नेभिगेशन
पशु स्वास्थ्य क्षेत्रका व्यावसायिक तथा नीतिगत सवाललाई महासंघको तहबाट उठाउन थप सहज हुने अपेक्षा

स्वास्थ्य विज्ञान समितिको नेतृत्वमा रितेश रिमालः पशु स्वास्थ्यका मुद्दा अब निजी क्षेत्रको नीतिगत बहसमा

पशुपन्छीमा प्रयोग हुने औषधिको गुणस्तर, प्रभावकारी नियमन, व्यवसायिक पारदर्शिता तथा जिम्मेवार प्रयोगजस्ता विषयले मानव स्वास्थ्य र खाद्य सुरक्षासँग समेत प्रत्यक्ष सम्बन्ध

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य विज्ञान क्षेत्रसँग सम्बन्धित नीति, व्यवसायिक वातावरण र निजी क्षेत्रको भूमिकाबारे हुने बहसमा अब पशु स्वास्थ्य औषधि व्यवसायको विषयले पनि थप स्थान पाउने भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को स्वास्थ्य विज्ञान समितिको उपसभापतिमा नेपाल पशु पन्छी औषधि व्यवसायी संघका अध्यक्ष रितेश रिमाल मनोनीत भएसँगै यस्तो अपेक्षा गरिएको हो।

एफएनसीसीआई अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा हस्ताक्षरित मनोनयन पत्रअनुसार कार्यकारिणी समिति सदस्य विप्लव अधिकारीको सभापतित्वमा गठित स्वास्थ्य विज्ञान समितिको उपसभापतिको जिम्मेवारी रिमाललाई दिइएको हो।

स्वास्थ्य विज्ञान क्षेत्र बहुआयामिक बन्दै गएको पछिल्लो सन्दर्भमा औषधि, स्वास्थ्य सेवा, व्यवसाय, नियमन र नीतिगत सुधारका विषय एकअर्कासँग जोडिँदै गएका छन्। यही परिवेशमा गठित समितिले स्वास्थ्य विज्ञानसँग सम्बन्धित विषयमा निजी क्षेत्रको भूमिका थप प्रभावकारी बनाउने, नीतिगत सुधारका लागि पहल गर्ने तथा व्यवसायिक वातावरण सहज बनाउने विषयमा छलफल र आवश्यक पहल गर्नेछ।

रिमालको नियुक्तिलाई भने मानव स्वास्थ्यसँगै पशु स्वास्थ्य र पशुपन्छी औषधि व्यवसायका मुद्दालाई समेत निजी क्षेत्रको मूलधारको नीतिगत बहसमा जोड्ने अवसरका रूपमा हेरिएको छ।

पशु पन्छी औषधि व्यवसायको क्षेत्रमा लामो समयदेखि सक्रिय रिमालले यस क्षेत्रका व्यवसायीका समस्या, औषधि आयात तथा वितरण प्रणाली, नियमन, गुणस्तर, बजार व्यवस्थापनलगायतका विषयमा नजिकबाट काम गर्दै आउनुभएको छ। स्वास्थ्य विज्ञान समितिमा उहाँको उपस्थितिले पशु स्वास्थ्य क्षेत्रका व्यावसायिक तथा नीतिगत सवाललाई महासंघको तहबाट उठाउन थप सहज हुने अपेक्षा गरिएको छ।

पशु स्वास्थ्यलाई कृषिसँग जोडिएको विषयका रूपमा मात्र नभई समग्र स्वास्थ्य प्रणाली, खाद्य सुरक्षा र अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बहस पछिल्ला वर्षमा बढ्दै गएको छ। पशुपन्छीमा प्रयोग हुने औषधिको गुणस्तर, प्रभावकारी नियमन, व्यवसायिक पारदर्शिता तथा जिम्मेवार प्रयोगजस्ता विषयले मानव स्वास्थ्य र खाद्य सुरक्षासँग समेत प्रत्यक्ष सम्बन्ध राख्छन्। त्यसैले स्वास्थ्य विज्ञान समितिमा पशु स्वास्थ्य क्षेत्रको प्रतिनिधित्वले बहसलाई अझ फराकिलो बनाउन सक्ने देखिन्छ।

रिमालले नयाँ जिम्मेवारीमार्फत आफ्नो व्यवसायिक अनुभव र विज्ञतालाई महासंघको नीति, उद्देश्य तथा कार्यक्रमसँग जोड्दै स्वास्थ्य विज्ञान क्षेत्रका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। विशेषगरी निजी क्षेत्रले स्वास्थ्य विज्ञानको विकासमा खेल्न सक्ने भूमिकाका साथै व्यवसायीले भोग्दै आएका नीतिगत र व्यवहारिक समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउन उहाँको भूमिका महत्वपूर्ण हुने विश्वास गरिएको छ।

एफएनसीसीआई निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनका रूपमा रहेकाले त्यसअन्तर्गतका विषयगत समितिलाई सम्बन्धित क्षेत्रका समस्या पहिचान, नीति निर्माणमा सुझाव र सरोकारवाला निकायबीच समन्वयका लागि महत्वपूर्ण मञ्चका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञान समितिले पनि स्वास्थ्यसँग सम्बन्धित निजी क्षेत्रका सरोकारलाई संस्थागत रूपमा उठाउने अपेक्षा गरिएको छ।

समितिको सभापतिमा एफएनसीसीआईका कार्यकारिणी समिति सदस्य विप्लव अधिकारी रहनुभएको छ। अधिकारीको नेतृत्वमा रिमालसहित समितिले स्वास्थ्य विज्ञान क्षेत्रका समसामयिक विषयमा छलफल तथा नीतिगत पहल अघि बढाउनेछ।

रिमालको उपसभापतिमा मनोनयनसँगै पशु पन्छी औषधि व्यवसायको अनुभव र स्वास्थ्य विज्ञान क्षेत्रबीचको सम्बन्धलाई संस्थागत रूपमा जोड्ने बाटो खुलेको छ। अब उनको चुनौती भनेको प्राप्त जिम्मेवारीलाई केवल औपचारिक पदमा सीमित नराखी पशु स्वास्थ्य, औषधि व्यवसाय र समग्र स्वास्थ्य विज्ञान क्षेत्रका आवाजलाई नीतिगत तहसम्म प्रभावकारी रूपमा पुर्‍याउनु हुनेछ।ritesh-rimal-patra-1788096401.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष