
जब कोभिड आयोे, यसबारे सबै अनभिज्ञ थिए । रोगबारे कसैलाई केही थाहा थिएन । यो रोग कसरी सर्छ ? यसले शरीरमा के कस्ता जटिल समस्या निम्त्याउँछ ? उपचार विधि के के हुन् ? लगायतका प्रश्नबारे धेरै जानकारी थिएन । बिरामीहरुको उपचार गर्दा गर्दै मरिने डर थियो । सुरुमा धेरै अस्पतालले बिरामी भर्ना र उपचार गर्न चाहेनन् । तर हामीले हिम्मत गरेर उपचार शुरु गर्यौँ ।
हाम्रो क्रिटिकल केयरमा काम गर्ने अधिकांश जनशक्तिहरु (इन्टेन्सिभिष्ट) नेपाललगायत युके, अमेरिका, सिंगापुर, क्यानडा र भारतमा तालिम पाएर आएका छन् । यसले प्रत्यक्ष फाइदा पुग्यो ।
धेरै वर्ष पहिला सार्स इन्फ्युएन्जाको महामारी फैलिएको थियो । त्यतिबेला उपचारमा संलग्न धेरै डाक्टर र नर्सहरु पनि मरेका थिए । विदेशीहरुले त्यसबाट पाठ सिकिसकेका थिए । उनीहरुले अस्पतालमा श्वासप्रश्वास सम्बन्धी रोग लिएर आउने बिरामीहरुले यस्तै नयाँ महामारी फैलाउन सक्छन भनेर बुझेका थिए । बिरामीको रोग आफूलाई सर्न सक्छ र आफूले अरुलाई सार्न सकिन्छ भनेर हाम्रो तालिम नै सिकाइएको थियो ।
हुन त पीपीइ, फेशशिल्ड पहिले देखिनै प्रयोग गरिदै आएका साधन हुन् । तर नेपालमा कोभिडपछि यो चर्चित भयो । विदेशमा तालिम लिँदा हामीले सबै सिकेर आएका थियौँ । कोभिड आउनुअघि नै अस्पताल स्थापनाको पहिलो दिनदेखि नै इन्फेक्सन कन्ट्रोल पोलिसी लागू गरेका थियौं । यसले गर्दा कोभिडका बिरामी उपचार गर्नमा सहयोग भयो क्षयरोगका बिरामीहरुको उपचार गर्दा पहिले देखिनै एन ९५ मास्क र फेस शिल्ड प्रयोग गर्दै आइरहेका थियौँ । त्यस्तै एक बिरामीबाट अर्को बिरामी र बिरामीबाट स्वास्थ्यकर्मीमा नसर्ने तरिकाले आइसियू कक्षको व्यवस्था गरिएको थियो । आइसियू भित्र पनि छुट्टै क्याविनको व्यवस्था गर्नुपर्छ जुन हामीले गरेका छौं । बिरामीको उपचार गर्दै जाँदा धेरै चुनौतिको सामना भने गर्नु नै प¥यो ।
आईसियू रिकभरी दर
कुनै बिरामीको एक भन्दा बढी अंग (मल्टिपल अर्गान) फेल भएको अवस्थामा भेन्टिलेटर, औषधि वा मोनिटरिङ सपोर्टको आवश्यकता पर्दछ । यस्ता जटिल अवस्था भएका बिरामीलाई आइसियूमा राख्नुपर्छ । उसलाई एक जना नर्सले २४ सै घण्टा रेखदेख र अवलोकन गर्नुपर्छ । मोनिटरमा इसिजी र अक्सिजनको मात्रा घटबढ भएनभएको हेरिरहनुपर्छ ।
वास्तवमा एक भन्दा बढी अंग फेल भएको संकेत देखिएमा सम्भावित जोखिम टार्न बिरामीलाई आइसियूमा राख्ने हो । अंग फेल हुन अगावै आइसियूमा राख्न सकेमा बिरामीको ज्यान जानबाट जोगाउन सकिन्छ ।
अर्को कुरा बिरामीहरु आइसियूमा जाने वित्तिकै सबै मर्छन् भन्ने हुँदैन । आजभन्दा १० वर्ष पहिले क्रिटिकल केयर फिजिसियन, नर्स नहुँदा धेरै विरामीको आइसियूमा मृत्यु हुने गर्दथ्यो । हामी पढ्नेबेला पनि अवस्था त्यस्तै थियो । अहिले समय परिवर्तन भइसकेको छ । अहिले आइसियूमा आएका ८० देखि ९० प्रतिशत बिरामीहरु निको भएर घर फर्किएको पाएको छु । भेन्टिलेटरमै राख्नुपर्ने अवस्थाका पनि बिरामीको मृत्युदर ३० प्रतिशतभन्दा बढी छैन । १० वर्ष अघि भेन्टिलेटरमा राखेका बिरामी प्रायः कोहि बाँच्दैनथे ।

