
महिला र पुरुषबीच परिवार नियोजनको कुनै पनि अस्थायी साधन प्रयोग नगरी एक वर्षसम्म शारीरिक सम्पर्कमा रहँदा बच्चा नभएको अवस्थालाई निःसन्तान भनिन्छ । अमेरिकन सोसाइटी अफ रिप्रोडक्टिभ मेडिसिनको गाइडलाइनअनुसार विवाहित महिला ३५ वर्ष वा सोभन्दा बढी भए यो समयलाई एक वर्ष नभई ६ महिना भनिएको छ ।
६ महिनासम्म परिवार नियोजनको कुनै पनि अस्थायी साधन प्रयोग नगरी शारीरिक सम्बन्ध राख्दा गर्भधारण नभए विशेषज्ञको परामर्श लिनुपर्छ । यसैगरी, ४० वर्ष वा सोभन्दा बढी उमेर भएमा विवाहलगत्तै चिकित्सकसँग परामर्श लिनु बुद्धिमानी हुन्छ ।
विभिन्न कारणवश सामान्य तरिकाबाट सन्तान सुख प्राप्त नभएका दम्पत्तिहरूका लागि आईभिएफ सबैभन्दा वैज्ञानिक र सुरक्षित प्रविधि मानिन्छ । तर, नेपालमा यसबारे अझै धेरै भ्रम प्रचलित छ । यसै सन्दर्भमा पटक पटक सोधिने केही सवालको यहाँ चर्चा गरिन्छ ।
भ्रम नं. १. आईभिएफमार्फत जन्मने बच्चा अन्य सामान्य बच्चा जस्तै हुन्छन् ?
तथ्य : प्राकृतिक रुपमा गर्भवती हुँदा अण्डाको विकासदेखि भ्रूण बन्ने प्रक्रिया सबै आमाकै शरीरमा हुन्छ । तर, आईभिएफको हकमा अण्डा र शुक्राणुको मेल अथवा भ्रूण बन्ने प्रक्रिया सबै आईभिएफ ल्याबमा हुने र त्यसपछि बनेको भ्रूण आमाको पाठेघरभित्र राखिन्छ । ल्याबमा भ्रूण बन्ने भएकाले धेरैलाई आईभिएफमार्फत जन्मेको बच्चा सामान्य हुँदैन की भन्ने लागेको हुनसक्छ ।
तथ्य
भ्रूण प्रयोगशालामा बनाए पनि पूर्ण विकास आमाको गर्भमा नै हुन्छ । भ्रूणको विकास सामान्य गर्भावस्थामा जस्तै हुन्छ । त्यसैले आईभिएफमार्फत गर्भवती हुने महिलालाई सामान्य गर्भावस्थामा जस्तै अनुभव हुन्छ ।
यसबाहेक यदि परिवारमा कुनै वंशाणुगत रोग भएमा जेनेटिक टेष्टिङ (भ्रूणको जाँच) पनि गर्न मिल्छ । जसमार्फत यो रोगको जिन भए नभएको पत्ता लगाउन सकिन्छ । यसो गर्दा जन्मेको बच्चा अझ स्वस्थ्य हुन्छ ।
भ्रम नं. २ : आईभिएफ गरेपछि गर्भवतीले नौ महिनासम्म ओछ्यानमा आराम गर्नुपर्छ ।
तथ्य : आईभिएफ गर्भवती हुने एउटा प्रक्रिया मात्र हो । एकपटक भ्रूण पाठेघरमा राखेपछि बच्चाको विकास सामान्य गर्भावस्थामा जस्तै हुन्छ । अर्थात् सामान्य गर्भावस्थामा डाक्टरले जुन काम गर्न अनुमति दिएको हुन्छ यसमा पनि चिकित्सकको सल्लाहमा त्यही काम गर्न सकिन्छ । तर, सामान्य गर्भावस्थामा पनि कारणवश केही कम्प्लिकेशन भए आराम लिनुपर्छ । त्यस्तै, आईभिएफको दौरान यस्तो समस्या आए आराम लिनुपर्छ ।
भ्रम नं. ३ : आईभिएफ प्रक्रियाले सबै अण्डा नष्ट गर्छ र महिलामा रजोनिवृत्ति निम्त्याउँछ ।
