
नेपालमा आईसियू सेवा वितरणमा हाम्रो क्षमता कस्तो छ ? कुन क्षेत्रमा के कस्ता आईसियू छन् ? जनशक्ति वितरण प्रणाली कस्तो छ ? लजिस्टिक सपोर्टका उपकरण कस्ता छन् ? र कुन लेवलको केयर दिन सकिन्छ ? भन्ने कुरा केलाउन जरुरी छ । वेलायतमा पनि हरेक अस्पतालमा हरेक किसिमको सेवा सुविधा उपलबध हुँदैनन् । त्यहाँ अस्पतालमा नभएका सेवा आवश्यक भएका बिरामीहरुलाई रिफर गर्ने प्रचलन छ । हामीले विकास गर्नुपर्ने पनि यस्तै पद्धति हो । त्यसैले सबैभन्दा पहिला नेपालको आईसियूको आवश्यकताका लागि सर्भे गर्नुपर्छ । त्यहाँ के कस्ता सुविधा छन् ? र त्यसलाई अपग्रेड गर्ने वा वर्गिकरण गर्ने ? वा लेवल वन आईसियू मात्र राख्ने कि ? जस्ता कुरा केलाउन जरुरी छ ।
विकसित मुलुकहरुमा जस्तो लेवल वन आईसियूमा निश्चित अवस्थाका बिरामीको उपचार गर्नुपर्छ र त्यो भन्दा बढी नसक्ने अवस्थामा रिफरल नेटवर्क बनाउनुपर्छ । साथै नेपालका आईसियूहरुको सर्वे पश्चात् मुलुकमा लेवल वन, लेवल टु, लेवल थ्री आईसियूको एकिन संख्या र आवश्यकता थाहा हुन्छ । यसबाट कुन आईसियूमा के कस्तो सुविधा छ ? क्षमता कति रहेछ ? त्यसलाई त्यही लेवल छोड्ने वा अपग्रेड गर्ने भन्नेबारे नीतिगत तहमा पुग्न मद्धत गर्छ ।
भ्यालिडेटेड क्वालिटी डाटा खै ?
अहिले केही निजी अस्पतालहरुले आईसियू रिकभरी दर ८०—९० देखाइरहेका छन् । सरकारी अस्पतालको पनि आफ्नै दर छ । मुनाफा कमाउने उद्देश्यले सञ्चालित अस्पतालहरुले रिकभरी दर आफूखुशी भनेर हुँदैन । अहिलेको तथ्यांकको सिस्टमले पनि भन्न सक्ने अवस्था छैन । म त्यसमा खाडल देख्छु । निश्चित इन्डिकेटरहरु क्याप्चर नगरी कुनै पनि अस्पताल आफैंले आफूखुशी रिकभरी दर दावी गर्न पाउँदैनन् । त्यसका लागि भ्यालिडेटेड क्वालिटी डाटा चाहिन्छ । डाटा म्यानुपुलेट भएको हुन हुँदैन ।
आईसियू ‘रजिष्ट्री’ र अकाउन्टेविलिटी
त्यसैले आईसियू ‘रजिष्ट्री’ एकदमै महत्वपूर्ण हुन्छ । रजिष्ट्रीले सर्भाइभर रेट कति छ ? भनेर देखाउन सक्नुपर्छ । कसैले आफूखुशी भनेको भरमा पत्याउनहुँदैन । वर्षभरि भर्ना भएका बिरामीको संख्या, उमेर, रोगी, भेन्टिलेटरमा गएको संख्या, मृत्यु र बाँचेका व्यक्तिको संख्या इन्डिकेटरका आधारमा बताउन सक्नुपर्छ । अस्पतालको आईसियूको सर्भाइभर दर कति छ ? भनेर सोध्दा चार्ट, ग्राफ देखाएर बन्न सक्नुपर्छ । जस्तोः आईसियूमा भेन्टिलेटरमा पुगेका बिरामीमध्ये कतिलाई भ्याप (भेन्टिलेटर एसोसिएट न्युमोनिया) हुने रहेछ ? यो क्वालिटी अफ केयरको एउटा इन्डिकेटर हो । यस्ता विभिन्न इन्डिकेटर क्याप्चर गरेर पब्लिक डोमेन मै पारदर्शी प्रस्तुत गर्नुपर्छ ।
यद्यपी तथ्याङ्क बोल्नुपर्छ । रिपोर्ट साइन्टिफिक जर्नललगायतका पव्लिकेसनहरुमा प्रकाशित भएको हुनुपर्छ । आईसियूका बिरामीको रजिष्ट्री भएपछि क्राइटेरिया मिट भएका बिरामी भर्ना भएका हुन् कि क्राइटेरिया मिट नै नभइकन आईसियूमा राखिएको हो ? भन्ने प्रश्नको जवाफ प्राप्त हुन्छ । आवश्यक नभएका बिरामी पनि आईसियूमा जाने र कहिलेकाँही आवश्यक भएका तर ढिलो भएका बिरामीहरु पनि हुन्छन् । आईसियू आउन किन ढिलो भयो भन्ने कुरा क्याप्चर गरेपछि मात्र अकाउन्टेवल हुन्छ । सर्वे रिसर्चको एउटा पाटो मुलुकमा क्रिटिकल केयरमा तालिम प्राप्त इन्टेसिभिष्ट न्यून छन् । उनीहरुबिना गुणस्तरीय आईसियू सञ्चालन गर्न कठिन पर्छ ।
सरकारले हरेक जिल्लामा आईसियू बनाउने महत्वकांक्षा राखेर मात्र हुँदैन । व्यवहारिक भएनभएको पनि सोच्न जरुरी हुन्छ । संरचना बनाएर मात्र हुँदैन । त्यसैले दक्ष जनशक्ति उत्पादनमा पनि ध्यान दिनुपर्छ । अर्को समस्या भनेको मुलुकमा सञ्चालित आईसियूहरुमा कस्ता बिरामीहरु भर्ना भइरहेका छन् ? कुन उमरेका छन् ? कुन रोग धेरै छ ? मुख्य समस्या के हो ? भन्ने प्रश्नको तथ्यांङ्क छैन । त्यो नभएपछि योजना बनाउन गाह्रो हुन्छ । यसप्रति राज्यले सोच्न जरुरी छ ।
साथै नेपालका आईसियूहरुको अकुपेन्सी रेट कति छ ? भन्ने अध्ययन गर्न पनि जरुरी छ । क्वालिटी अफ केयरको इन्डिकेटर बिरामीहरु सरदर आईसियूमा कति दिन बस्दा रहेछन् ?

