नेभिगेशन
अन्तर्राष्ट्रिय श्रमिक दिवस: स्वास्थ्यकर्मी कमजोर भए, स्वास्थ्य प्रणाली ढल्छ

सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता

नीति र व्यवहारबीचको गहिरो खाडलः कागजमा अधिकार, व्यवहारमा विभेद

add final

तस्वीरले धेरै कुरा भन्छ । तर कहिलेकाहीँ तस्वीरले नबोलेका पीडाहरू शब्दमार्फत व्यक्त गर्नैपर्छ ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा, देशभरका सम्पूर्ण श्रमिकहरू—विशेषगरी अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीप्रति सम्मान, ऐक्यबद्धता र कृतज्ञता प्रकट गर्नु केवल औपचारिकता होइन, एउटा नैतिक दायित्व हो ।


श्रम केवल जीविकोपार्जनको माध्यम मात्र नभई राष्ट्र निर्माणको आधार पनि हो । हरेक श्रमिकले बिभेदरहित सम्मान, सुरक्षित कार्यपरिस्थिति र मौलिक अधिकारसहित बाँच्न पाउनु संविधानले सुनिश्चित गरेको हक हो ।
मार्टि लुथर किंग जेआरको भनाइ सान्दर्भिक लाग्छ— ‘मानवतालाई उन्नत बनाउने हरेक श्रमको आफ्नै गरिमा र महत्व हुन्छ ।’


स्वास्थ्यकर्मीः सेवा, संघर्ष र सम्मानको खोज


श्रमिकहरूभित्र पनि स्वास्थ्यकर्मीहरू विशेष छन् किनकि उनीहरू जनताको जीवन र स्वास्थ्यको रक्षा गर्ने जिम्मेवारी बोकेका हुन्छन् । तर विडम्बना आज तिनै स्वास्थ्यकर्मीहरू समान व्यवहार, सम्मान र सुरक्षित कार्यपरिस्थितिको माग गर्दै संघर्षरत छन् । यो कुनै विशेष सुविधा होइन—यो त न्यूनतम न्याय हो ।
स्वास्थ्य सेवा कुनै विलासिता नभई आधारभूत अधिकार हो । तर व्यवहारमा अझै पनि “जस्को शक्ति उस्को भक्ति” को प्रवृत्ति हाबी देखिन्छ । यसले स्वास्थ्यकर्मीको मनोबल खस्काउँछ र समग्र स्वास्थ्य प्रणालीलाई कमजोर बनाउँछ ।

नीति र व्यवहारबीचको दूरी

विगतका राजनीतिक संस्कारले सिर्जना गरेका विभेदकारी कानुन, नीति र व्यवहारलाई आजको नागरिक केन्द्रित सरकारले पनि निरन्तरता दिनु दुर्भाग्यपूर्ण मात्र नभई खतरनाक संकेत हो ।
सरकारी अस्पतालहरू कमजोर बनाउँदै निजी अस्पतालहरूलाई प्राथमिकता दिनु, आम नागरिकको सुलभ स्वास्थ्य सेवामाथि प्रहार गर्नु हो ।

प्रश्नहरू स्वाभाविक रूपमा उठ्छन्—

  • सरकार किन अडिग र निर्णायक बन्न सकिरहेको छैन ?
  • स्वास्थ्य सेवामा देखिएको विकृति सुधार गर्न किन ढिलाइ भइरहेको छ ?
  • के प्रभाव र दबाबमा स्वास्थ्य मन्त्रालय सञ्चालन भइरहेको छ ?

मार्टिक लुथर किंग जेआर कै अर्को भनाइले चेतावनी दिन्छ—
“जहाँसुकै हुने अन्याय, सर्वत्र न्यायका लागि खतरा हो ।”


विभाजनको राजनीतिः प्रणालीमाथि प्रहार

स्वास्थ्यकर्मीहरूबीच विभेद सिर्जना गर्ने, कसैलाई प्राथमिकता दिने र कसैलाई उपेक्षा गर्ने निर्णयहरू अब स्वीकार्य हुन सक्दैनन् ।

चिकित्सक मात्र नभई नर्स, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियोलोजी टेक्निसियन, फार्मासिस्ट, फिजियोथेरापिस्ट लगायत सबै स्वास्थ्यकर्मीहरू स्वास्थ्य सेवाको मेरुदण्ड हुन् । यी सबैको मनोबल कमजोर बनाउनु भनेको सम्पूर्ण प्रणालीलाई कमजोर बनाउनु हो ।