तथ्य: आईभिएफ प्रक्रियाले तपाईंको अण्डा सकाउने भन्ने हुँदैन । प्राकृतिक चक्रमा महिलाको अण्डाशयबाट हरेक महिना कहिले दायाँ त कहिले बायाँबाट परिपक्व अण्डा बाहिर निस्कन्छ । त्यो अण्डा फर्टिलाइज भएपछि मात्र भ्रूण बन्छ । अन्यथा गर्भ रहँदैन । एउटा अण्डाको जीवित रहने समय २४ घण्टासम्म हुन्छ । यो परिपक्कबाहेक अरू अण्डा पनि हुन्छन् जो परिपक्क नभई आफैं खेर जान्छन् ।
आईभिएफमा ती खेर जाने समेत गरी १० देखि १५ वटा अण्डा निकाल्ने प्रयास गरिन्छ । आईभिएफको लागि अण्डा निकालेपछि अर्को महिना अण्डा बन्दैन भन्ने धारणा गलत हो । यी अण्डाहरू अर्को महिना फेरि निस्कन्छन् ।
भ्रम नं. ४ः आईभिएफ प्रक्रियामा जुम्ल्याहा बच्चा हुन्छन् ।
तथ्य : आईभिएफमा महिलाको उमेर र निःसन्तानपनको कारण बुझेर एक वा सोभन्दा बढी भ्रूण ट्रान्सफर गरिन्छ । दुई वा सोभन्दा बढी भ्रूण ट्रान्सफर गरे मात्रै जुम्ल्याहा हुने सम्भावना बढ्छ । तर, जुम्ल्याहा हुन पनि आफ्नै कम्प्लिकेशन हुन्छन् । यद्यपि, सिंगल इम्ब्रियो ट्रान्सफर प्रक्रिया धेरैले अपनाउँदै आएका छन् ।

भ्रम नं. ५ : यो युवा जोडीहरूका लागि मात्र उपयोगी हुन्छ ।
तथ्य : आईभिएफ प्रक्रियामा युवा जोडी अथवा २५ देखि ४५ वर्षसम्मका लाग मात्र नभई महिनावारी सुकिसके (रजोनिवृत्ति) को महिलालाई गर्भधारण गराउन पनि सकिन्छ ।
अहिले प्रायः महिलामा कामको व्यवस्तता वा कुनै कारण ढिलो विवाह गर्ने सोच वा ढिलो बच्चा जन्माउने सोच देखिन्छ । यस्तोमा समयमै आफ्नो अण्डा निकालेर ल्याबमा फ्रिज गरेर राखेरपछि आईभिएफमार्फत बच्चा जन्माउन सकिन्छ ।
भ्रम नं. ६ : एकपटक आईभिएफ गरेर बच्चा जन्मिएपछि दोस्रोमा पनि आइभिएफ नै गर्नुपर्छ ।
तथ्य : एकचोटी आईभिएफ गरेर बच्चा जन्माएपछि फेरि गर्भधारण प्राकृतिक रुपमा हुँदैन भन्ने होइन । आईभिएफ गरेर बच्चा भएमा डेलिभरीपछि दोस्रो बच्चाको योजना गर्दा महिलामा ओभुलेसन आफैं भएको र प्राकृतिक रुपमा गर्भवती भएका प्रशस्त छन् ।
भ्रम नं.७ : प्राकृतिक रुपमा बच्चा पाएकाहरूले आईभिएफ गर्नुपर्दैन ।
तथ्य : पहिलोपटक आफैं बच्चा बस्यो भन्दैमा दोस्रोपटक पनि आफैं बस्छ भन्ने धारणा गलत हो । महिलाको उमेर बढ्दै जाँदा अण्डाको गुणस्तर र संख्यामा ह्रास आउँछ । जसका कारणले पहिले आफैं बच्चा भए पनि दोस्रोपटक आफैं नहुन सक्छ । यसबाहेक पाठेघरको नली बन्द हुनु, पतिको वीर्यमा समस्या हुनु जस्ता कारणले पनि दोस्रोपटक आफैं बच्चा नबसेर आईभिएफ प्रक्रियाको सहायता लिनुपर्ने हुनसक्छ ।
(डा. शाक्य नेपाल इन्टरनेशनल फर्टिलिटी एण्ड ल्याप्रोस्कोपिक सेन्टरमा कार्यरत हुनुहुन्छ ।)
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
