नेभिगेशन

चार महिना कुर्दा पनि डायलाइसिसको पालो आएन

जनस्वास्थ्य सरोकार, बाँके । समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ। शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गौलाका बिरामी डायलाइसिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन्।

भेरी अस्पताल, नेपालगञ्जमा मिर्गौलाका बिरामीले चार महिनादेखि डायलाइसिसका लागि पालो कुरेर लाइनमा बस्दा पनि उनीहरुको पालो आएको छैन। भेरी अस्पतालमा अहिले ३६ बिरामीले नियमितरुपमा डायलासिस गराइरहेको हेमोडायलासिस युनिटका प्रमुख डा पारस श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भदौदेखि ८५ बिरामीले पालो कुरिरहेका छन्। उनीहरुले पालो पाएका छैनन्।

भेरीमा चार वटा डायलासिस मेसिन छन्। तीमध्ये एउटा आपत्कालीन अवस्थामा र अरु तीन वटा नियमितरुपमा बिरामीका लागि प्रयोग गरिँदै आएको छ। गत भदौदेखि शिक्षण अस्पताल कोहलपुरभित्र ठेकेदार कम्पनीले चलाएको डायलाइसिस मेसिन बिग्रिएपछि भेरी अस्पतालमा बिरामीको चाप बढेको श्रेष्ठले बताउनुभयो ।

अहिले शिक्षण अस्पताल कोहलपुरमा डायलासिस सेवा ठप्प छ। कोहलपुरमा मेसिन बिग्रिएपछि धेरै बिरामी भेरीमा आउँदा चाप बढेको डा श्रेष्ठको भनाइ छ। कोहलपुरमा डायलासिस सेवा नभएपछि अप्ठेरो अवस्थामा पुगेकाहरु निजी तथा भेरीको आपत्कालीन कक्षमा आएर सेवा लिन थालेका छन्। नियमित डायलासिस सेवा लिनेहरु भेरीमा लाइनमा बस्ने गरेका छन् । भेरीको तीनवटा मेसिनले पहिलेदेखि नै पालोअनुसार सेवा दिइरहेको छ। भदौदेखि यता नयाँ बिरामीको पालो आएको छैन।

भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले मिर्गौलाका बिरामीको अवस्थालाई मध्यनजर गरेर पाँचवटा डायलाइसिस मेसिन थप गर्ने तयारी भएको बताउनुभयो। आठवटा मेसिन सञ्चालन भएपछि पाँचवटा मेसिनबाट सामान्य, दुईवटाबाट सङ्क्रमित र एउटा मेसिनबाट आपत्कालीन बिरामीलाई सेवा दिने योजना रहेको उहाँको भनाइ छ। रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट