
जनस्वास्थ्य सरोकार, बाँके । समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ। शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गौलाका बिरामी डायलाइसिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन्।
भेरी अस्पताल, नेपालगञ्जमा मिर्गौलाका बिरामीले चार महिनादेखि डायलाइसिसका लागि पालो कुरेर लाइनमा बस्दा पनि उनीहरुको पालो आएको छैन। भेरी अस्पतालमा अहिले ३६ बिरामीले नियमितरुपमा डायलासिस गराइरहेको हेमोडायलासिस युनिटका प्रमुख डा पारस श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भदौदेखि ८५ बिरामीले पालो कुरिरहेका छन्। उनीहरुले पालो पाएका छैनन्।
भेरीमा चार वटा डायलासिस मेसिन छन्। तीमध्ये एउटा आपत्कालीन अवस्थामा र अरु तीन वटा नियमितरुपमा बिरामीका लागि प्रयोग गरिँदै आएको छ। गत भदौदेखि शिक्षण अस्पताल कोहलपुरभित्र ठेकेदार कम्पनीले चलाएको डायलाइसिस मेसिन बिग्रिएपछि भेरी अस्पतालमा बिरामीको चाप बढेको श्रेष्ठले बताउनुभयो ।
अहिले शिक्षण अस्पताल कोहलपुरमा डायलासिस सेवा ठप्प छ। कोहलपुरमा मेसिन बिग्रिएपछि धेरै बिरामी भेरीमा आउँदा चाप बढेको डा श्रेष्ठको भनाइ छ। कोहलपुरमा डायलासिस सेवा नभएपछि अप्ठेरो अवस्थामा पुगेकाहरु निजी तथा भेरीको आपत्कालीन कक्षमा आएर सेवा लिन थालेका छन्। नियमित डायलासिस सेवा लिनेहरु भेरीमा लाइनमा बस्ने गरेका छन् । भेरीको तीनवटा मेसिनले पहिलेदेखि नै पालोअनुसार सेवा दिइरहेको छ। भदौदेखि यता नयाँ बिरामीको पालो आएको छैन।
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले मिर्गौलाका बिरामीको अवस्थालाई मध्यनजर गरेर पाँचवटा डायलाइसिस मेसिन थप गर्ने तयारी भएको बताउनुभयो। आठवटा मेसिन सञ्चालन भएपछि पाँचवटा मेसिनबाट सामान्य, दुईवटाबाट सङ्क्रमित र एउटा मेसिनबाट आपत्कालीन बिरामीलाई सेवा दिने योजना रहेको उहाँको भनाइ छ। रासस
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
