो निकै विस्तारित गतिमा बढिरहेको छ । अहिले हामीलाई नेशनल भन्दा पनि इन्टरनेशनल रिकग्निसन धेरै भएको छ ।
नेपालमा भएको यो युनिक सिस्टम हो । वरिपरिका देशमा यस प्रकारको सिस्टम छैन । कि उनीहरुसँग हेलिकप्टर एम्बुलेन्स नै हुन्छ तर कल गरेर हेलिकप्टर नै खाली गरेर ल्याउने र आई.सी.यू.मा कस्टोमाइज गर्ने भन्ने प्रचलन छैन । भारतको पोन्डिचरीमा एक दुई वटा हेलिएम्बुलेन्स छ । त्यसमा डाक्टर सँधै बसिरहेका हुन्छन् । उनीहरुको अगुवाइमा बिरामीको उद्धार हुने गर्छ ।
कस्ता ठाउँबाट बिरामीको उद्धार हुन्छ ?
पहिलोपटक ग्रान्डीमा बेलायतबाट ब्रिटिस आर्मीले भेन्टिलेटरमा रहेका उसको बुबालाई ट्रान्सफरका लागि गरेको आग्रह हामीले पूरा गरेका थियौं र सफलतापूर्वक उपचार गरेर मात्र उनलाई भैरहवा पठाइएको थियो । त्यसपछि बिस्तारै बिस्तारै कल आउने क्रम बढ्न थाल्यो ।
सन् २०१४ मा फ्रेन्च राजदूताबासको आग्रह अनुसार बरुन्चे हिमालको २० हजार फिटमा फसेका केही फ्रेन्च नागरिकको उद्धार गरिएको थियो । त्यहाँ हामीले २—३ वटा हेलिकप्टरमा टिम गएर उसको सफल उद्धार गरी उपचार गरेर ७ औं दिनमा फ्रान्स पठाउन सफल भएका थियौं । विकासको क्रममा आजभोलि हाइवेमा नै हेलिकप्टर अवतरण गरेर तुरुन्त उपचार गर्नेदेखि देशको अति विकट स्थानसम्म पुगेर बिरामी ट्रान्सफर गर्दै आएका छौं । तर पनि अधिकांश केयर भने आई.सी.यू.बाट आई आई.सी.यू. ट्रान्सफर नै छ ।

एम्बुलेन्समा हुनुपर्ने क्राइटेरिया
एम्बुलेन्सलाई क, ख, ग वा एसिएलएस वा वीएलएस आदि वर्गमा वर्गिकरण गरिएको हुन्छ । क वर्गको एम्बुलेन्स एडभान्स कार्डियाक लाइफ सपोर्ट (एसिएलएस) भएको एम्बुुलेन्स हो । त्यसमा डाक्टर, पारामेडिक्स, भेन्टिलेटर, कार्डियाक एरेष्टमा प्रयोग गरिने डिफ्रिबेलेटर मेसिन लगायतका उपकरण र जनशक्तिको व्यवस्था हुन्छ । अन्य केही वर्गका एम्बुलेन्समा सिपिआर गर्दै बिरामी ल्याउने गरिन्छ भने र कतिपय एम्बुलेन्समा सुत्ने बेड र अक्सिजन मात्र हुन्छ ।
नेपालमा भएका ९९.९ प्रतिशत एम्बुलेन्स ट्याक्सी जस्तै हुन्छ । यसमा सुत्ने वेड र अक्सिजन मात्र हुन्छ । बिरामी ल्याउने क्रममा आकाशमा कसैलाई पनि केहि भएको रेकर्ड छैन । अस्पतालमा पुगेका अन्तिम अवस्थाका बिरामीहरुको मृत्युदर २ देखि ३ प्रतिशतसम्म भएको छ ।
इमर्जेन्सी मेडिकल सर्भिसको चुनौति
हेलिकप्टरको भाडा शुल्क महँगो हुने भएकाले सबैको पहुँचमा छैन । त्यसैले धेरैको ज्यान गइरहेको छ । इन्स्योरेन्स पोलिसी वा वास्केट फन्डलगायतबाट सहुलियत दिनुपर्छ । हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस दिने डाक्टर, पारामेडिक्स, नर्सको अभाव छ भने हेलिप्याड भएका अस्पतालहरुको कमी छ । डेडिकेटेड हेलिकप्टर एम्बुलेन्स छैन । तर पछिल्ला दिनहरुमा डेडिकेटेड हेलिकप्टर देशमा चाँडै आउने संकेत देखिएपनि कहिलेकाँही आपत्कालीन अवस्थाका बिरामीलाई तत्काल उद्धार गरेर ज्यान बचाउन सकिदैन । नेपालको भौगोलिक विकटता र मौसम परिवर्तनले बिरामी उद्धारमा समस्या पार्ने गरेको छ । बिरामी उद्धारका लागि नाइट भिजन हेलिकप्टरको अभाव छ ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
