नेपाल हेल्थ न्युज, काठमाडौं । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ वरिष्ठ चिकित्सक डा गौरीशंकर लाल दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरेको छ।
त्यसैगरी, डा डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०२६ संस्थागततर्फ कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी (कोइका) लाई प्रदान गरिएको छ।
सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो। राष्ट्रिय शान्ति पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ भने अन्तर्राष्ट्रिय पुरस्कारअन्तर्गत प्रशंसापत्रसहित नेपालको संस्कृति झल्कने आकर्षक उपहार प्रदान गरिएको समितिले जनाएको छ।
पुरस्कार प्राप्त डा गौरीशंकर लाल दास चिकित्सा विज्ञान, सार्वजनिक स्वास्थ्य, स्वास्थ्य नीति तथा मानवीय सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ। त्यस्तै, डा रामप्रसाद पोखरेलले नेपालको नेत्रचिकित्सा क्षेत्रको विकास, आधुनिक आँखा उपचार सेवाको विस्तार तथा नेपाल नेत्रज्योति संघ को स्थापना र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित कोइकाले नेपालमा शिक्षा, स्वास्थ्य, सुशासन, सूचना प्रविधि, प्राविधिक तथा व्यावसायिक शिक्षा, विपद् व्यवस्थापन तथा संस्थागत क्षमता विकासलगायतका क्षेत्रमा दीर्घकालीन सहयोग गर्दै आएको छ।
कार्यक्रममा पुरस्कार छनोट तथा शिक्षा र समाजसेवाको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप प्रा डा मोहन लोहनी, प्रा डा जयराज आचार्य र प्रा डा प्रेमकुमार खत्रीलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो।
पुस्तकालय विकास समितिकी अध्यक्ष प्रा डा बिणा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य चन्द्रकिरण श्रेष्ठले संस्थाका गतिविधिबारे जानकारी गराउनुभएको थियो।
समितिले हालसम्म १२ पटक उक्त पुरस्कार प्रदान गरिसकेको जनाएको छ। नेपालको बौद्धिक, ऐतिहासिक तथा शान्ति चिन्तनको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका इतिहासकार, चिन्तक तथा राजनीतिज्ञ डा डिल्लीरमण रेग्मी को नाममा स्थापित यो पुरस्कारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्ति, मानवता र विकासका क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ।
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३
निजी मेडिकल शिक्षण संस्थामा नयाँ सिट थप नगरिनेः प्रा.डा. गोविन्द केसीले तोडे अनशन
सोमबार, साउन ११, २०८३