आईसियूमा भर्ना भएका बिरामीहरुमध्ये कति जना बाँचेर जान्छन् र कतिको मृत्यू हुन्छ ? कति जना भेन्टिलेटरमा पुग्छन् ? कति जना डायलाईसिसमा पुग्छन् ? कति जना निको भएर पुनः फिर्ता आउँछन् ? जस्ना प्रश्नको तथ्याङ्क संकलन गर्न जरुरी छ । यसले योजना र नीति बनाउन सजिलो हुन्छ । साथै श्रोत साधन कहाँ केन्द्रित गर्ने भन्ने कुराको योजना बनाउन पनि सजिलो हुन्छ । कहिलेकाँही भेन्टिलेटरकै कारण निमोनिया हुने डर हुनसक्छ । यसलाई भेन्टिलेटर एसोसिएट निमोनिया भनिन्छ । यसलाई रोकथाम गर्न जरुरी छ । यो क्वालिटी अफ केयरको इन्डिकेटर हो । भेन्टिलेटर एसोसिएट निमोनियाको दर कम भएको अस्पतालको गुणस्तरीयता राम्रो भएको बुझ्नुपर्छ ।
क्लिनिकल ट्रायल
हरेक रिसर्चको आफ्नै लेवल हुन्छ । हाइजेष्ट लेवल अफ रिसर्चमा क्लिनिकल ट्रायलको जरुरत पर्छ । जस्तोः कोभिडमा भ्याक्सिन इफेक्टिभ भएको कुरा निश्चित जनतासँग प्रयोग गरेर क्लिनिकल ट्रायलपछि प्रयोगमा आएको जस्तै हो । आफ्नै देशका बिरामीबीच अनुसन्धान गर्दा त्यसले सकारात्मक परिणाम देखाएमा त्यसको महत्व धेरै हुन्छ । त्यसैले हामीले नेपाल हेल्थ रिसर्च काउन्सिलसँग समन्वय गरेर देशका ५ वटा अस्पतालका आईसियूमा कोभिड सम्बन्धित क्लिनिकल ट्रायल गरिरहेका छौं ।
कोभिडमा रगत जम्ने समस्यामा रगत पातलो पार्ने हेप्यारिन औषधि प्रयोगसम्बन्धि क्लिनिकल ट्रायल गरिरहेका छौं । भिटामिन सीबारे पनि अनुसन्धान भइरहेको छ । साथै भेन्टिलेटरमा रहेका बिरामीलाई अक्सिजनको मात्रा कति दिँदा ठीक हुन्छ ? जस्ता अनुसन्धानका स्थापित गाइडलाइन प्रयोग गरेर अन्तर्राष्ट्रियस्तरको अनुसन्धान गरिरहेका छौ ।
माइलस्टोनको सम्भावना
म प्रिन्सिपल इन्भेष्टिगेटर भएर रिसर्च टिमको नेतृत्व गरिरहेको छु । हामीले पनि एभिडेन्स जेनेरेट गर्न रिसर्चको आउटकम र फाइन्डिङ्सले हाम्रै जनसंख्याको रिफ्लेक्सन दिन्छ । त्यसबाट काम लाग्ने भएमा क्लिनिकल प्राक्टिसमा लागू हुन्छ । नभएमा त्यो औषधि चलाएर फाइदा नहुने जानकारी दिन्छ । यो शुरु गरेको २ वर्ष भयो । बीचमा २ वटा रिसर्च प्रकाशित भइसकेको छ । हामीले विभिन्न देशहरुसँग समन्वय गरेर अन्तर्राष्ट्रियस्तरमा गर्ने ट्रायल सिस्टम प्रयोग गरेका छौं । यो नेपालका लागि माइलस्टोन बन्नसक्छ ।
(एनेस्थेसियामा एमडी गरेर युनिभर्सिटी अफ टोरोन्टोबाट क्रिटिकल केयरमा फेलोसिप गर्नुभएका डा. दिप्तेस अर्याल विगत १०वर्षदेखि क्रिटिकल केयरमा केन्द्रित भएर काम गरिरहनुभएको छ । डा. अर्यालले विगत २ वर्षदेखि अधिकतम समय क्रिटिकल केयरको रिसर्च फिजिसियन भएर काम गरिरहनुभएको छ ।)
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