मल्टि अर्गान फेल
कोभिडले धेरैमा फोक्सोको खराबी (निमोनिया) बढाएको पाएको छौँ । निमोनिया भएको केहि बिरामीलाई भेन्टिलेटर नै चाहिँदैन । कतिपय बिरामीलाई भने भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ । कोरोना भाइरस संक्रमणले फोक्सोमा असर पु¥याएपछि अन्य किटाणु वा फंगसका कारण संक्रमणलाई थप बढाउन सक्छ । यस्तो अवस्थामा मिर्गौलामा खराबी, ब्लडप्रेसर कम हुने, मुटु कमजोर हुने जस्ता जटिल समस्या देखिन सक्छन् ।
सुरुका दिनमा औषधि नै थाहा नभएकाले धेरैले ज्यान गुमाउनुपरेको थियो । त्यस्तै बृद्धबृद्धा, दीर्घ रोगी, विभिन्न रोगका औषधि खाइरहेका, मोटोपन भएका, रोग सँग लड्ने क्षमता कम गराउने औषधि खाइरहेका व्यक्तिहरुको कोभिड संक्रमणबाट मृत्यु हुने सम्भावना बढी हुन्छ । त्यसैले कोरोना संक्रमण भएर स्वास्थ्यमा समस्या देखिने बित्तिकै अस्पताल पुगेका बिरामीलाई बचाउन सकिन्छ । एकदुइओटा राम्रा औषधिहरु पनि छन् जसको प्रयोगले बिरामी बाँच्ने दरनै बढ्ने र आइसियूमा आउनुपर्ने दर घटेर जान्छ । ति औषधि बिरामीहरुलाई छिटै चलाउन सकेमा प्रतिक्रिया राम्रो आउँछ । फोक्सो बिग्रन पाउँदैन ।
आइसियू चाहिने बिरामी कसरी पहिचान गर्ने ?
एक भन्दा बढी अंग फेल भएको वा अंग फेल हुने सम्भावना भएका बिरामीलाई आइसियूमा राख्नुपर्छ । आईसियू आवश्यक पर्ने अवस्था पहिचान गर्ने धेरै आधारहरु छन् । जस्तोः एक लिटर अक्सिजन भएपुग्ने बिरामीलाई १२ घण्टापछि बढेर १२ लिटर अक्सिजन आवश्यक परेमा स्वास्थ्य अवस्था बिग्रन थालेको पहिचान गर्न सकिन्छ । यसैगरी सुरुमा राम्रोसँग भएको पिसाब बिस्तारै घटेमा मिर्गौलाको समस्या भएको बुझ्नुपर्छ आदि ।
यसरी उच्चरक्तचाप, बिरामीको होस, निमोनियाको अवस्था, मिर्गौलाको क्षमता, कलेजोको क्षमता, अक्सिजनका आवश्यकताका आधारमा विरामीको अवस्थालगायत विभिन्न स्कोरिङ सिस्टमका आधारमा समस्या पहिचान गरिन्छ ।
मल्टिडिसिप्लिनरी सपोर्ट
आइसियूमा टिमवर्कको महत्वपूर्ण भूमिका रहन्छ । इन्टेसिभिस्ट एक्लैले आइसियू चलाउन सक्दैन । त्यहाँ एक जना बिरामीलाई एक जना नर्सको जरुरत पर्छ । २४ सै घण्टा कन्सल्ट्यान्ट डाक्टर चाहिन्छ । त्यस्तै फिजियोथेरापिष्ट, फर्मासिस्ट, माइक्रोबायोलोजिष्ट र डाइटिसियनको भूमिका उल्लेख्य हुन्छ । यसैगरी पल्पोनरी, कार्डियोलोजी, इन्फेक्सियस डिजिज, रेडियोलोजी, नेफ्रोलोजी, सर्जरी, न्युरोलोजी आदि मल्टिडिसिप्लिनरी सपोर्ट आवश्यक पर्छ । आइसियूमा तालिमप्राप्त नर्सको आवश्यकता पर्छ । टिमको एक सदस्यले भरपर्दो निर्णय लिन नसक्दा बिरामीको आउटकममा फरक पर्छ ।
(डा. कोइराला ह्याम्स अस्पतालको आइसियू इन्चार्ज हुनुहुन्छ ।)
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३



