
सुन्दर संसार हेर्ने हाम्रो आँखाको बनोट क्यामरा जस्तै हुन्छ जसरी फोटो खिच्ने क्यामरामा अगाडिपट्टि लेन्स र पछाडि आकृति बन्ने ठाउँ फिल्म हुन्छ ठीक त्यसैगरी आँखाको नानी (कोर्निया ) पछाडी सफा र पारदर्शी लेन्स हुन्छ । उक्त लेन्सले फोकस गरेर रेटिनामा आकृति बनाएपछि हामीले देख्ने गर्दछौ ।
आँखामा भएको लेन्समा धमिलोपन र सेतोपन बढ्दै जानुलाई मोतिबिन्दु भनिन्छ । मोतिबिन्दुका कारण प्रकाशका किरणहरू रेटिना सम्म पुग्न सक्दैन । फलस्वरूप आँखाले राम्रोसँग देख्न सक्दैन ।
मोतिविन्दुको कारण
मोतिविन्दु ६० वर्ष नाघिसकेका जो कोहीलाई हुनसक्छ । घामको प्रकाशमा लामो समय काम गर्नेहरूमा अलि चाँडै हुनसक्छ भने कतिपयमा जन्मजात पनि हुनसक्छ । टक्सोप्लाज्माइन्फेक्सन, रूवेला, साइटोमेगालो भाइरस संक्रमण जस्ता आमाको गर्भमा देखिने इन्फेक्सन (इन्ट्रा युटोराइनइन्फेक्सन) ले जन्मजात मोतिबिन्दु निम्त्याउनसक्छ । यसका अलावा आँखामा लाग्ने चोटपटक, मधुमेह, आँखामा लगाउने र खाने स्टेरोइड ग्रुपका औषधि आदि कारणले पनि मोतिविन्दु हुनसक्छ ।

जोखिम
मोतिविन्दु मोति जस्तै सेतो हुन्छ र बढ्दै जान्छ समयमा उपचार नभएर बिग्रिएमा जलविन्दुमा परिणत हुन्छ । अतः पूर्ण रुपमा आँखाको ज्योति गुम्न सक्छ । नेपाल, भुटान, बंगलादेश, पाकिस्तान लगायतका विकासोन्मुख देशहरूमा समयमा मोतिविन्दुको शल्यक्रिया नगरेर धेरैले दुःख पाएको पाइन्छ । यहाँका धेरै व्यक्ति अन्धोपन भएर बाँचिरहेका छन् । जसका कारण उनीहरू समाजबाट तिरस्कृत सम्म हुन परेको अवस्था छ ।
सन् १९८१ मा गरिएको राष्ट्रिय अन्धोपन सर्वेक्षणले नेपालमा मोतिविन्दुले ८०% अन्धोपन गराएको देखाएको थियो । अहिले ६०—७० % मा झरेको देखाएका छन् । नेपालमा अन्धो गराउने पहिलो कारण मोतिविन्दु, त्यसपछि जलबिन्दु र मधुमेहले हुने डायवेटिक रेटिनोप्याथी रहेका छन् ।
उपचार
शल्यक्रिया नै मोतिविन्दुको लागि भरपर्दो उपचार हो । शल्यक्रिया गर्नुभन्दा पहिले बिरामीको विभिन्न रोगबारे सम्पूर्ण स्वास्थ्य परीक्षण गर्न जरूरी हुन्छ । साथै शल्यक्रिया गर्ने चिकित्सकमा कन्फिडेन्स र शल्यक्रिया गर्ने क्रममा आउनसक्ने विपद् व्यवस्थापन गर्न सक्ने खुवी हुनुपर्छ । आजकल बिना इन्जेक्सन टपिकल (थोपा औषधि) एनेस्थेसिया दिएर पनि इन्ट्रा अकुलर लेन्स राख्न थालिएको छ । यो नयाँ टेक्नोलोजी हो । राम्रो र भरपर्दो भिजन दिनु यो उपचारको मुख्य उद्धेश्य हो ।

शल्यक्रियाको समय
मोति जस्तै पाकेपछि मात्र मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने हो कि भन्ने आम जनधारणा पाइन्छ । तर यो गलत हो । मोतिबिन्दु पाकेपछि शल्यक्रिया गर्दा झन् बढी समस्या आउने सम्भावना हुन्छ । मोतीबिन्दुको वर्गिकरण अनुसार स्टेज टु र स्टेज थ्रीमा मोतिबिन्दुको शल्यक्रिया गर्न सकिन्छ । तर स्टेज वनमा भने गरिदैन । मान्छे चिन्न गारो भएमा, चश्माको पावरबाट पनि सुधार नभएमा मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्छ ।
के लेन्स दीर्घकालीन समाधान हो ?
कम्प्युटराइज सिस्टमबाट लेन्स लगाउने भएकाले प्रायः समस्या आउँदैन । मोतिविन्दुको एकपटक शल्यक्रिया गरेपछि दोस्रोपटक गर्न मिल्दैन ।
मोतिविन्दुको १५ मिनेटको शल्यक्रिया भएपनि मेजर शल्यक्रियाको रूपमा लिइन्छ । तर प्रतिहजार एक दुइ जनामा कम्प्लिकेसन भएर घाउ पाक्न पनि सक्छ । त्यसैले शल्यक्रिया पश्चात् सरसफाई र हाइजिन मेन्टेन गर्न निकै जरूरी पर्छ ।

शल्यक्रिया गर्न अघि र पछिको सावधानी
डायविटिज भएका व्यक्तिहरूमा आँखाको संक्रमण हुनसक्ने धेरै सम्भावना भएकाले शल्यक्रिया गर्न अघि शरीरको सुगर लेवल नियन्त्रणमा राख्नुपर्छ । शल्यक्रिया पश्चात् इन्फेक्सन भएमा आँखामा एन्टिबायोटिक इन्जेक्सन लगाउनुपर्ने हुनसक्छ । यसका लागि ब्याक्टेरिया वा फंगल मध्ये के ले संक्रमण गराएको हो भन्ने पहिचान गर्नुपर्छ । इन्ट्राअकुलर लेन्स हालेपछि आँखाभित्र रक्तचाप बढ्नसक्छ । अतःशल्यक्रियापश्चात् चिकित्सकको परामर्श र निगरानी जरूरी हुन्छ । साथै ६० बर्ष नाघेपछि वर्षमा एकपटक जो कसैले आँखाको जाँच गराउनन भूल्नुहोला ।
(डा. बजिमय नेत्रधाम आई केयर सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक, नेत्रधाम फाउन्डेसनका अध्यक्ष र नेपाल भिट्रो रेटिना सोसाइटीका अध्यक्ष समेत हुनुहुन्छ ।)
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३