अ्रब्राहम लिंकनको भनाइ यहाँ स्मरणीय छ— “आफ्नै भित्र विभाजित भएको घर टिक्न सक्दैन ।”

स्वास्थ्यकर्मीः मेशिन होइन, मानव
स्वास्थ्यकर्मीहरू मेशिन नभई भावना, पीडा र सम्मान चाहने मानव हुन् ।
उनीहरूलाई निरन्तर अन्याय सहन बाध्य पारियो भने यसको असर केवल उनीहरूमा सीमित हुँदैन र सम्पूर्ण समाजले मूल्य चुकाउनुपर्छ ।

मार्टिन लुथर किंग जेआरले भनेझैं—
“सही काम गर्नका लागि समय सधैं उपयुक्त हुन्छ ।” 

नीतिगत अस्थिरता र संकट
एकातिर ट्रेड युनियन खारेजीको प्रस्ताव, अर्कोतिर दबाबमा निर्णय फिर्ता गर्ने प्रवृत्ति नीतिगत अस्थिरता र अपरिपक्वताको संकेत हो ।
अस्पताल सञ्चालनमा राजनीतिक हस्तक्षेप, संवैधानिक निकायहरूमा मनोमानी, र नीतिगत भ्रष्टाचारले प्रणालीलाई कमजोर बनाउँदै लगेका छन् ।

अब प्रश्न स्पष्ट छ—

  • यो अन्त्य कहिले हुन्छ ?
  • सरकार कहिले निर्णायक रूपमा सुधारको मार्गमा अघि बढ्छ ?

संघर्ष र जिम्मेवारीः सँगसँगै
यतिका चुनौतीहरूबीच पनि स्वास्थ्यकर्मीहरू केवल अधिकारका लागि लडिरहेका छैनन्, उनीहरू जिम्मेवारी पनि निर्वाह गरिरहेका छन् ।

भोकै पेट सेवा दिँदै जनताको जीवन बचाउने यो संघर्ष केवल पेशा होइन—यो मानवताको सेवा हो ।

हामी विभाजित भएर होइन, एकजुट भएर अघि बढ्नुपर्छ । साना स्वार्थमा अल्झिएर होइन, दीर्घकालीन न्यायका लागि एक कदम अगाडि बढ्नुपर्छ ।

महात्मा गान्धीको भनाइ प्रेरणादायी छ—
“भविष्य आज तपाईंले गर्ने काममा निर्भर हुन्छ ।”
 

सरकार र नागरिक दुवैको जिम्मेवारी

सरकारप्रति स्पष्ट आग्रह छ—

  • स्वास्थ्यकर्मीहरूमाथि समान व्यवहार सुनिश्चित गरियोस्
  • राजनीतिक हस्तक्षेप र नीतिगत भ्रष्टाचार अन्त्य गरियोस्
  • सरकारी स्वास्थ्य संस्थाहरू सुदृढ बनाइयोस्
  • श्रमिक अधिकार कार्यान्वयनमा कडाइ गरियोस्
  • निर्णयहरू स्थिर, पारदर्शी र जनउत्तरदायी बनाइयोस्

तर जिम्मेवारी केवल सरकारको मात्र नभई नागरिकहरूको पनि हो ।

  • कानूनको सम्मान गर्ने
  • सार्वजनिक सेवाप्रति उत्तरदायी रहने
  • अन्याय, विभेद र भ्रष्टाचारको विरोध गर्ने
  • श्रमको सम्मान गर्ने संस्कार विकास गर्ने

महात्मा गान्धीको सन्देश झनै सान्दर्भिक छ—
“संसारमा देख्न चाहनुभएको परिवर्तन तपाईं  आफैं बन्नुहोस् ।”

श्रमिक दिवसको साँचो सन्देश
यो केवल स्वास्थ्य क्षेत्रको मुद्दा नभई समग्र सामाजिक न्याय, उत्तरदायित्व र नैतिकताको प्रश्न हो । सरकार संवेदनशील बनोस्, श्रमिकहरू सशक्त बनून्, र नागरिकहरू जिम्मेवार बनून् । 
यही हो आजको श्रमिक दिवसको सन्देश ।

सम्मान सुरक्षित भयो भने मात्र राष्ट्र सुदृढ बन्छ—यो सत्य हरेक शासकले बुझ्न जरुरी छ।
हामी आवाज उठाइरहनेछौं, संवादमा रहिरहनेछौं, र न्यायका लागि खबरदारी गरिरहनेछौं। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य लेख