नेपाल हेल्थ न्युज, काठमाडौैं । जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा मनार्ईँदै आएको छ । मेरुदण्ड बाङ्गो हुने समस्यालाई स्कोलियोसिस भनिन्छ । सामान्यता मेरुदण्ड पछाडिबाट हेर्दा सिधा देखिन्छ । साइडबाट हेरियो भने एस आकारको हुन्छ ।
मेरुदण्डको माथिको घाँटीको भागमा सातवटा हड्डी हुन्छ, छातीको भागमा १२ वटा हड्डी हुन्छ, कम्मरको भागमा पाँचवटा हड्डी हुन्छ भने तल्लो बस्ने भागमा पाँचवटा हड्डी जोडिएर एउटै ढिक्काका रुपमा रहेको हुन्छ ।
यो समस्या धेरैजसो साना बालबालिकामा देखिन्छ । यो जन्मजात पनि हुनसक्छ । जन्मजात बाहेक नसासम्बन्धी समस्याको कारण पनि देखिन्छ । यो समस्या हामीले बढी मात्रामा १० देखि २० वर्षसम्मका बालबालिकामा देखिने गरेको पाइन्छ । जसलाई ‘इडियोप्याथिक एडोलेसेन्ट’ स्कोलियोसिस भनिन्छ ।
‘इडियोप्याथिक’ भन्नाले अहिलेसम्म ठेट कारण पत्ता लागि नसकेको भन्ने बुझिन्छ भने ‘एडोलोसेन्ट’ भनेको १० वर्ष पूरा भएका बालबालिकालाई भनिन्छ ।
पोलियो भएको, दिमागमा अक्सिजनको मात्रा कम भएर एकातिरको भाग कमजोर हुने र अर्कोतिरको भाग कडा हुने अवस्थालाई ‘प्यारालाइटिक स्कोलियोसिस’ भनिन्छ ।
साथै कतिपय बाङ्गोपन विभिन्न सिन्ड्रोमसँग जोडिएर पनि आएको हुन्छ । यसको अनुपात छोराको तुलनामा छोरीहरूमा बढी मात्रामा देखिन्छ । एक जना छोरा बराबर सात जना छोरीमा यस्तो समस्या देखिन्छ ।
मेरुदण्ड बाङ्गो भएको कसरी थाहा पाउने ?
यस्तो समस्या बुबाआमा, आफन्तजन अथवा स्कूलमा शिक्षक तथा साथीहरूले पत्ता लगाउन सक्छन् । लुगा लगाउँदा लुगा नमिलेको जस्तो देखिने, एउटा कुममाथि अर्को तल देखिने, एकातिरको ढाडको भाग माथि उठेको देखिने, छाती तथा पेटको भागमा एकातिर खाल्डो परेको जस्तो देखिनेलगायत यसका लक्षणहरू पर्छन् । स्कोलियोसिस सजिलै पत्ता लगाउने उपाय भनेको बच्चालाई अगाडि निहुरिन लगाउने र पछाडिबाट हेर्दा एकातिरको ढाडमाथि अर्कोतिर तल गएको देखिन्छ ।
यसरी स्कोलियोसिसको समस्या देखिएको छ भने अस्पतालमा गएर चिकित्सकको सल्लाह लिन जरुरी छ । यदि मेरुदण्डको भाग बाङ्गो हुँदै गएको अवस्थामा यसले बच्चाहरुको फोक्सोको विकासलाई असर पु¥याउँछ । एउटा चरणमा पुगेपछि फोक्सो र मुटुको कामलाई असर पु¥याउने भएकाले यसलाई समयमै पत्ता लगाएर उपचार गर्नुपर्छ ।
समयमा पत्ता लाग्यो भने यसको उपचार गर्न पनि सहज हुन्छ । एक्स–रे गरेपछि ढाड कसरी बाङ्गिएको छ भन्ने कुरा पत्ता लाग्छ । त्यसपछि उपचार कति डिग्री बाङ्गो भएको छ त्यसमा भर पर्छ । ढाड कति डिग्री बाङ्गो छ भनेर एक्स–रे गरेर हेरिन्छ । ढाड बाङ्गो हुने सबै समस्याको शल्यक्रिया मात्र गर्नुपर्छ भन्ने हुँदैन ।
ढाडको बङ्ग्याई २५ डिग्रीभन्दा कम छ भने त्यस्तो केसलाई निगरानीमा राखिन्छ । यस्तो केसलाई ६–६ महिनाको फलोअपमा राखिन्छ । जबसम्म बच्चाको बढ्ने क्रम रोकिंदैन, त्यतिबेलासम्म फलोअपमा राख्नुपर्छ । छोरीहरूमा १३–१४ वर्ष र छोराहरूमा १६–१७ वर्षसम्म फलोअप गर्नुपर्छ ।
यदि ढाड बाङ्गो हुने समस्या बढ्दै गएको अवस्था छ र २५ देखि ४० डिग्रीसम्म भएमा हामीले पेटी लगाउन सुझाव दिन्छौं । जसलाई स्पाइनल ब्रेस भनिन्छ । स्पाइनल ब्रेसले थप बाङ्गोपन हुनबाट रोक्छ । यदि बाङ्गोपन ५० डिग्रीभन्दा बढ्न गयो भने कुनै पनि उमेरमा शल्यक्रिया (अप्रेसन) गर्नु जरुरी हुन्छ ।
समयमै शल्यक्रिया गरिएन भने प्रत्येक वर्ष एक–एक डिग्रीको हिसाबले बढ्दै जान्छ । उदाहरणका लागि यदि बच्चाको उमेर १५ वर्षको छ । उसको ढाड ५० डिग्रीले बाङ्गिएको छ भने ३० वर्षको पुग्दा १५ डिग्री बढेर ६५ डिग्री पुग्छ ।
बाङ्गोपनलाई अझै बढ्नबाट रोक्न जरुरी छ । यदि रोकिएन भने पछि गएर यसले फोक्सोको विकास र मुटुको काम गर्ने क्षमतालाई असर गर्ने गर्छ । यो समस्याले बच्चाको मानसिक स्वास्थ्यमा पनि असर पर्छ । स्कुल जाँदा अन्य साथीको ढाड सिधा छ, लुगा लगाएको पनि चट्ट मिलेको छ । तर उसको ढाड बाङ्गो छ, लुगा लगाएको पनि नमिलेको हुँदा उनीहरू निराश हुन सक्छन् ।
हिजोआज स्कुल ब्याग एकदमै धेरै भारी हुने र त्यही कारणले पो बच्चामा मेरुदण्ड बाङ्गो हुने समस्या निम्तियो कि भन्ने प्रश्न पनि धेरै अभिभावकको हुन्छ । तर स्कोलियोसिसको कारण के हो भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै क्रममा छ । नेपाल सहित धेरै देशमा यो समस्या देखिएको छ ।
(डा विनोद बिजुक्छे अर्थोपेडिक तथा स्पाइन सर्जनको रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत हुनुहुन्छ )
निजी मेडिकल शिक्षण संस्थामा नयाँ सिट थप नगरिनेः प्रा.डा. गोविन्द केसीले तोडे अनशन
सोमबार, साउन ११, २०८३
महिला लागूऔषध प्रयोगकर्ताको अदृश्य पीडाः समाजले बुझेन, प्रणालीले समेटेन
शुक्रबार, साउन ८, २०८३
युवाको आवाज समेटेर जनसांख्यिकीय नीति बनाउन सरकार–युएनएफपिएको जोड
शुक्रबार, साउन १, २०८३

